खसोखास इन्डोर्समेन्ट: यसकारण न्युयोर्कमा नवराज केसीलाई जिताऔं


प्रकाशित मिति : असार २, २०७८ बुधबार

न्युयोर्क सिटी काउन्सिलमा डिस्ट्रिक्ट १९ बाट उम्मेदबार रहेका नवराज केसी न्युयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली मूलका अमेरिकनमात्र होइनन्, उनको सामाजिक कार्यप्रतिको रुची र इतिहासका कारणपनि उनी जीतका लागि उपयुक्त पात्र हुन् । उनको जीतले नेपाली मूलका आप्रवासीहरुको सन्दर्भमा न्युयोर्कको सिटी काउन्सिलमा मात्र होइन, अमेरिकाको राजनीतिमा नै नयाँ इतिहास कायम हुनेछ ।

नेपालमा जन्मे हुर्केर अल्पसंख्यक आप्रवासी समुदायका रुपमा न्युयोर्कमा रहदै आएका केसीले अमेरिकन मूलधारको राजनीतिमा चालेका पाइला नेपाली आप्रवासीहरुका लागिमात्र होइन, न्युयोर्कमा रहेका विश्वभरका अल्पसंख्यक आप्रवासीहरुका लागि समेत प्रेरणा हो । उनले बनाएको यो गोरेटो आगामी पुस्ताका लागि राजमार्गमा रुपान्तरण हुनसक्छ । अमेरिकन मूल धारको राजनीतिमा अगाडि बढ्न चाहने नेपाली लगायतका अल्पसंख्यक आप्रवासीहरुका लागि उर्जा बन्नसक्छ ।

उनी अल्पसंख्यक आप्रवासी भएका कारणमात्र होइन, उनले गरेको सामाजिक योगदानका कारण पनि उनी विजयका लागि योग्य छन् । झण्डै दुईदशकदेखि सामाजिक कार्यमा सकृय उनले कोरोना महामारीबिरुद्ध जुध्न आफ्नो डिस्ट्रिक्ट १९ मामात्र होइन, छिमेकी समुदायमा समेत गरेको योगदान उल्लेखनीय रहेको छ । विगतमा रोटरी क्लब अफ न्युयोर्कका अध्यक्ष समेत रहेका उनी अहिले रोटरी डिस्ट्रिक्ट ७२५५ का सहायक गभर्नर हुन् ।

कँग्रेसवुमन ग्रेस मिङले उनले गरेको सामाजिक योगदानको सम्मानमा डिसेम्बर २२ लाई नवराज केसी डे घोषणा गरेकी थिइन् भने बु्रकलिन बोरो प्रेसिडेण्टबाट समेत केसीले कोभिड १९ हिरो अवार्ड पाएका थिए । न्युयोर्कमा रहेको नेपाली समुदायलाई अमेरिकन मुलधारको राजनीतिक नेतृत्वसँग जोड्न सेतुको काम गर्दै आएका केसी राजनीतिक एजेण्डाहरुपनि आप्रवासीको हितमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा अपराध र हिंशाका घटना बढिरहेको सन्दर्भमा समुदायको सुरक्षाले केसीले पहिलो प्राथमिकतामा राखेका छन् । अपराध हुनुभन्दा अगाडि नै रोक्नका लागि समुदायसँग काम गर्ने उनको सार्वजनिक सुरक्षाको एजेण्डा निकै महत्वपूर्ण छ । युवाहरुलाई जागिर र अवशरहरुका लागि अभिवृद्धि कार्यक्रममा लगानी गर्ने, सुरक्षित सिटी निर्माणका लागि समुदाय र प्रहरीबीचको सहकार्य बढाउने लगायतका उनका एजेण्डाहरु समुदायका हितमा छन् ।

त्यस्तै साना विजनेशलाई सहयोग र शक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु ल्याउने उनको एजेण्डा रहेको छ । अनलाइन किनमेलका कारण साना विजनेशहरु प्रभावित भइरहेको र कतिपय विजनेशहरु बन्द हुने अवस्थामा रहेकाले त्यस्ता विजनेशको ऋणमाफी लगायत भाडा नियन्त्रण लगायतका कार्यक्रमहरु उनको एजेण्डामा रहेका छन् ।

कोरोना महामारीका कारण शिक्षाक्षेत्रमा ठूलो प्रभाव परेको छ । महामारीका कारण अनलाइन कक्षामात्र हुँदा त्यसको नकारात्मक प्रभाव परेको छ भने अतिरिक्त कृयाकलाप समेत हुन पाएका छैनन् । कैयन विद्यार्थीहरु अभिभावकमा प्रविधिको ज्ञानको अभाव, साधनश्रोतको अभाव लगायतका कारण पछाडि छोडिएका छन् । उनीहरुलाई अगाडि बढाउनका लागि केसीसँग प्रविधिमा लगानी, विद्यालय भवनमा लगानी, कक्षा कोठाको स्तरबृद्धि लगायतका एजेण्डाहरु छन् । विद्यालयमा मानसिक स्वास्थ्य सम्बन्धि काम गर्ने कर्मचारीहरु पनि उपलब्ध हुनुपर्ने उनको एजेण्डा छ ।

यी र यस्ता कैयन कारणहरुले गर्दा न्युयोर्क सिटी काउन्सिलमा डिस्ट्रिक्ट १९ बाट नवराज केसीलाई जिताऔं । प्राइमरी चुनावमा जुन २० सम्म अग्रिम मतदान भइरहेको छ भने जुन २२ प्राइमरी चुनावको मुख्य दिन हो । त्यसैले तपाई डिस्ट्रिक्ट १९ को मतदाता हुनुहुन्छ भने मतदानका लागि आजै निस्कनुहोस् । यदि अन्य क्षेत्रमा बस्नुहुन्छ भने डिस्ट्रिक्ट १९ मा तपाईले चिनेको मतदातालाई मतदानका लागि प्रोत्साहन गर्नुहोस् ।

(नोट: यो इन्डोर्समेन्ट खसोखासको सम्पादकीय टिमबाट भएको हो । खसोखासको समाचार कक्ष यो भन्दा अलग हो । यो इन्डोर्समेन्टसँग समाचार कक्षको कुनै सरोकार छैन ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com