गायनमा सकृय बन्दै न्युयोर्क निवासी उर्मिला, एकबर्षभित्रै चौथो गीत -‘माया बैगुनी’


प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार

१३ बर्षपछि  गायन यात्रामा फर्किएकी न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादे यतिबेला नेपाली गीतसंगीतमा सकृय भएकी छिन् । एकबर्षको अवधिमा उनको चौथो गीत पनि भिडियोसहित सार्वजनिक भएको छ ।

माया बैगुनी क्यारम नभै नहुनी बोलको यो गीतमा उर्मिला आफैले अभिनय समेत गरेकी छिन् भने चर्चित कलाकार दिलिप रायमाझीले उनलाई साथ दिएका छन् । उर्मिलाको स्वर रहेको गीतमा संगीत र शब्द वसन्त सापकोटाको रहेको छ । विक्की पुलामीको निर्देशन रहेको भिडियो प्रज्ववल पन्तले खिचेका हुन् ।

गीतमा सुदिप सागरको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र विष्णु खड्काको सम्पादन रहेको छ । नमस्ते मिडिया इन्कको प्रस्तुती रहेको यो गीतको म्युजिक भिडियो अमेरिकामा नै छायांकन गरिएको हो भने बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

उर्मिला लाम्गादे को यस अगाडि चर्चित गायक यम बरालसँगको गीत ताजाताजा भिडियोसहित सार्वजनिक भएको थियो । भिडियोमा कलाकारहरु नाजिर हुसेन र उषा उप्रेतीको अभिनय तथा नृत्य रहेको थियो ।

गत सेप्टेम्बरमा पनि उनको लिन आउँछु भन्थ्यौ भन्ने बोलको गीत बुढा सुव्वा डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको थियो । गीतमा कलाकार पूजा शर्मा र राज कटुवालको अभिनय रहेको थियो । त्यसअगाडि जातीय विभेद विरुद्ध सचेतना जगाउने गीत समान सबै जात हजुरु सहित उर्मिला गायनयात्रामा फर्किएकी थिइन् ।

रुकुम पश्चिममा नवराज विक सहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको अवस्थामा आन्दोलन र धर्ना जारी रहँदा काठमाडौँको नयाँ वानेश्वरमा आयोजित धर्ना कार्यक्रममा गीत सार्वजनिक गरिएको थियो । दीपेन्द्र रसाइलीको शब्द र संगित रहेको गीतमा स्वयं रसाइली र उर्मिला लाम्गादेको स्वर रहेको थियो ।

उर्मिलाको आगमन

उर्मिला लाम्गादेको झण्डै १३ बर्ष अगाडि एउटा भजन रेकर्ड भएको थियो । उक्त भजन भिडियोसहित रिलिज भएको थियो । त्यसपछि उनको कुनै पनि गीत रेकर्ड भएन । गीत निकाल्ने इच्छा भएपनि समयले साथ नदिएका कारण सम्भव नभएको बताउँछिन् उनी ।

हेटौंडा रातामाटेमा जन्मिएकी उनी बच्चैदेखि अभिनयमा रुची राख्थिन् । तर उक्त शौख पूरा गरिदियो टेलिचलचित्र दलनले । जातीय विभेदबिरुद्धको उक्त टेलिचलचित्र झण्डै १० बर्षअगाडि रिलिज भएको थियो ।

उर्मिला लाम्गादे

दलनमा उनले दलितभित्रको पनि अन्तरजातीय जोडीका रुपमा अभिनय गरेकी छिन् । दलनमा नैना नामको पात्रको अभिनय गरेकी उनी म्युजिक भिडियोमा समेत देखिएकी थिइन् । त्यस्तै टेलिभिजनका केही चेतनामुलक विज्ञापनहरुमा पनि अभिनय गरिन् । स्वास्थ्य मन्त्रालयले निर्माण गरेको उक्त विज्ञापन नेपाल टेलिभिजनबाट खुब बज्यो ।

अभिनयमा रुची भएपनि सन् २०११ मा उनी अमेरिका आएकाले अभिनययात्रालाई अगाडि बढाउन सकिनन् । अब बच्चाहरु पनि हुर्किसकेकाले गायनयात्रालाई अगाडि बढाउनमा सहज वातावरण भएको उनी बताउँछिन् ।

विभिन्न कार्यक्रममा गाउने र बच्चैदेखि गाउने भएपनि गायनयात्रामा अगाडि बढ्नमा विभिन्न कुराले पछि परेको बताउँछिन् उनी । उनले बुबालाई बच्चैमा गुमाउनुपरेको थियो । झण्डै १६ बर्ष अगाडि आमालाई पनि गुमाउनुपर्यो ।

उनले हिन्दु भजनबाट गायनयात्रा सुरु गरेकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com