न्युयोर्क सिटी काउन्सिलमा नेपाली मुलका केसीको चुनावी अभियान तीब्र, १ लाख ८६ हजार डलर फण्डरेज


प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार

– किशोर पन्थी

न्युयोर्क सिटी काउन्सिलमा पहिलो तथा एकमात्र नेपाली मुलका उम्मेदबार नवराव केसीको चुनावी अभियान तीब्र बनेको छ । न्युयोर्क सिटी काउन्सिल सदस्यमा डेमोक्रेटिक प्राइमरीका उम्मेदबार नवराज केसीले म्याच फण्डसहित १ लाख ८६ हजार डलर बढी डोनेशन प्राप्त गरिसकेका छन् । नवराज केसी न्युयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली अमेरिकन हुन् ।

न्युयोर्क सिटीको डिस्ट्रिक्ट १९ बाट उम्मेदबारी दिएका  केसीलाई ३८२ जनाले डोनेशन गरेका छन् भने झण्डै डेढ लाख डलर खर्च गर्न बाँकी रहेको छ । जस अन्तरगत उनले चुनावी अभियानका लागि अधिकांश डोनेशन न्युयोर्क सिटीभित्रैबाट प्राप्त गरेका छन् । डिस्ट्रिक १९ बाट प्राप्त हुनुपर्ने डोनेशनको थ्रेसहोल्ड पनि उनले गत जनवरीमै पूरा गरेका थिए ।

२७ हजार ४ सय ६६ डलर निजी फण्डबाट डोनेशन प्राप्त गरेकोमा अधिकांश रकम अर्थात् २३ हजार ९ सय ६३ डलर न्युयोर्क सिटीभित्रबाटै र ३ हजार ४ सय ८१ डलर न्युयोर्क सिटीबाहिरबाट प्राप्त गरेका थिए ।

आगामी जुन २२ मा हुने प्राइमरी निर्वाचनमा विजयी भएको खण्डमा उनले नोभेम्बर ३ मा हुने अन्तिम चुनावमा प्रतिस्पर्धा गर्न पाउनेछन् । जुन २२ मा हुने डेमोक्रेटिक प्राइमरीका लागि केसीसहित ५ जना चुनावी मैदानमा रहेका छन् । उक्त पदमा रहेका वर्तमान सदस्य तेश्रो कार्यकालका लागि लड्न नपाउने भएकाले सबैजना नयाँ उम्मेदबारहरु हुन् ।

जसमा सबैभन्दा चर्चित टोनी अभेला छन् । जो सन् २००२ देखि सन् २००९ सम्म राज्यसंसदमा सिनेटर हुनु अगाडि सिटी काउन्सिलमा रहेका थिए । अभेला अल्बानीमा विवादास्पद स्वतन्त्र डेमोक्रेटिक कन्फ्रेन्सका सदस्य समेत थिए । सन् २००९ मा उनी न्युयोर्क सिटी मेयरका लागि उम्मेदबार बनेपनि प्राइमरीमा पराजित भए ।

हालै अन्तरिम क्वीन्स बोरो प्रेसिडेण्ट श्यारोन लीका बजेट अधिकारी समेत रहेका अर्का उम्मेदबार रिचार्ड लीसँग चुनावका लागि सबैभन्दा धेरै फण्ड संकलन भएको छ ।

लामो समयदेखि राजनीतिक सहयोगी हुँदै जनसम्पर्क कार्यकारी बनेका अष्टिन स्याफ्रोन र शैक्षिक नेता बनेकी रिटायर्ड न्युयोर्क सिटी प्रहरी अधिकारी एड्रिना एभाइल्सपनि मैदानमा छन् । भिक्की पालाडिनो उक्त डिस्ट्रिक्टमा रिपब्लिकन उम्मेदबार हुन् । अहिले पाउल भ्यालोन पदमा रहेको उक्त डिस्ट्रिक्ट १९ मा क्वीन्सको अउबर्नडेल, बे टेरेस, बेसाइड, बीचहस्र्ट, कलेज प्वाइन्ट, डग्लसटन, फ्लसिंग, लिटल नेक, माल्वा र ह्वाइटस्टोन लगायतका क्षेत्र पर्छन् ।

न्युयोर्कको राजनीतिमा अहिलेसम्म नेपाली मूलका आप्रवासीहरु अगाडि नबढेको अवस्थामा आफ्नो उम्मेदबारीले अन्य अल्पसंख्यक समुदायका आप्रवासीहरुलाई पनि राजनीतिमा अगाडि बढ्नका लागि प्रेरणा मिल्ने उनको विश्वास छ । उनी भन्छन् -‘न्युयोर्कको क्वीन्स आफैमा आप्रवासीको घर भएकाले म आफूलाई उपयुक्त उम्मेदबार ठान्छु । र म एकदमै उत्साहित छु ।’

न्युयोर्कको क्वीन्स नेपालीहरुको समेत मिनि नेपाल हो । आफूलाई नेपाली समुदायको पनि राम्रो समर्थन भएको बताउँछन् नवराज । उनको चुनावी अभियानलाई सहयोग गर्न डोनेशन प्रदान गरेकामध्ये आधा नेपाली आप्रवासीहरु रहेको उनले बताए ।

