न्युयोर्क राज्यबाट मे २९ लाई ‘नेपाली अमेरिकन हेरिटेज डे’ घोषणापछि न्युयोर्कमा ‘नेपाल डे’ उत्सव


प्रकाशित मिति : जेष्ठ १६, २०७८ आईतबार

– अनिल अधिकारी

विश्वकै राजधानी मानिने अमेरिकाको न्यूयोर्क शहरमा ’नेपाल डे’ कार्यक्रम विशेष रुपमा मनाईएको छ । न्यूयोर्क राज्य सरकारले मे २९ लाई ‘नेपाली अमेरिकन हेरिटेज डे’ को रुपमा घोषणा गरिसकेको छ ।

नेपाली भाषा संस्कृतिको बिकास र संस्कार सस्कृति बिश्व समुदायलाई चिनाउने लक्ष्य सहित आयोजना हुँदै आएको नेपाल डे परेड हरेक बर्ष न्यूयोर्कमा बिशेष कार्यक्रम गरि मनाउँदै आईएको छ । न्युयोर्कमा सन् २०१६ देखि फरक फरक मितिमा नेपाल डे मनाइदै आइएको छ । गतबर्ष भने कोरोना महामारीका कारण नेपाल डे परेड हुन सकेन ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा सम्पन्न गरिएको ’नेपाल डे’ कार्यक्रममा न्यूयोर्कमा क्रियाशिल सबैजसो संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विभिन्न नेपाली जातजातिका पोशाक र बाजागाजा सहित उपस्थित भएका नेपाली अमेरिकन सहभागिहरुले नगर परिक्रमा गरेका थिए ।

ऱ्याली ज्याक्सनहाइटको रुजभेल्ट एभिन्यु र ४१ एभिन्युको बीचमा रहेको ७६ स्ट्रीटबाट सुरु भएको थियो भने कार्यक्रम  ७५१५ उडसाइड एभिन्युमा रहेको सत्यनारायण मन्दिरमा गरिएको थियो ।

ऱ्यालीपछी आयोजित विशेष कार्यक्रममा न्यूयोर्क राज्य विधानसभा सदस्य जेनिफर राजकुमार र नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कका कार्यवाहक महावाणिज्यदुत विष्णुप्रसाद गौतमको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा विधानसभा सदस्य जेनिफरले फिप्नाका अध्यक्ष लोक चेम्जोङ र महावाणिज्यदुत गौतमलाई न्यूयोर्क राज्यले पारित गरेको ‘नेपाली अमेरिकन हेरिटेज डे’ को रिजोलुसन हस्तान्तरण गरेकी थिइन् ।

फिप्नाका अध्यक्ष लोक चेम्जोङलाई न्यूयोर्क राज्यले पारित गरेको ‘नेपाली अमेरिकन हेरिटेज डे’ को रिजोलुसन हस्तान्तरण गर्दै राज्य सांसद जेनिफर राजकुमार

कार्यक्रमलाई सम्बोधन गर्दै जेनिफरले नेपाली अमेरिकन समुदायको सम्मान एवं पहिचानका लागि राज्य सरकारले ऐतिहासिक नेपाल डे घोषणा गरेको जानकारी दिइन् । उनले नेपाली अमेरिकनहरुका कला, संस्कृति एवं परम्परा रक्षाका लागि राज्य सरकार सधै सकारात्मक रहेको भन्दै सिंगो अमेरिकाले यसलाई अंगाल्नेमा आफु आशावादी भएको बताइन् ।

कार्यक्रममा कावमहावाणिज्यदुत गौतमले न्यूयोर्क राज्य सरकारले गरेको घोषणाले दूई देशबीचको आपासी सम्पन्धलाई थप गाढा बनाउने भन्दै नेपाल सरकार अमेरिकासँगको दुई पक्षिय हितका लागि सधै सहकार्य गर्न तयार उल्लेख गरेका छन् । कार्यक्रममा दुबै पक्षबाट मायाको चिनो साटासाट गरिएको थियो ।
कार्यक्रममा न्यूयोर्क राज्यसभाको तर्फबाट फिप्नाका अध्यक्ष लोक चेम्जोङ, महासचिव नरेन्द्र थापालाई सम्मान गरिएको थियो । त्यस्तै नेपाल डे घोषणाका लागि विशेष पहल गर्ने दिपेन्द्र लामा, आरती मगर र सजिना श्रेष्ठलाई पनि राज्य सभा सदस्य जेनिफरले सम्मान पत्र प्रदान गरेकी थिइन् ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा झण्डै तीनलाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । त्यसमध्ये अधिकांश नेपालीहरु न्यूयोर्क राज्यमा बस्ने गरेको विभिन्न तथ्यांकले देखाउँछ ।

