अमेरिकामा २४ घण्टाभित्र ४ मिलियन बढीलाई भ्याक्सिन, अहिलेसम्म १६२ मिलियन डोज वितरण


प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार

अमेरिकामा भ्याक्सिन वितरणमा नयाँ रेकर्ड कायम भएको छ । २४ घण्टाभित्र ४ मिलियन भन्दा बढीलाई भ्याक्सिन वितरण गरिएको सीडीसीले शनिबार जनाएको छ, एकदिनमा यति धेरैलाई भ्याक्सिन लगाइएको यो पहिलोपटक हो । अहिलेसम्म भने अमेरिकामा १६२ मिलियन डोज भ्याक्सिन वितरण गरिएको छ ।

अप्रिलभरमा २ सय मिलियनलाई भ्याक्सिन लगाउने बाइडेन प्रशासनको योजना रहेकोमा अहिलेसम्म १०४ मिलियनले भ्याक्सिन पाइसकेका छन् । दुबै डोज भ्याक्सिन लगाउनेको संख्या झण्डै ६० मिलियन रहेको छ । अमेरिकामा अहिलेसम्म कुल जनसंख्याको ३१ दशमलव ४ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।

सीडीसीका अनुशार अहिलेसम्म २०७ मिलियन डोज भ्याक्सिन डेलिभर भइसकेको छ । अमेरिकाको कुल जनसंख्याको १८ बर्षदेखि माथिको ४० प्रतिशत जनसंख्याले भ्याक्सिन लगाइसकेको छ भने ६५ बर्षमाथिका कुल जनसंख्याको ७५ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् । अमेरिकामा मोडेर्ना र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन १८ बर्षभन्दा माथिकालाई र फाइजर भ्याक्सिन १६ बर्षमाथिकालाई लगाउन स्वीकृति छ ।

न्युयोर्कमा ६४ लाखले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । जुन कुल जनसंख्याको ३२ दशमलव ५ प्रतिशत हो । दुबै डोज लगाउनेहरुपनि झण्डै कुल जनसंख्याको २० प्रतिशत पुगिसकेका छन् । न्युयोर्कसिटीको ब्रोंक्समा ३ लाख ४३ हजारले, क्वीन्समा ७ लाख ९ हजारले, म्यानहटनमा ६ लाख ३२ हजारले र बु्रकलिनमा ६ लाख ४० हजारले कोरोनाबिरुद्धको भ्याक्सिन पाइसकेका छन् ।

अमेरिकाभरमा साप्ताहिक अनुपातमा हेर्दा यो साता औषतमा हरेक दिन ३ मिलियनले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको १०९ दिन भएको छ । अमेरिकामा गतबर्षदेखि अहिलेसम्म कोरोना संक्रमणबाट ५ लाख ५४ हजारको मृत्यु भइसकेको छ भने ३० मिलियन संक्रमित भइसकेका छन् ।

यसैबीच सीडीसीले भ्याक्सिनका पूरै डोज लगाएकाहरु यात्रा गर्दा कोरोना संक्रमणको कम जोखिममा रहेको निर्देशिका सार्वजनिक गरेको छ । सीडीसीले भ्याक्सिनको पछिल्लो डोज लगाएको १४ दिन पुगेकालाई पूर्णरुपमा भ्याक्सिन लगाएको व्यक्तिका रुपमा मान्छ । सीडीसीले अहिलेपनि भ्याक्सिन नलगाएका व्यक्तिलाई सकभर यात्रा नगर्न सुझाव दिएको छ ।

शुक्रबारमात्र विमानस्थलमा टीएसएले १५ लाख ८० हजारको स्क्रीनिङ गरेको छ । महामारीपछि अघिल्लो आइतबार कायम १ लाख ५७ हजारको रेकर्डभन्दापनि यो बढी हो । हरेक दिन एक मिलियन भन्दा धेरैले यात्रा गरेको शुक्रबार २३ औं दिन हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com