अमेरिकामा जुलाई १५ देखि हरेक महिना प्रतिबच्चा २५० देखि ३ सय डलर आउने, प्रावधान स्थायी हुनसक्ने


प्रकाशित मिति : असार ९, २०७८ बुधबार

अमेरिकामा आईआरएसले जुलाई १५ देखि चाइल्ड ट्याक्स क्रेडिटको रकम वितरण गर्ने भएको छ । जस अनुशार हरेक ६ देखि १७ बर्षसम्मको हरेक बच्चाका लागि बुबाआमाहरुले मासिक २५० डलरसम्म र हरेक ६ बर्षमुनीको हरेक बच्चाका लागि मासिक ३ सय डलरसम्म पाउन सक्नेछन् ।

जस अनुशार हरेक ६ देखि १७ बर्षसम्मको हरेक बच्चाका लागि बार्षिक ३ हजार र हरेक ६ बर्षमुनीको हरेक बच्चाका लागि बार्षिक ३६ सय प्राप्त हुनेछ । बच्चाको संख्या अनुशार यो रकम बढ्दै जानेछ । राष्ट्रपति जो बाइडेनले यो प्रावधान सन् २०२१ पछि पनि लागु गर्न र यसलाई स्थायी बनाउन जोड दिदै आएका छन् ।

आईआरएसले जुलाई १५ मा पहिलो किस्ता, अगस्त १३ मा दोश्रो किस्ता, सेप्टेम्बर १५ मा तेश्रो किस्ता, अक्टोबर १५ मा चौथो किस्ता, नोभेम्बर १५ मा पाँचौं किस्ता र डिसेम्बर १५ मा छैठौं किस्ता पठाउने भएको छ । झण्डै ३९ मिलियन अमेरिकन परिवारका लागि दोश्रो चरणको राहत प्याकेजमा समेटिएको समृद्ध चाइल्ड ट्याक्स क्रेडिट अन्तरगत यो रकम दिइन लागेको हो । आईआरएसँग बैंक एकाउन्ट भएकाहरुको खातामा सिधै पठाइनेछ भने नभएकाहरुलाई हुलाकमार्फत चेक पठाइनेछ ।

उनीहरुको मासिक रकम जुलाईदेखि डिसेम्बरसम्म प्राप्त गर्नसक्नेछन् । बाँकी रकम सन् २०२१ को ट्याक्स फाइल गर्दा प्राप्त हुनेछ । ट्याक्स पोलिसी सेन्टरका अनुशार औषतमा ९० प्रतिशतभन्दा धेरै परिवारले ४३८० डलर प्राप्त गर्नेछन् । जुलाईदेखि डिसेम्बरसम्म अग्रिम रकम प्राप्त गर्न नचाहनेहरुले जुलाईको पहिलो साता अनलाइनमा गएर सन् २०२२ मा एकमुष्ठ रकम लिन चाहनेगरी अग्रिम भुक्तानी अस्वीकार गर्नसक्नेछन् ।

यो रकम प्राप्त गर्न अधिकांश करदाताहरुले कुनै कदम चाल्नुपर्दैन । ट्याक्स फाइल गर्नु नपर्ने परिवारका लागि पनि विवरण बुझाउन अनलाइनमा व्यवस्था गरिनेछ । परिवारहरुले आफ्नो परिवर्तित विवरणहरु पनि अनलाइनमार्फत आईआरएसलाई बुझाउनुपर्नेछ । नयाँ बच्चा जन्मेको भएमा वा बैवाहिक स्थीतिमा परिवर्तन भएको भएमा पनि पोर्टलमार्फत जानकारी दिनुपर्नेछ । आइआरएसले जुलाई १ बाट अनलाइनमार्फत विवरण प्रदान गर्नसक्नेगरी पोर्टलको व्यवस्था गर्ने जनाएको छ ।

बच्चाका सन्दर्भमा प्राप्त गर्ने रकम आम्दानी र बच्चाको संख्यामा भर पर्छ । यदि तपाईको बार्षिक आम्दानी एकल कर फाइल गर्नेको सन्दर्भमा ७५ हजार वा त्योभन्दा कम, घरमुलीका रुपमा फाइल गर्नेको सन्दर्भमा १ लाख १२ हजार ५ सय वा त्योभन्दा कम र संयुक्त रुपमा फाइल गर्ने दम्पत्तिका सन्दर्भमा १ लाख ५० हजार डलर वा त्योभन्दा कम रहेको छ भने तपाईले चाइल्ड ट्याक्स क्रेडिटको पूरै रकम पाउनुहुनेछ । तर उक्त थ्रेसहोल्डभन्दा माथि आम्दानी छ भने हरेक १ हजार बढी आम्दानीका लागि चाइल्ड ट्रयाक्स क्रेडिट रकम ५० डलरले घट्दै जानेछ ।

विगतका बर्षहरुमा अधिकांश परिवारका लागि चाइल्ड ट्याक्स क्रेडिट रकम २ हजार डलर रहेको थियो । तर राहत प्याकेजले यो रकम बढाएर ३ हजारदेखि ३६ सयसम्म बनाएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com