गण्डकी र सुदूरपश्चिममा नयाँ प्रमुख नियुक्त, लुम्बिनीमा पुनः मन्त्रिपरिषद् विस्तार


प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी सोमबारै नयाँ नियुक्ति गरेकी छन्। भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उनीहरुलाई सोमबार नै शपथ गराइन्। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।

यस्तै, लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ । मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराए। सात सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित नेकपा९एमाले०का तीन र जनता समाजवादी पार्टीका राज्यमन्त्रीसहित चार जना सहभागी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com