न्युयोर्कमा नेपाली अमेरिकन मतदाता झण्डै ८ हजार, मेयरका लागि प्राइमरी चुनावको चटारो


प्रकाशित मिति : असार ५, २०७८ शनिबार

– किशोर पन्थी

न्युयोर्क सिटीमा मेयरका लागि जुन २२ मा प्राइमरी चुनाव हुँदैछ भने अन्तिम चुनाव नोभेम्बर २ मा हुने भएको छ । विश्वको ब्यापारिक राजधानीका रुपमा परिचित तथा सबै महादेशका आप्रवासीहरुले खचिखचाउ ८० लाखभन्दा बढी जनसंख्या रहेको न्युयोर्क सिटीको मेयरको चुनावलाई विशेष चासोका साथ हेर्ने गरिन्छ ।

न्युयोर्क सिटीको चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकन मतदाता झण्डै ८ हजार रहेको विभिन्न तथ्यांकले देखाएको छ । खसोखासले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट प्राप्त तथ्यांक जोड्दा न्युयोर्क सिटीमा अमेरिकन नागरिकता लिने नेपालीमूलका व्यक्तिको संख्या ८ हजारको हाराहारीमा रहेको छ ।

यद्यपी प्राइमरीमा कुनै दलमा दर्ता भएका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुलेमात्र मतदान गर्न पाउने भएकाले प्राइमरीमा भाग लिनका लागि योग्य नेपाली मूलका मतदाताको संख्या भने कम रहेको छ । नेपाली मूलका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुको संख्या न्युयोर्कमा कति रहेको छ भन्ने यकिन छैन । तर ठूलो संख्यामा नेपालीहरुले यसरी आफूलाई डेमोक्र्याट्स वा रिपब्लिकनका रुपमा रजिष्टर्ड गराएका छैनन् । उनीहरुले नोभेम्बरको चुनावमा भने मतदान गर्न पाउनेछन् ।

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ५५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत न्युयोर्क निवासी रहेका छन् । कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका छन् ।

आर्थिक बर्ष सन् २०२० को पहिलो तीनमहिनामा १६ सय ४४ जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरेका थिए भने दोश्रो तीनमहिनामा १३ सय ५४ जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरे । तेश्रो तीनमहिनामा ६४६ जना नेपालीहरुले अमेरिकी नागरिकता पाउन सफल भए भने चौथो तीनमहिनामा ११ सय ६२ जना नेपालीहरुले अमेरिकी नागरिकता पाए ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

२०१४ सम्म कति नेपालीले लिए अमेरिकन नागरिकता ?

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

र्‍याङक च्वाइस भोटिङ विधि

यस अगाडिको मेयरको चुनावमा डेमोक्रेटिक प्राइमरीमा झण्डै ४ लाख मतमात्र खसेको थियो भने ७४ प्रतिशत मत बिल डे ब्लाजिओले ल्याएका थिए । त्यतीबेला ब्लाजिओले दोश्रो कार्यकालका लागि उम्मेदबारी दिएका थिए । २०१३ मा भने ब्लाजिओले प्राइमरीमा खसेको झण्डै ७ लाख भोटको झण्डै ४० प्रतिशतमात्र प्राप्त गरेका थिए ।

यसपटक भने प्राइमरीमा मतदान प्रणाली फरक रहेकाले प्राइमरीमा विजयी हुनेले ५० प्रतिशतमत प्राप्त गर्नुपर्छ । न्युयोर्क सिटीले मेयर, पब्लिक एड्भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेण्ट र सिटी काउन्सिलका लागि सबै प्राइमरी र विशेष निर्वाचनमा र्‍याङक च्वाइस भोटिङ विधि अपनाएको छ । यो विधिबाट मतदान गर्दा न्युयोर्करहरुले पहिले भन्दा धेरै च्वाइसहरु प्राप्त गर्छन् ।

कुनै पनि पदका लागि एउटामात्र उम्मेदबारलाई भोट हाल्नुको साटो मतदाताहरुले ५ जनासम्म उम्मेदबारलाई रोजाईका आधारमा मतदान गर्न पाउनेछन् । पहिलो, दोश्रो, तेश्रो , चौथो र पाँचौं रोजाइसम्मका उम्मेदबारलाई मतदान गर्न सकिनेछ । पहिलो कोलममा पहिलो रोजाईका उम्मेदबारलाई, दोश्रो कोलममा दोश्रो रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिन्छ । यसैगरी तेश्रो, चौथो र पाँचौं रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिन्छ । एउटामात्र उम्मेदबारलाई भोट हाल्न चाहनेहरुले एउटैलाईमात्र पनि भोट हाल्न सक्छन् ।

यसरी मतदानपछि ५० प्रतिशतभन्दा बढी भोट ल्याउने उम्मेदबारले चुनाव जित्नेछ । यदि कसैले पनि ५० प्रतिशतभन्दा बढी भोट नल्याएमा मतगणना दोश्रो चरणमा जानेछ । यो चरणमा सबैभन्दा कम मत ल्याउने उम्मेदबारलाई हटाइनेछ । यदि कुनै पनि मतदाताको पहिलो रोजाईको उम्मेदबार बाहिरिएको खण्डमा उक्त भोट दोश्रो रोजाईको उम्मेदबारमा जोडिनेछ । यसरी नै विजेता प्राप्त नहुँदासम्म कम भोट ल्याउनेलाई हटाउँदै मतगणना जारी राखिनेछ । जब कुनै उम्मेदबारले ५० प्रतिशतभन्दा बढी ल्याउनेछ, उसलाई विजेता घोषणा गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com