न्युयोर्कमा कागजपत्रविहिन कामदार १५ हजार ६ सयसम्म पाउन योग्य, यसरी जुटाउनुहोस् कागजात


प्रकाशित मिति : चैत्र २८, २०७७ शनिबार

न्युयोर्कमा कागजपत्रविहिन कामदारहरु समेत महामारी सहायता रकमका लागि योग्य भएका छन् । त्यसका लागि राज्यको बजेटमा २ दशमलव १ बिलियन डलर छुट्याइएको छ, जसमा यसैसाताको सुरुमा हस्ताक्षर भइसकेको छ ।

झण्डै ३ लाख कागजपत्रविहिन कामदारहरु यो कार्यक्रम अन्तरगत रकम प्राप्त गर्न योग्य हुनेछन् । उनीहरुले न्युयोर्कमा बसेको र महामारीका कारण आम्दानी गुमाएको प्रमाण पेश गरेको खण्डमा १५ हजार ६ सय डलरसम्म सहायता रकम पाउनसक्नेछन् । विगतमा राज्य वा संघीय सरकारको कुनै पनि सहायताका लागि योग्य नभएकाहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् ।

यो रकमका लागि योग्य हुने हाल न्युयोर्क निवासी हुनुपर्नेछ भने सन् २०२० को मार्च २७ भन्दा अगाडिदेखि न्युयोर्कमा बसोबास गर्दै आएको हुनुपर्नेछ । त्यस्तै सन् २०२० को फेबु्रअरीपछि कोरोनाको महामारीका कारण आशिक वा पूर्णरुपमा आम्दानी गुमाएको हुनुपर्नेछ । जसमा महामारीका कारण काम गर्न नसकेको, कामको घण्टा घटेको वा काम गुमाएको समेत पर्छन् ।

त्यस्तै कोरोनाका कारण घरको आम्दानी गर्ने मूल व्यक्तिको मृत्यु भएको वा काम गर्न नसक्ने अशक्त भएको भएमा पनि यो रकमको लागि योग्य हुनेछ । त्यस्तै गतबर्ष २६ हजार २ सय ८ डलरभन्दा कम आम्दानी गरेको हुनुपर्नेछ ।

न्युयोर्क राज्यमा बसोबास गरेको, सन् २०१८, २०१९ वा सन् २०२० को ट्याक्स रिटर्न देखाउन सकेको वा महामारीको कारण आम्दानी गुमाएको प्रमाण पेश गर्न सकेको खण्डमा १५ हजार ६ सय डलरसम्म पाउन सकिनेछ । यदि ट्याक्स रिटर्न वा आम्दानी गुमाएको प्रमाणित गर्ने कागजात नभएको खण्डमा पनि ३२ सय डलरका लागि योग्य हुन सकिनेछ ।

गतबर्षको मार्चपछि २४ हप्ताका लागि बेरोजगार भएको अनुमान गरेर उनीहरुलाई रकम प्रदान गरिनेछ । यसरी रकम प्रदान गर्दा औषतमा साप्ताहिक ३ सयका दरले रकम प्रदान गरिनेछ ।

कागजात प्रमाणिकरण प्वाइन्ट प्रणालीबाट गरिनेछ । आवासीय स्थीति प्रमाणित गर्न ४ प्वाइन्ट डकुमेन्ट आवश्यक हुन्छ । म्याद नसकिएको ड्राइभर लाइसेन्स वा स्टेट आईडी वा आईडीएनवाईसी कार्ड वा अमेरिकी पासपोर्ट भएको खण्डमा ४ प्वाइन्ट प्राप्त हुन्छ । हालै जेलबाट छुटेका अमेरिकनहरु समेत बेरोजगारी विमाका लागि योग्य नहुने र यो कार्यक्रममा योग्य हुने भएकाले उनीहरुले अमेरिकी पासपोर्टका आधारमा यो रकम पाउन सक्नेछन् ।

४ प्वाइन्ट प्राप्त भएमा दोश्रो चरणमा अगाडि बढ्न सकिनेछ । माथि उल्लेखित कागजात नभएको खण्डमा ४ प्वाइन्ट पुराउनका लागि अन्य कागजात जुटाउनुपर्छ । एक्सपायर नभएको विदेशी पासपोर्टका लागि ३ प्वाइन्ट, न्युयोर्क अफिस अफ मेन्टल हेल्थबाट जारी फोटो आईडीका लागि २ प्वाइन्ट, विवाह प्रमाणपत्र, डिभोर्स डिग्री, विदेशको जन्मदर्ता प्रमाणपत्र, एक्सपायर नभएको न्युयोर्कको पार्कको कार्ड, कन्सुलेट आईडीकार्ड लगायतको विदेशी आईडीकार्ड, डिप्लोमा तथा हाइस्कुल वा कलेजको ट्रान्सक्रिप्टलाई एकएक प्वाइन्ट प्रदान गरिनेछ ।

मार्च २७, २०२० भन्दा अगाडि न्युयोर्कमा बसेको प्रमाणित गर्नका लागि म्याद नसकिएको ड्राइभर लाइसेन्स वा स्टेट आईडी वा आईडीएनवाईसी कार्ड देखाउन सकिनेछ । यदि ती कागजात नभएको खण्डमा मार्च २७, २०२० भन्दा अगाडिको युटिलिटी बिल, बैंक वा क्रेडिट कार्ड स्टेटमेन्ट, लिज, मोर्गेज स्टेटमेन्ट वा सम्पत्ति ट्याक्स स्टेटमेन्ट, न्युयोर्क सिटी हाउजिंग अथोरिटीले लेखेको पत्र, होमलेस सेल्टरले लेखेको पत्र, होमलेस सेवा प्रदान गरेको गैर नाफामुलक संस्थाले लेखेको पत्र लगायतका कुनै दुईपवटा प्रमाण पेश गर्नुपर्नेछ ।

सन् २०१८, २०१९ वा २०२० मा ट्याक्स फाइल नगरेकाहरुले काम गरेको अवधि उल्लेख भएको र काम छाडेको कारणसहितको रोजगारदाताको पत्र वा महामारी सहायता रकम प्राप्त गर्ने कम्तीमा ६ हप्ताको पे स्टबको प्रमाण वा आम्दानी देखाउने डब्लु टु वा १०९९ को प्रमाण देखाउनुपर्नेछ । कुनै पनि प्रमाण देखाउन नसक्नेहरु पूरै रकमका लागि योग्य नभएपनि ३२ सय डलरका लागि योग्य हुनेछन् । आवेदन कसरी, कहाँ र कहिले दिने भन्नेबारे न्युयोर्क राज्यले छिट्टै घोषणा गर्नेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com