अध्यागमन अदालतमा सुनुवाई मे १४ सम्म स्थगित, नेपालीहरुका ३९८२ केसहरु पेन्डिङ


प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई मे १४  सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले  एक सुचना जारी गरेर मे १४ सम्मका लागि सुनुवाई स्थगन गरिएको हो ।

मे १४ सम्म नियमित सुनुवाई स्थगित गरेकोमा त्यसपछिको सप्ताहन्तका कारण कम्तीमा मे १७  सम्म स्थगित भएको छ ।  न्युयोर्कको भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अध्यामगन अदालतहरु हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा मे १७  सम्म बन्द रहनेछन् ।

यी अदालतहरुमा फाइलिङ र हिराशतमा रहेकाहरुको सुनुवाई भने जारी नै रहेको छ । त्यस्तै न्युयोर्कको ब्रोडवेमा रहेको अध्यागमन अदालत पनि फाइलिङका लागिमात्र खुल्ला रहेको छ ।

अध्यागमन अदालतमा सुनुवाईहरु स्थगित हुँदा सयौं नेपालीहरु प्रभावित भएका छन् । बर्षौदेखि एसाइलमका मुद्दाको सुनुवाई कुरेर बसेका र परिवारसँग पुनर्मिलनको प्रतिक्षामा बसेका नेपालीहरु अदालत बन्द भएका कारण सुनुवाई पछाडि सर्दा मारमा परेका हुन् । कोरोनाको महामारी सुरु भएदेखि नै मार्चदेखि अध्यागमन अदालतहरु प्रभावित हुँदै आएका छन् ।

अध्यागमन अदालतमा हिराशतमा रहेकाहरुबाहेक अन्यको सुनुवाई हुन नसक्दा कैयन नेपालीहरु मारमा परेका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका पेन्डिङ केसहरु अझ बढेका छन् ।

अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका ३९८२ केसहरु पेन्डिङ रहेका छन् । नेपालीका अधिकांश अध्यागमन केसहरु एसाइलमसँग सम्बन्धित रहेका छन् । पेन्डिङ केसहरुमध्ये  २१०७ नेपालीका केसहरु न्युयोर्कका अदालतमा छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com