केसीले समुदायबाट प्राप्त डोनेशन समुदायमै खर्च गर्ने योजना बनाएका छन् । प्रचारप्रसारका लागि स्थानीय र सामुदायिक संचारमाध्यमहरुलाई नै रोज्ने उनको भनाई छ । साथै फ्लायर लगायतका प्रचार सामाग्रीहरु पनि बाहिरबाट अर्डर नगरेर स्थानीय प्रेसहरुमा नै छाप्ने उनले बताए । चुनाव प्रचारका सन्दर्भमा सबै अर्डर स्थानीय व्यवसायहरुलाई नै दिने उनको भनाई छ ।

उनी भन्छन् -‘हामीले समुदायमा रहेका स्थानीय व्यवसायलाई नै सहयोग गर्नुपर्छ । स्थानीय समुदायबाट डोनेशन लिएर सस्तोको लागि बाहिरबाट अर्डर गर्नु ठीक होइन । हामीले व्यहारमै समुदायको हितको लागि काम गर्नुपर्छ ।’

उनले आफ्नो चुनावी एजेण्डामा समेत साना व्यवसायको शशक्तिकरण र समर्थनलाई प्राथमिकता दिएका छन् । चुनावमा उम्मेदबार हुनु अगाडि आफ्नो व्यक्तिगत कारमा ग्यास हाल्न समेत स्थानीय ग्यास स्टेशनहरुमा नै जाने गरेको उनले बताए । उनी भन्छन् -‘साना चिजहरुले पनि फरक पार्छ । हामीले साना व्यवसायहरुलाई खुला राख्नका लागि हरतरहले सहयोग गर्नुपर्छ ।’

आफूले डेमोक्रेटिक प्राइमरीमात्र होइन, नोभेम्बरको चुनाव समेत जित्ने केसीको विश्वास छ ।  उनी भन्छन् -‘जीत हार ठूलो कुरा होइन, न्युयोर्क सिटीको राजनीतिमा नेपाली जस्ता अल्पसंख्यक आप्रवासीहरुको सहभागिता ठूलो कुरा हो ।’

चुनावमा एकएक भोटको महत्व हुने भएकाले अल्पसंख्यक समुदायको भोट निर्णायक हुने उनको भनाई छ । त्यसैले उनले मतदानमा सहभागी भएर राजनीतिक अधिकारको प्रयोग गर्नबाट नहिचकिचाउन अल्पसंख्यक समुदायलाई आग्रह गरेका छन् ।

न्युयोर्कको क्वीन्स कलेज प्वाइन्टमा श्रीमति र दुई सन्तानसहित बस्दै आएका नवराज केसी नेपाली अमेरिकन विजनेशम्यान र रियल्टर समेत हुन् । उनले अमेरिकन राजनीति र राजनीतिज्ञसँग अमेरिकामा रहेको नेपाली समुदायलाई जोड्ने काम समेत गरिरहेका छन् ।

कोरोना महामारीमा उनको पहलमा क्वीन्स बोरो, बु्रकलिन बोरो र न्युयोर्क सिटी मेयर अफिसबाट नेपाली समुदायका लागि १० औं हजार मास्क,  ह्याण्ड सेनिटाइजर, ग्लोभ्स प्राप्त भएको थियो । विभिन्न संघसंस्था र व्यक्तिमार्फत ती सामाग्रीहरु न्युयोर्कको नेपाली समुदायलाई वितरण गरिएको थियो ।

न्युयोर्कमा मास्क, सेनिटाइजर र ग्लोभ्सको हाहाकार भएको बेलामा यति धेरैमा मात्रामा प्राप्त सहयोगले नेपाली समुदायलाई ठूलो राहत मिलेको थियो । त्यो बाहेक अहिले पनि उनी न्युयोर्कका विभिन्न क्षेत्रमा खाद्यान्न वितरणमा सकृय रहदै आएका छन् ।

महामारीको बेलामा केसीले क्वीन्स बोरो, बु्रकलिन बोरो र न्युयोर्क सिटी मेयर अफिसबाट सहयोग प्राप्त गर्नका लागि सेतुको काममात्र गरेनन्, छुट्टै पहलमा थर्मामिटर र औषधीहरु किनेर नेपाली समुदायलाई वितरण समेत गरे । रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका तत्कालिन अध्यक्ष समेत रहेका केसीको नेतृत्वमा क्लबका तर्फबाट थर्मामिटर र ज्वरोको औषधी टायलोनोल नेपालीहरुलाई वितरण गरिएको थियो ।

केसी सन् २०१९ देखि सन् २०२० को जुनसम्म रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका अध्यक्ष रहेका थिए । हाल उनी रोटरी इन्टरनेशनलको डिस्ट्रिक्ट ७२५५ मा एसिस्टेन्स गभर्नर रहेका छन् ।

सन् २००२ मा अमेरिका आएका धादिङका केसीले अमेरिकाको स्थानीय राजनीतिमा २०१७ देखि चासो राख्न थालेका हुन् । सन् २०१८ मा उनी क्वीन्स बोरो प्रेसिडेन्टबाट कम्युनिटी बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com