अन्य स्वास्थ्य समस्या नभएका कोरोना संक्रमितमा अक्सिजनको मात्रा ९३ भन्दा कम असामान्य


प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार

कोरोना संक्रमण भएका बिरामीको शरीरमा अक्सिजनको तह कम भएको खण्डमा अनिवार्य अस्पतालमा भर्ना हुन चिकित्सकहरुले सुझाव दिएका छन् । अक्सिजनको तह कम भएको खण्डमा त्यस्ता बिरामीहरुलाई अक्सिजन दिनुपर्ने हुनसक्ने भएकाले अस्पतालमा भर्ना हुन सुझाव दिइएको हो ।

कुनै पनि स्वास्थ्य समस्या नभएका मान्छेमा कोरोनाभाइरस सङ्क्रमण देखिएको अवस्थामा अक्सिजनको मात्रा घटेर ९२ वा त्यो भन्दा कम भए अस्पताल जान र उपचार गराउन सङ्क्रामक रोग विशेषज्ञ डाक्टर अनूप सुवेदीले सुझाव दिएका छन् । बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले सामान्य अवस्थामा अक्सिजन ९५देखि ९६ भएको व्यक्तिमा ९३ तिर देखियो वा घट्न थालेको सङ्केत देखियो भने चारदेखि पाँच घण्टामा नाप्नुपर्ने सुझाव दिएका छन् ।

सामान्यतया कोरोनाभाइरसको लक्षण सुरु भएको करिब एक सातापछि मात्रै अक्सिजनको तह कम हुँदै जाने चिकित्सकको भनाई छ । तर
कहिलेबाट लक्षण सुरु भएको हो भन्ने कुरा थाहा पाएको अवस्थामा हरेक दिन वा छिन छिनमा अक्सिजन नापिरहनु नपर्ने उनको भनाइ छ।

सामान्यतया पल्स अक्सिमिटर भन्ने उपकरणले अक्सिजन नाप्दा तह ९५ देखि ९६ हुन्छ। तर समुद्री सतहबाट काठमाण्डूको उचाइ बढी भएकाले अक्सिजनको तह ९६/९७ भन्दा प्रायः बढी नहुने अनुभव रहेको छ ।

तर धेरै मोटा मान्छेहरू अथवा फोक्सोको, दमको रोग भएका मान्छेहरूमा पहिले नै अक्सिजनको मात्रा पल्स अक्सिमिटरले कम देखाउन सक्छ। उहाँहरूका लागि सामान्य अङ्कनै ९२/९३ हुन सक्छ। कसैको ९० मात्र पनि हुन सक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com