न्युयोर्कबाट तीनदिन अगाडि हराउनुभएकी ६२ बर्षकी लक्ष्मी केसी ब्रुकलिनको अस्पतालमा


प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार

न्युयोर्कको रिजउडबाट शनिबारदेखि बेपत्ता हुनुभएकी ६२ बर्षकी लक्ष्मी केसी झण्डै ४८ घण्टापछि बु्रकलिनको अस्पतालमा भेटिनुभएको छ । शनिबार मध्यान्ह १२ बजेतिर घरबाट केहीबेर हिडडुलका लागि निस्केपनि दिउसोसम्म नफर्केपछि खोजी सुरु गरिएको थियो ।

आजविहान ९ बजेतिर खोजीमा संलग्न प्रहरी अधिकारीले आफूहरुलाई आमा अस्पतालमा भेटिएको जानकारी दिएको र अस्पतालमा फोन गरेर बुझ्दा डाक्टरले हिजो अस्पतालमा ल्याइएको जानकारी दिएको उहाँकी छोरी पुष्पा केसीले खसोखासलाई जानकारी दिनुभयो । आमाको खोजीका लागि सहयोग गरिदिने नेपाली समुदाय, न्युयोर्क प्रहरी लगायत सबैलाई छोरी पुष्पा केसीले धन्यवाद दिनुभएको छ ।

पुष्पा केसीले भन्नुभयो – ‘आमासँग फोनमा कुराकानी भयो । स्थीति सामान्य रहेको र कुनै चोटपटक नलागेको बताउनुभयो । आमाले आफू कसरी अस्पताल आइपुगें भन्ने केही थाहा नपाएको बताउनुभयो । अहिलेसम्म हामीलाई भने आमासँग भेट्न दिइएको छैन ।’

लक्ष्मी केसी शनिबार मध्यान्ह १२ बजेतिर घरबाट केहीबेर हिडडुलका लागि निस्केपनि दिउसोसम्म नफर्केपछि खोजी सुरु गरिएको थियो । आइतबार दिनभर खोजी गर्दा पनि केही पत्ता लागेको थिएन ।

छोरी पुष्पा केसीले भन्नुभयो – ‘सधै खाना खाएर केहीबेर हिडडुलका लागि निस्कनुहुन्थ्यो । एकदुईघण्टा हिडेर घर फर्कनुहुन्थ्यो । तर दिउसो तीनचार बजेसम्म पनि नफर्केपछि हामीले उहाँको खोजी सुरु गरेका थियौं ।’

झण्डै तीनमहिना अगाडि अमेरिका आउनुभएकी लक्ष्मी केसीसँग मोबाइल फोन पनि थिएन भने उहाँलाई घरका कसैको नम्बर पनि याद थिएन । उहाँको खोजीका लागि परिवारले तत्कालै प्रहरी लगायत सम्बन्धित निकायमा खबर गरेको थियो ।

उहाँ हिडडुलका लागि जानसक्ने सम्भावित क्षेत्रहरु लगायत पार्कहरुमा समेत खोजी गरिएको थियो । तर उहाँ कसरी अस्पताल पुग्नुभयो भन्नेबारे अहिलेसम्म केही जानकारी प्राप्त भएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com