बेरोजगारी विमा रकम पाउन जागिर खोजेको प्रमाण चाहिने नियम ब्यूताइदै


प्रकाशित मिति : जेष्ठ २, २०७८ आईतबार

बेरोजगारी विमाको एउटा प्रावधान जागिर खोजेको प्रमाण चाहिने रहेको थियो तर महामारीका कारण यो प्रावधान हटाइएको थियो । अर्थात् जागिर खोजेको प्रमाण नभएपनि बेरोजगारी विमा रकम लिन पाइने भएकाले अमेरिकामा काम गुमाएकाहरुले सहजै यो रकम पाइरहेका थिए ।

तर अहिले अमेरिकाका आधाभन्दा धेरै राज्यहरुले बेरोजगारी विमा रकम पाउन जागिर खोजेको प्रमाण चाहिने नियमलाई ब्यूताइसकेका छन् । ती राज्यहरुमा बेरोजगारी विमा रकम लिइरहेकाहरुलाई जागिर खोजेको प्रमाण माग्न थालिएको छ । त्यस्तो प्रमाण नपठाएको खण्डमा बेरोजगारी विमा रकम बन्द गरिदिने वा विगतमा लिएको रकम पनि फिर्ता माग्ने चेतावनी समेत दिन थालिएको छ ।

अर्कान्सास र लुजियानाले यो नियम केही महिना अगाडि नै ब्यूताएका थिए तर भर्मोन्ट र केन्टकीले पनि केहीसाता अगाडि यो नियम ब्यूताइसकेका छन् । अन्य केही राज्यहरुले पनि यो नियम ब्यूताउने संकेत दिएका छन् । राष्ट्रपति जो बाइडेनले सोमबार डिपार्टमेन्ट अफ लेवरलाई स्वास्थ्य र सुरक्षाको अवस्था अनुशार बाँकी राज्यहरुसँग काम गर्न आदेश दिएका थिए ।

रोजगारदाताहरुले यो कदमलाई काम खोज्न आउनेहरुको संख्या बृद्धि हुने हिसावले स्वागत गरेपनि बेरोजगारी विमा रकम लिइरहेकाहरुका सन्दर्भमा यसले झन्झट थप्ने र कैयनका लागि यो अपरिपक्व निर्णय हुने देखिएको छ ।

टेनेसीको नियम अनुशार कुनै पनि व्यक्ति बेरोजगारी विमाका लागि योग्य रहिरहन सातामा कम्तीमा तीनवटा जागिर खोजेको प्रमाण पेश गर्नुपर्ने हुन्छ ।

त्यस्तै  अहिलेसम्म कम्तीमा ८ राज्यहरुले बेरोजगारी बिमा रकमका अतिरिक्त संघीय सरकारबाट उपलब्ध साप्ताहिक ३ सय नदिने घोषणा गरेका छन् । साप्ताहिक ३ सय डलर उपलब्ध गराउँदा यसबारे राज्यको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै उनीहरुले उक्त रकम बन्द गर्ने घोषणा गरेका हुन् । संघीय सरकारले भने सेप्टेम्बरको पहिलो सातासम्म यो रकम उपलब्ध गराउन बिल पारित गरेको थियो ।

टेनेसीले जुलाई ३ देखि उक्त साप्ताहिक ३ सय रकम उपलब्ध गराउन रोक्ने घोषणा गरेको छ । त्यहाँका गभर्नर बिल लीले जुलाई ३ पछि अतिरिक्त साप्ताहिक ३ सय उपलब्ध नगराइने घोषणा गरेका हुन् । कैयन रिपब्लिकनहरुले साप्ताहिक ३ सयको विरोध गरिरहँदा टेनेसी साप्ताहिक ३ सय नदिने घोषणा गर्ने पछिल्लो राज्य हो ।

त्यस्तै आयोवाका गभर्नरले पनि जुन १२ देखि साप्ताहिक ३ सय उपलब्ध गराउने संघीय कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । नर्थ डाकोटाका गभर्नरले जुन १९ मा यो कार्यक्रमबाट पछाडि हट्ने बताएका छन् । अर्थात् नर्थ डाकोटामा पनि जुन १९ पछि बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय उपलब्ध हुनेछैन ।

मिसिसिपीका गभर्नरले आफ्नो राज्यले जुन १२ देखि यो संघीय कार्यक्रम छाड्ने बताएका छन् । मिसिसिपीमा पनि जुन १२ पछि बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय उपलब्ध हुनेछैन । अलाबामाले पनि जुन १९ पछि साप्ताहिक ३ सय उपलब्ध गराउन बन्द गर्नेछ ।

अर्कान्सासले जुन २६ बाट साप्ताहिक ३ सय उपलब्ध गराउन बन्द गर्नेछ भने साउथ क्यारोलिनाले पनि जुनको अन्तिमबाट यो कार्यक्रममा सहभागिता जनाउने छैन । अर्थात् जुनको अन्तिमबाट त्यहाँ पनि बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय आउन बन्द हुनेछ ।

मोन्टानाले पनि जुन २७ बाट यो कार्यक्रम बन्द गर्नेछ । अतिरिक्त साप्ताहिक ३ सय प्रदान गर्दा कामदारको अभाव भएको भन्दै यो कार्यक्रम बन्द गर्न लागिएको हो । अन्य केही राज्यले पनि साप्ताहिक ३ सय डलर बन्द गर्ने घोषणा गर्ने तयारी गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com