संसदमा राजतन्त्रको चर्चा : राप्रपा सांसद लिङ्देनले भने-राजतन्त्र फर्काउन नयाँ सम्झौता गर्नुपर्छ


प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार

प्रतिनिधिसभाको सोमबारको बैठकमा राजतन्त्र फर्काउने विषयले स्थान पाएको छ। बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राजतन्त्र फर्काउन नयाँ सम्झौता गर्नुपर्ने बताएका हुन्।

सांसद लिङ्देनले अहिलेको शासन व्यवस्था असफल भइसकेको भन्दै २०६२/६३ को जनआन्दोलनपछि हटाइएको राजतन्त्र फर्काउन नयाँ सम्झौता गर्नुपर्ने बताएका हुन्। मुलुक अब राजसंस्थासहितको शासन प्रणालीमा जानुपर्ने लिङ्देनको जोड थियो।

‘हामी कहाँ जाने भनेर हिँडेका कहाँ पुग्यौँ? काठमाडौंबाट काँकडभिट्टा हिँडेको नारायणगढबाट उल्टो हिँड्यौँ। हामीले भनेको सुनेनन्, हाम्रो आवाज सानो भयो। तर बुटवल पुगेपछि उल्टो हिँडेको थाहा भयो। आज प्रमाणित भयो हामीले अंगिकार गरेको प्रणाली गलत भयो। अहिलेको अवस्था र व्यवस्थामा सरकार परिवर्तन या नयाँ निर्वाचन जुन बाटो अवलम्बन गरे पनि यो अस्थिरताको अन्त्य गर्न सकिन्‍न। यही अस्थिरता भ्रष्टाचार र वैदेशिक हस्तक्षेपले निरन्तरता पाउँछ,’ लिङ्देनले भने।

वर्तमान शासन प्रणालीले भ्रष्टाचार अनियमिताको जग बसाउने मात्र काम गरेको उल्लेख गर्दै लिङ्देनले भने, ‘यसबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने अवस्था आएको छ।’

उनले जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाउनु पर्ने विचार पनि व्यक्त गरे।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com