न्युयोर्कमा भ्याक्सिन लगाउनेलाई ५ मिलियन डलर जित्नसक्ने २० डलरको लोटरी टिकट सित्तैमा
प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार
न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनेलाई ५ मिलियन डलर जित्नसक्ने लोटरी टिकट सित्तैमा उपलब्ध गराउने कार्यक्रम घोषणा गरिएको छ । गभर्नर एन्ड्रयु कुमोले भ्याक्सिनका लागि सर्वसाधारणहरुलाई प्रोत्साहित गर्न यो कार्यक्रम ल्याएका हुन् ।
भ्याक्स एण्ड स्क्र्याच नामको २० डलर मूल्य पर्ने लोटरी टिकट भ्याक्सिन लगाउनेहरुले सित्तैमा प्राप्त गर्न सक्ने भएका छन् । यसमा २० डलरदेखि ५ मिलियन डलरसम्मका विभिन्न पुरस्कार रकमहरु राखिएका छन् । यो लोटरीमा ९ जनामा एकजनाले कुनै न कुनै लोटरी रकम जित्ने सम्भावना रहन्छ ।
यो कार्यक्रम मे २४ सोमबारदेखि लागु हुनेछ भने मे २८ शुक्रबारसम्म जारी हुनेछ । राज्यबाट संचालित १० वटा भ्याक्सिन साइटहरुमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनेहरुले यो टिकट प्राप्त गर्नेछन् । टिकट स्क्र्याच गरेर लोटरी परे नपरेको हेर्न सकिनेछ ।

बुधबारदेखि भ्याक्सिन लगाएका न्युयोर्कबासीहरुलाई अधिकांश स्थलमा मास्क नलगाउन अनुमति दिइएको छ । सीडीसीको निर्देशिका अनुशार भ्याक्सिन लगाएकाहरुलाई मास्क लगाउनु नपर्ने व्यवस्था गरिएको हो । भ्याक्सिन लगाएकाहरु अब न्युयोर्कमा जिम, रेष्टुरेण्ट, स्टोर लगायतका स्थानमा मास्क नलगाइकनै जान सक्नेछन्, तर उनीहरुले आफू पूर्णरुपमा भ्याक्सिन लगाएको प्रमाणित गर्नुपर्छ ।
न्युयोर्क राज्यमा अहिलेसम्म कुल जनसंख्याको ४२ प्रतिशतभन्दा धेरैले भ्याक्सिन लगाइसकेका छन् । ८२ लाखभन्दा धेरैले भ्याक्सिन लगाइसकेकोमा दुबै डोज वा पूर्ण डोज लगाउनेहरु ८१ लख भन्दा धेरै रहेका छन् ।
न्युयोर्क सिटीभित्र ब्रोंक्समा कुल जनसंख्याको ३८ दशमलव ३ प्रतिशत अर्थात् झण्डै साढे ५ लाखले भ्याक्सिन लगाएका छन् । बु्रकलिनमा झण्डै ४२ प्रतिशत अर्थात् १० लाख भन्दा बढीले भ्याक्सिन लगाएका छन् । म्यानहटनमा झण्डै ६० प्रतिशत अर्थात् झण्डै १० लाखले भ्याक्सिन लगाइसकेका छन् । क्वीन्समा झण्डै ५३ प्रतिशत अर्थात् १२ लाख भन्दा धेरैले भ्याक्सिन लगाएका छन् ।





