अमेरिकाले नेपाल लगायत विश्वलाई सहयोग गर्न ५ सय मियिलन डोज फाइजर भ्याक्सिन किन्ने


प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार

अमेरिकाले विश्वलाई सहयोग गर्न ५ सय मियिलन डोज फाइजर भ्याक्सिन किन्ने भएको छ । बाइडेन प्रशासनले विश्वको जनसंख्यालाई भ्याक्सिन लगाउन सहयोग गर्ने प्रयासहरु तीब्र पारिरहँदा यो योजना सार्वजनिक भएको हो ।

अमेरिका र अन्य धनी देशहरुलाई विश्वब्यापी भ्याक्सिनको आपूर्ति बढाउनका लागि आव्हानहरु भइरहँदा बाइडेन प्रशासनले ५ सय मिलियन डोज फाइजर भ्याक्सिन किनेर विश्वलाई दिने घोषणा गर्न लागेको हो । बाइडेनले ब्रिटेनमा यसैसाता गु्रप अफ सेभेनको बैठकमा विश्वब्यापी भ्याक्सिन रणनीतिबारे घोषणा गर्ने जनाइएको छ ।

बाइडेन प्रशासनले जुन महिनाको अन्तिमसम्ममा ८० मिलियन डोज भ्याक्सिन विश्वलाई प्रदान गर्ने घोषणा गरिसकेको छ । गतसाता ह्वाइटहाउसले २५ मिलियन डोज कुन कुन देशलाई दिने भन्नेबारे योजना सार्वजनिक गरेको थियो । जसमा नेपाल लगायतका देशलाई समेत भ्याक्सिन सहायता उपलब्ध गराउने उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममार्फत यो बर्षको अन्त्यसम्ममा २ बिलियन डोज भ्याक्सिन विश्वमा सहायता प्रदान गर्ने लक्ष्य रहेको छ । अमेरिका कोभ्याक्स कार्यक्रमको सबैभन्दा ठूलोमध्येको दाता हो । नेपालले कोभ्याक्स कार्यक्रममार्फत पहिलो खेप आष्ट्राजेनेका भ्याक्सिन प्राप्त गरिसकेको छ ।

गतसाता घोषणा गरिएको योजना अनुरुप अमेरिकाले नेपाललाई कति डोज भ्याक्सिन उपलब्ध गराउने भन्नेबारे पनि छिट्टै सार्वजनिक गर्ने बताइएको छ । अमेरिकामा भण्डारमा रहेको आष्ट्राजेनेका भ्याक्सिन एफडीएले स्वीकृत गरिनसकेकाले नेपाललाई अमेरिकाबाट पहिलो चरणमा उपलब्ध हुने भ्याक्सिन फाइजर, मोडेर्ना र जोन्सन एण्ड जोन्सन मध्येबाट हुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com