रेष्टुरेण्ट लगायतलाई २८ बिलियन फण्ड, शुक्रबारदेखि दर्ता, १० मिलियनसम्म पाउने, तिर्न नपर्ने


प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार

अमेरिकी सरकारको एसबीएले रेष्टुरेण्टहरुका लागि छुट्याएको २८ दशमलव ६ बिलियन डलर फण्डका लागि शुक्रबारदेखि आवेदन दिन सकिने भएको छ । रेष्टुरेण्ट पुनरुद्धार फण्ड नामको यो रकम १ दशमलव ९ ट्रिलियन डलरकै राहत प्याकेजमा समेटिएपनि एसबीएले आवेदन लिन सुरु गरेको भने थिएन ।

कोरोना महामारीका कारण रेष्टुरेण्ट उद्योग सबैभन्दा नराम्ररी प्रभावित भएको थियो । जसका कारण न्युयोर्क लगायत अमेरिका भर रहेका कैयन नेपाली रेष्टुरेण्टहरु पनि अस्थायीरुपमा बन्द गर्नुपरेको थियो भने केही रेष्टुरेण्टहरु स्थायी रुपमा नै बन्द भइसकेका छन् ।

रेष्टुरेण्ट, फुड ट्रक, फुड कार्ट, फुड स्ट्याण्ड, बार, शैलुन, लाउन्ज, स्न्याक र नन अल्कोहोलिक बार, बेकरी, बु्रअरी, वाइनरी, इन्स लगायतका विजनेशहरु यो ग्राण्टका लागि योग्य हुनेछन् ।

रेष्टुरेण्टहरुले आगामी शुक्रबार विहान न्युयोर्क समय ९ बजेदेखि दर्ता गराउनसक्ने भएका छन् भने एसबीएले मे ३ सोमबार अपरान्हदेखि आवेदन स्वीकार गर्न सुरु गर्ने जनाएको छ । यो फण्ड अन्तरगत एउटा विजनेशले १० मिलियन डलरसम्म प्राप्त गर्नसक्नेछन् । तर एउटा लोकेशनका लागि भने अधिकतम ५ मिलियन डलरसम्म प्रदान गरिनेछ । न्यूनमत १ हजार डलरसम्म प्रदान गरिनेछ ।

खर्च गर्न पाइने योग्य खर्चहरुमा सन् २०२३ को मार्च ११ सम्म रकम प्रयोग गरेको खण्डमा उक्त रकम फिर्ता गर्नु नपर्ने वा तिर्नु नपर्ने एसबीएले जनाएको छ । यो फण्डका लागि विजनेश ट्याक्स रिटर्न, बैंक स्टेटमेन्ट , नाफा घाटाको विवरण लगायतका कागजातसहित आवेदन एसबीएमार्फत नै दिन सकिनेछ ।

मे ३ देखि २१ दिनसम्म महिला, भेटेरान, सामाजिक र आर्थिक रुपमा वञ्चित लगायतका आवेदनलाई प्राथमिकता दिइने भएको छ भने त्यसपछि सबैका लागि आवेदन खुला हुनेछ ।

सन् २०१९ को जनवरी १ वा त्यो भन्दा अगाडिदेखि नै संचालिन विजनेशहरुका सन्दर्भमा सन् २०१९ को कुल आम्दानीमा सन् २०२० को कुल आम्दानी घटाएर त्यसमा पीपीपी अन्तरगतको रकम घटाइनेछ । र बाँकी रकम फण्डका रुपमा दिइनेछ ।

उदाहरणका लागि सन् २०१९ मा कुल आम्दानी एकलाख डलर गरेको विजनेशले सन् २०२० मा कुल आम्दानी ३० हजार डलर गरेको छ भने सन् २०१९ को कुल आम्दानीबाट २०२० को कुल आम्दानी घटाउँदा ७० हजार डलर हुनेछ । पीपीपीबाट ५ हजार डलर पाएको छ भने उक्त रकम पनि घटाउँदा ६५ हजार डलर हुनेछ । र विजनेशले त्यही ६५ हजार डलर फण्डबापत प्राप्त गर्नेछ ।

सन् २०१९ मा आंशिक रुपमा संचालित विजनेशका सन्दर्भमा औषत मासिक आम्दानीलाई १२ ले गुणा गरेर आउने रकममा सन् २०२० को कुल आम्दानी घटाएर त्यसमा पीपीपी अन्तरगतको रकम घटाइनेछ । र बाँकी रकम फण्डका रुपमा दिइनेछ ।

उदाहरणका लागि सन् २०१९ को नोभेम्बरबाट संचालित विजनेशले २ महिनामा २० हजार डलर आम्दानी गरेको छ भने उक्त विजनेशको औषत मासिक आम्दानी १० हजार डलर हिसाब गरेर २०१९ को बार्षिक आम्दानी १ लाख २० हजार डलर कायम गरिनेछ । त्यसमा सन् २०२० को कुल आम्दानी घटाइनेछ । यदि सन् २०२० को कुल आम्दानी ३० हजार डलर गरेको छ भने सन् २०१९ को कुल आम्दानीबाट २०२० को कुल आम्दानी घटाउँदा ९० हजार डलर हुनेछ । त्यसमा पीपीपीबाट पाएको रकम घटाएर बाँकी रकम फण्डका रुपमा प्राप्त हुनेछ ।

सन् २०२० को जनवरी १ देखि सन् २०२१ को मार्च १० भित्र सुरु भएका विजनेशका सन्दर्भमा भने फरक शुत्र अपनाइनेछ । यस्ता विजनेशहरुका सन्दर्भमा सन् २०२० को फेबु्रअरी १५ देखि सन् २०२१ को मार्च ११ सम्म विजनेशले गरेको खर्चमा २०२० को कुल आम्दानी घटाइनेछ । त्यसमा २०२१ को जनवरीदेखि मार्च ११ सम्मको कुल आम्दानीपनि घटाइनेछ । र पीपीपी ऋणबाट पाएको रकम पनि घटाएर बाँकी रकम फण्डका रुपमा उपलब्ध गराइनेछ ।

यसरी प्राप्त गरेको रकम विजनेश पेरोल, विजनेशको मोर्गेज तिर्न, भाडा तिर्न, विजनेशको ऋणको ब्याज तिर्न, युटिलिटी रकम तिर्न, मर्मतका लागि, रेष्टेरेण्टहरुमा आउटडोर बस्ने निर्माण गर्न, संरक्षण उपकरण र सरसफाइका सामान खरिदमा, विजनेशको खाना र पेय पदार्थ खर्चमा र विजनेश संचालनमा खर्च गर्न सकिनेछ ।

आवेदन एसबीएबाहेक स्क्यावर, टोस्ट, क्लोभर, एनसीआर कर्पोरेशनमार्फत पनि दिन सकिनेछ । एसबीएमार्फत आवेदन दिनेले आफ्नो विजनेशको आवेदन अगाडि नै दर्ता गराउनका लागि यहाँ क्लीक गर्नुहोला ।

तर तेश्रो पार्टीबाट आवेदन दिनेहरुले यहाँ दर्ता गराउनु पर्दैन ।

आवेदनको नुमना हेर्न र आवेदनका लागि तयारी गर्न यहाँ क्लीक गर्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com