‘अप्रिल १९ बाट सबै बयस्क भ्याक्सिनका लागि योग्य, तर मुलुक खतरामुक्त छैन’ : बाइडेन


प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिल १९ बाट अमेरिकामा सबै बयस्कहरु भ्याक्सिनका लागि योग्य हुने घोषणा गरेका छन् । मे १ को पुराना डेडलाइनलाई आज बाइडेनले विशेष घोषणामार्फत अगाडि सारेका हुन् । तर बाइडेनले अमेरिकनहरुलाई मुलुक अझै खतराबाट मुक्त भने नरहेको चेतावनी दिएका छन् ।

‘हामी अझै फिनिस लाइनमा आइपुगेका छैनौं । हामीलाई अझै धेरै काम गर्नुछ । हामी अझै यो भाइरसबिरुद्ध जीवन र मृत्युको दौडमा छौं ।’ – बाइडेनले ह्वाइट हाउसमा भने । कोरोनाको नयाँ प्रकार एकदम छिटो फैलिरहेको र संक्रमणहरु बढिरहेको पनि बाइडेनले बताए । अस्पताल भर्ना हुने दर पनि नघटेको उनले बताए । महामारी अझै खतरापूर्ण नै रहेको भन्दै उनले अमेरिकनहरुलाई हात धुन, सामाजिक दुरी कायम गर्न र मास्क लगाउन प्रोत्साहित गरे ।

बाइडेनले आफ्नो पहिलो एकसयदिनमा दुईसय मिलियन शट भ्याक्सिन लगाउने लक्ष्यमा आफ्नो प्रशासन तालिकामा नै रहेको बताए । उनले मंगलको घोषणामा अप्रिल १९ बाट सबै योग्य भएपछि भ्याक्सिनको वितरण र पहुचमा बृद्धि हुने आशा समेत व्यक्त गरे । बाइडेनको घोषणासँगै केही राज्यहरुले मे १ को डेडलाइनलाई अप्रिल १९ मा सारिसकेका छन् ।

भर्जिनियामा रहेको भ्याक्सिन वितरण केन्द्रको भ्रमण

भर्जिनियामा रहेको भ्याक्सिन वितरण केन्द्रको भ्रमणपछि बाइडेनले आजको घोषणा गरेका हुन् । उनले भ्याक्सिन वितरणमा सहभागी सबैलाई र भ्याक्सिन लगाउन आउनेहरुलाई समेत धन्यवाद दिएका थिए । बाइडेनले अरु देशमा देखिएपछि अमेरिकामा पनि देखिएका कोरोनाको नयाँ प्रकारबाट नआत्तिन सान्त्वना दिदै नयाँ प्रकार खतरनाक भएपनि भ्याक्सिनले ती सबै प्रकारबिरुद्ध काम गर्ने बताए ।

आफूले जनवरी २० मा कार्यभार सम्हालेदेखि १५० मिलियन भ्याक्सिन मान्छेका पाखुरामा पुगिसकेको बताए । अब ५० मिलियन शत पाखुरामा पुगेपछि एकसय दिनमा २ सय मिलियन शट वितरणको बाइडेनको लक्ष्य पूरा हुनेछ । सुरुमा भने एकसयदिनमा एकसय मिलियन शट वितरणको लक्ष्य लिइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com