पेन्सिलभेनियाबाट बेपत्ता रविन सुवेदी भेटिएनन्, गाडीबाट निस्केर तालमा पसेको भिडियो फुटेज


प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार

अमेरिकाको पेन्सिलभेनियाबाट एकसाता अगाडि बेपत्ता भएका नेपालीभाषी २१ बर्षका युवा रविन सुवेदी अहिलेसम्म फेला परेका छैनन् । उनी चढेको गाडी भने प्रहरीले शुक्रबार राती ११ बजेर ४० मिनेट जाँदा फेला पारेको थियो ।

सीसीटिभी क्यामेरामा रेकर्ड भएको भिडियो फुटेजमा उनी गाडीबाट निस्केर तालमा पसेको देखिएको छ । यद्यपी उक्त भिडियो फुटेज स्पष्ट नभएको जनाइएको छ । ती व्यक्ति रविन भएको आशंकामा पानीभित्र पनि खोजी जारी राखिएको छ । प्रहरीले कोस्ट गार्डको सहयोगमा खोजी कार्य जारी राखेको छ । हेलिकोप्टर र डुंगाबाट पानीमा खोजी गरिएपनि उनको बारेमा केही पत्ता लागेको छैन ।

पेन्सिलभेनियामा बुबाआमासँग बस्दै आएका रविन आफ्नी गर्लफ्रेण्डलाई भेट्न ओहायाको केन्ट जानका लागि हिडेका थिए । उनले शुक्रबार राती ७ बजेर ५१ मिनेटमा आस्ताबुलबाट आफ्नो साथीलाई सम्पर्क गरेको र आफू केहीबेरमा आउने बताएका थिए । उनले आफ्नो मोबाइलमा चार्ज सकिन लागेको र नजिकैको ग्यास स्टेशनमा चार्जर किन्ने बताएका थिए ।

इरी ताल जहाँ डुंगा र हेलिकोप्टरको सहायताले खोजी गरिएको थियो ।

प्रहरी अनुसन्धानबाट उनले चार्जर समेत किनेको भेटिएको छ । तर उनी राती ९ बजेसम्म पनि केन्टमा रहेकी गर्लफ्रेण्डकहाँ नपुगेपछि उनको खोजी सुरु गरिएको थियो । रविनले ओहायोको आस्ताबुलबाट फोन गरेपनि फेरी पेन्सिलभेनियातिरै फर्केको र मरिनामा इरी तालको छेउमा गाडी पार्क गरेको देखिएको छ ।

गाडी पार्क गरेको स्थानमा सीसीटीभी समेत रहेको र प्रहरीले फुटेजहरु हेरेर अनुसन्धान गरिरहेको परिवारलाई जानकारी दिएको छ । ५ फिट ८ इन्च उचाई भएका रविन जे वाईसी ११५ नम्बरको गाडीमा चढेका थिए ।

रविन आफ्ना बुबाआमासँग सन् २००८ मा भद्रपुर झापाबाट भुटानी शरणार्थीका रुपमा अमेरिका आएका थिए । रविन आफ्ना एकजनामात्र छोरा रहेको र आफूसँग बस्दै आएको उनका बुबा देवी सुवेदीले जानकारी दिए । उनले आफ्ना छोराको खोजीका लागि सघाउन सबैलाई अपिल गरेका छन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com