बेरोजगारी विमा रकम बढी गएको भन्दै फिर्ता गर्न सन्देश, फिर्ता गर्नु नपर्नेहरुलाई आएपछि अन्यौल


प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार

शुक्रबार दिउसो न्युयोर्क लेबर डिपार्टमेन्टले बेरोजगारी विमा रकम लिइरहेका कैयनलाई सन्देश पठायो, जसमा बढी रकम पठाइएको भन्दै फिर्ता गर्न भनिएको थियो । तर बढी रकम नलिएकाहरुले पनि आफूहरुलाई उक्त सन्देश आएको भन्दै आक्रोश र अन्यौल व्यक्त गरेका छन् ।

न्युयोर्क डिपार्टमेन्ट अफ लेवरका तर्फबाट पठाइएको उक्त सन्देशमा भनिएको छ – ‘न्युयोर्कबासीहरुले उनीहरु योग्य भएको सुविधा रकम प्राप्त गरिरहेको निश्चित गर्नका लागि हाम्रो रेकर्ड पुनरावलोकन गर्दा हामीले तपाईको एकाउन्टमा ओभरपेमेन्ट भएको पत्ता लगाएका छौं । यो डुप्लीकेट पेमेन्ट न्युयोर्कबासीलाई छिटो भन्दा छिटो सुविधा रकम उपलब्ध गराउने क्रममा भएको हो । तर संघीय कानून अनुशार न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले ओभरपेमेन्ट रकम फिर्ता लिन जरुरी हुन्छ ।’

न्युयोर्क डिपार्टमेन्ट अफ लेबरबाट यस्तो सन्देश आएपनि बेरोजगारी विमा रकम लिएका न्युयोर्कबासीहरु आत्तिएका छन् । आफूहरुले बढी रकम पठाइएको सन्देश पाएपनि कुनै बढी रकम नपाएको उनीहरुले बताएका छन् ।

न्युयोर्क डिपार्टमेन्ट अफ लेबरले भने गतबर्षको अप्रिल र मे महिनामा बेरोजगारी विमा रकम लिइरहेकाहरुले सानो रकम डुप्लीकेट पेमेन्टका रुपमा बढी पाएको बताएको छ । यदि कसैले बढी रकम पाएको भएमा थप सुचनासहित पत्र प्राप्त गर्ने डिपार्टमेन्ट अफ लेबरको भनाई छ । पत्रमा आर्थिक समस्याका कारण उक्त रकम मिनाहा वा छुटका लागि कसरी अनुरोध गर्ने भन्ने तरिका समेत उपलब्ध हुनेछ ।

यदि उक्त रकममा छुटको अनुरोध गर्न चाहेको खण्डमा डकुसाइनमार्फत इमेल फर्म प्राप्त हुने जनाइएको छ । उक्त फर्म भरेर छुटको अनुरोध गर्न सकिनेछ । यदि डकुसाइनमा फर्म प्राप्त नभएमा अप्रिल २३ देखि लागु हुनेगरी छुटका लागि वेभर आवेदन अनलाइनबाटै दिन सकिने जनाइएको छ ।

समयमै छुटका लागि दिइएका आवेदनका सन्दर्भमा न्युयोर्क डिपार्टमेन्ट अफ लेबरले ३० दिनपछि पेमेन्ट रिकभर गर्न सुरु गर्ने जनाइएको छ । तर बढी तिरिएको रकम रिकभर नहुँदासम्म सबै बेरोजगारी सुविधा रकम २० प्रतिशतले घटाइने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरको भनाई छ ।

कतिपयले अप्रिल महिनामा ६ सय डलर अतिरिक्त रकम पाएका थिए । उक्त रकम पाएकाहरुले त्यो रकम फिर्ता गर्न वा छुटका लागि आग्रह गर्नसक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com