Follow @khasokhasmag

प्रतिबच्चा ३ हजारदेखि ३६ सय अग्रिम किस्तामा नलिई एकमुष्ठ लिन चाहनेहरुका लागि टुल उपलब्ध


प्रकाशित मिति : असार १४, २०७८ सोमबार

अमेरिकामा आईआरएसले जुलाई १५ देखि चाइल्ड ट्याक्स क्रेडिटको रकम वितरण गर्ने भएको छ । जस अनुशार हरेक ६ देखि १७ बर्षसम्मको हरेक बच्चाका लागि बुबाआमाहरुले मासिक २५० डलरसम्म र हरेक ६ बर्षमुनीको हरेक बच्चाका लागि मासिक ३ सय डलरसम्म पाउन सक्नेछन् ।

तर जुलाई १५ देखि हरेक महिना किस्तामा रकम लिन नचाहने र आगामी बर्ष सन् २०२१ को ट्याक्स फाइल गर्दा उक्त रकम लिन चाहनेहरुका लागि आईआरएसले टुलको व्यवस्था गरेको छ । एकमुष्ठ रकम लिन चाहनेहरुले उक्त रकम अहिले नै प्राप्त गर्न सक्नेछैनन्, उनीहरुले आगामी बर्ष ट्याक्स फाइल गर्दासम्म प्रतिक्षा गर्नुपर्नेछ ।

अग्रिम रकम लिन नचाहनेहरुले आईआरएसको वेवसाइटमा दिइएको टुलमार्फत उक्त विकल्प रोज्न सक्नेछन् । आईआरएसमा पहिले नै एकाउन्ट भएकाहरुले उक्त एकाउन्ट साइनइन गरेर उक्त विकल्प रोज्न सक्नेछन् भने नभएकाहरुले आईआरएसमा वा आईडी डट मीमा एकाउन्ट बनाउनुपर्छ । एकाउन्ट लगइन गरेपछि दिइएको निर्देशन अनुशार अग्रिम रकम नलिने र एकमुष्ठ रकम लिने विकल्प रोज्न सकिन्छ ।

अग्रिम भुक्तानी नलिई आगामी बर्ष ट्याक्स फाइल गर्दा एकमुष्ठ रकम लिन चाहनेहरुले यहाँ क्लीक गर्नुहोला ।

चाइल्ड ट्याक्स क्रेडिट अन्तरगत हरेक ६ देखि १७ बर्षसम्मको हरेक बच्चाका लागि बार्षिक ३ हजार र हरेक ६ बर्षमुनीको हरेक बच्चाका लागि बार्षिक ३६ सय प्राप्त हुनेछ । बच्चाको संख्या अनुशार यो रकम बढ्दै जानेछ । राष्ट्रपति जो बाइडेनले यो प्रावधान सन् २०२१ पछि पनि लागु गर्न र यसलाई स्थायी बनाउन जोड दिदै आएका छन् ।

आईआरएसले जुलाई १५ मा पहिलो किस्ता, अगस्त १३ मा दोश्रो किस्ता, सेप्टेम्बर १५ मा तेश्रो किस्ता, अक्टोबर १५ मा चौथो किस्ता, नोभेम्बर १५ मा पाँचौं किस्ता र डिसेम्बर १५ मा छैठौं किस्ता पठाउने भएको छ । झण्डै ३९ मिलियन अमेरिकन परिवारका लागि दोश्रो चरणको राहत प्याकेजमा समेटिएको समृद्ध चाइल्ड ट्याक्स क्रेडिट अन्तरगत यो रकम दिइन लागेको हो । आईआरएसँग बैंक एकाउन्ट भएकाहरुको खातामा सिधै पठाइनेछ भने नभएकाहरुलाई हुलाकमार्फत चेक पठाइनेछ ।

उनीहरुको मासिक रकम जुलाईदेखि डिसेम्बरसम्म प्राप्त गर्नसक्नेछन् । बाँकी रकम सन् २०२१ को ट्याक्स फाइल गर्दा प्राप्त हुनेछ । ट्याक्स पोलिसी सेन्टरका अनुशार औषतमा ९० प्रतिशतभन्दा धेरै परिवारले ४३८० डलर प्राप्त गर्नेछन् ।

बच्चाका सन्दर्भमा प्राप्त गर्ने रकम आम्दानी र बच्चाको संख्यामा भर पर्छ । यदि तपाईको बार्षिक आम्दानी एकल कर फाइल गर्नेको सन्दर्भमा ७५ हजार वा त्योभन्दा कम, घरमुलीका रुपमा फाइल गर्नेको सन्दर्भमा १ लाख १२ हजार ५ सय वा त्योभन्दा कम र संयुक्त रुपमा फाइल गर्ने दम्पत्तिका सन्दर्भमा १ लाख ५० हजार डलर वा त्योभन्दा कम रहेको छ भने तपाईले चाइल्ड ट्याक्स क्रेडिटको पूरै रकम पाउनुहुनेछ । तर उक्त थ्रेसहोल्डभन्दा माथि आम्दानी छ भने हरेक १ हजार बढी आम्दानीका लागि चाइल्ड ट्रयाक्स क्रेडिट रकम ५० डलरले घट्दै जानेछ ।

विगतका बर्षहरुमा अधिकांश परिवारका लागि चाइल्ड ट्याक्स क्रेडिट रकम २ हजार डलर रहेको थियो । तर राहत प्याकेजले यो रकम बढाएर ३ हजारदेखि ३६ सयसम्म बनाएको हो ।

यो रकम प्राप्त गर्न अधिकांश करदाताहरुले कुनै कदम चाल्नुपर्दैन ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com