परीक्षण घट्दा संक्रमित घटे, संक्रमण दर भने उस्तै


प्रकाशित मिति : जेष्ठ १६, २०७८ आईतबार

जेठ १२ गते देशभर २० हजार ४ सय ४५ नमुना परीक्षण भयो। जसमा ६ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण दर ३३.९४ प्रतिशत थियो। जे १३ मा २० हजार ९ सय ९२ जनाको परीक्षण गरिएकोमा ६ हजार ९ सय ४९ जनामा संक्रमण पुष्टि भयो। जेठ १४ मा २० हजार १ सय १० जनाको नमुना परीक्षण गरिएकोमा ६ हजार ९ सय ५१ जनामा संक्रमण देखियो। जेठ १३ र १४ को संक्रमण दर क्रमशः ३३.७० र ३४.५० थियो।

तर जेठ १५ मा परीक्षण दर ह्वात्तै घट्यो। उक्त दिन १४ हजार ७ सय ७२ जनाको मात्र परीक्षण भयो,जसमा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भयो । सरसर्ती हेर्दा संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर भने घटेको छैन। जेठ १५ को संक्रमणदर ३०.५५ रह्यो।

जेठ १६ मा आउँदा परीक्षण संख्या अझै घट्यो। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार जेठ १६ मा १२ हजार ७ सय ७० जनाको मात्र परीक्षण भयो। यसमा ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भयो, जसको दर अघिल्ला दिनजस्तै रह्यो। अर्थात् ३४.२१ रहेको छ ।

परीक्षण कम हुनुमा नमुना संकलन नै कम हुनु कम रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्। परीक्षणको दायरा समुदायमा फैलन सकेको छैन। जति आएका छन्, अस्पतालमा आएकाहरुको मात्र हो।

परीक्षण कम भएर संक्रमितको संख्या घटेको देखिए पनि कोरोना संक्रमणका कारण हुने मृत्यु भने घट्दो क्रममा रहेको देखिएको छ। आइतबार देशभर १०९ जनाको मृत्यु भएको छ। बुधबार १४५ जनाको मृत्यु भएकोमा बिहीबार १०६ र शुक्रबार ९६ जनाको मृत्यु भएको थियो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com