न्यूयोर्कमा नेपाली पहिचानका लागि नेपाल डे परेड भने २०१६ देखि गर्न सुरु गरिएको थियो । आउँदो वर्ष देखि नेपाल डे फिप्ना र एनआरएनए न्यूयोर्क शाखाको संयुक्त आयोजनामा परेड सहितको विशेष कार्यक्रम न्यूयोर्क शहरमा मनाईने भएको छ ।

अब हरेक बर्षको मे २९ लाई नेपाली अमेरिकन हेरिटेज डे

न्युयोर्क राज्यभर मे २९ लाई अब हरेक बर्ष  नेपाली अमेरिकन हेरिटेज डे का रुपमा मनाइने भएको छ ।  राज्य संसदमा सांसद जेनिफर राजकुमारले स्पोन्सर गरेको रिज्योलुशन नम्बर ३३०  न्युयोर्कको राज्य संसदबाट गत मंगलबार स्वीकृत भएको थियो ।  जेनिफर राजकुमारले न्युयोर्क राज्य संसदमा डिस्ट्रिक्ट ३८ बाट प्रतिनिधित्व गर्छिन् । जुन क्षेत्र क्वीन्सको ग्लेनडेल, ओजन पार्क, रिचमण्ड हिल, रिजउड, उडह्याभन लगायत पर्छन् ।

रिज्योलुशन स्पोन्सरकर्ता राज्य सांसद जेनिफर राजकुमार

राज्य संसदमा यो प्रस्तावको को स्पोन्सर राज्य सांसद जेफ्रियन ओब्रीले गरेका थिए । उनले न्युयोर्क राज्य संसदमा नेपालीहरुको समेत बाक्लो बसोबास रहेको क्षेत्र डिस्ट्रिक्ट ३५ को एल्महस्र्ट, ज्याक्सनहाइट, कोरोना, लेफ्राकसिटी, उडसाइडको लगायतको क्षेत्रको प्रतिनिधित्व गर्छन् ।

प्रस्तावको को स्पोन्सर राज्य सांसद जेफ्रियन ओब्री

गभर्नर एन्ड्रयु कुमोबाट मे २९ लाई न्युयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज दिवसका रुपमा घोषणा नामको उक्त रिज्योलुशनमा नेपाल डेको उपलक्ष्यमा न्युयोर्क राज्यको नेपाली अमेरिकन समुदायलाई खुशी र गर्वका साथ सम्मान गर्नु संसदीय निकायको प्रचलन रहेको उल्लेख गरिएको छ । त्यसैले मे २९ लाई न्युयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज डे का रुपमा घोषणा गर्नु न्युयोर्क राज्यको संसदीय निकायका लागि पनि गर्वको कुरा भएको उल्लेख छ ।

मे २९ मा नेपालमा २४० बर्ष पुरानो राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा भएको दिन भएको र नेपाली पात्रो अनुशार यो दिन जेष्ठ १५ मा पर्ने समेत रिज्योलुशनमा उल्लेख छ । यो बर्ष गणतन्त्र दिवस मे २९ मा परेको छ ।  सन् २००६ मा १० बर्षलामो गृहयुद्धको समाप्ती र सन् २०१५ मा विनाशकारी महाभूकम्पहुँदै नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेको विषयलाई पनि रिज्योलुशनमा समेटिएको छ ।

न्युयोर्क राज्य संसदको वेवसाइटमा प्रकाशित रिज्योलुशन पढ्न यहाँ क्लीक गर्नुहोला ।

न्युयोर्क सिटी न्युयोर्क राज्यमा रहेका ६७ प्रतिशत नेपालीहरुको घर रहेको र त्यसमा पनि ८७ प्रतिशत न्युयोर्कबासी नेपालीहरु क्वीन्समा बस्ने रिज्योलुशनमा उल्लेख छ । मे २९ सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा सगरमाथा आरोहण गरेको बार्षिकी समेत रहेको उल्लेख गर्दै रिज्योलुशनमा भनिएको छ – ‘नेपाल सुन्दर हिमालका लागि परिचित रहेको छ भने सगरमाथाको महान विश्वब्यापी महत्व छ ।’

न्युयोर्क राज्यको संसद

रिज्योलुशन पारित भएपछि यसको प्रति गभर्नर एन्ड्रयु कुमो, न्युयोर्कमा रहेको नेपाली महाबाणिज्यदूतावास र न्युयोर्कमा रहेका नेपाली आधारित परोपकारी र विभिन्न संघसंस्थाहरुलाई प्रदान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com