बाइडेनले अमेरिकामा स्वीकृत २० मिलियन र आष्ट्राजेनेकाको ६० मिलियन डोज भ्याक्सिन विदेशमा दिने
प्रकाशित मिति : जेष्ठ ३, २०७८ सोमबार
(नोट: यो समाचार बाइडेनको घोषणाको भिडियोसहित अपडेट गरिएको छ । -सम्पादक)
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा प्रयोगका लागि स्वीकृति पाएका मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सनका २० मिलियन डोज भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायसँग बाँड्ने घोषणा गरेका छन् । जुन महिनाको अन्तिमसम्म ती भ्याक्सिन अमेरिकाबाट विदेश पठाइने भएको छ । यो विश्वका कुनै पनि मुलुकले अन्तर्राष्ट्रिय समुदायलाई दिएको भ्याक्सिनभन्दा भन्दा पाँचगुणा बढी हो ।
बाइडेनले यस अगाडि नै ६० मिलियन डोज आष्ट्राजेनेका भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायलाई बाड्ने घोषणा गरिसकेका छन् । यो २० मिलियन त्यसका अतिरिक्त हो । अमेरिकामा आष्ट्राजेनेका भ्याक्सिनले भने प्रयोगको स्वीकृति पाइसकेको छैन ।
विदेशमा महामारीको सामना गर्नका लागि सहयोग उपलब्ध गराउने बाइडेन प्रशासनको यो पहिलो महत्वपूर्ण कदम हो । बाइडेनले यस अगाडि नै अमेरिका विश्वभर भ्याक्सिन आपूर्तिका लागि भण्डारण हुने प्रतिबद्धता जनाइसकेका छन् ।
अमेरिकाबाट नेपालमा भ्याक्सिन डोनेशनका लागि विभिन्न क्षेत्रबाट व्यापक पहल समेत भइरहेको छ । नेपालीहरुले भ्याक्सिन सहयोगको आव्हान गर्दै हस्ताक्षर अभियान संचालन गरेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालमा रहेका अमेरिकी राजदूत र्याण्डी बेरी समक्ष भ्याक्सिन सहयोगको आग्रह गरिसकेका छन् ।

नेपालमा आष्ट्राजेनेका अन्तरगतको कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका लाखौंले दोश्रो डोज पाएका छैनन् । उनीहरु दोश्रो डोजको व्यग्र प्रतिक्षामा रहेका छन् । पहिलो डोज पनि लगाउन नपाएकाहरु पनि भ्याक्सिनको प्रतिक्षामा रहेका छन् ।
नेपालमा भ्याक्सिन सहयोगका लागि केही अमेरिकी सांसदहरुले समेत सिनेटमा आवाज उठाइरहेका छन् । अमेरिकामा रहेका नेपालीहरुले ती सांसदहरुसमक्ष गरेको आग्रहपछि सिनेटका विभिन्न कमिटिहरुमा यसबारे कुरा उठेको हो ।

बाइडेनले अन्तर्राष्ट्रिय समुदायलाई प्रदान गर्ने ८० मिलियन डोज भ्याक्सिन नेपालले पाउने नपाउने भने अझै स्पष्ट छैन ।





