एकबर्षभित्र अमेरिका आउन नसकेका १५ ग्रिनकार्डवाहक नेपालीलाईमात्र गतमहिना भिसा, अरुको अस्वीकार


प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार

अमेरिकी दूतावास काठमाडौंले कोरोना महामारीलाई आवेदकको नियन्त्रणबाहिरको अवस्थाका रुपमा स्वीकार नगरेर नेपालमा एकबर्षभन्दा लामो समय बसेका ग्रिनकार्डबाहक कैयन नेपालीको रिटर्निङ रेसिडेन्ड भिसा अस्वीकृत गरिरहेको खब आइरहँदा दूतावासले गतमहिना जारी गरेको रिटर्निङ रेसिडेन्ड भिसाको विवरण सार्वजनिक भएको छ । फेब्रुअरीमा अमेरिकी दूतावास काठमाडौंले जम्मा १५ जनालाई रिटर्निङ रेसिडेन्ड भिसा जारी गरेको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

कतिजनाले भिसा आवेदन दिएका थिए भन्नेबारे केही खुलाइएको छैन । तर ठूलो संख्यामा भिसा अस्वीकृत भएको विभिन्न विवरणहरुले देखाएका छन् । जनवरीमा पनि काठमाडौंमा रहेको अमेरिकी दूतावासले १५ जनालाई नै रिटर्निङ रेसिडेन्ड भिसा जारी गरेको थियो । मार्चमा कतिजनालाई दिइयो भन्ने विवरण सार्वजनिक हुन बाँकी छ ।

डिसेम्बरमा भने काठमाडौं दूतावासबाट जम्मा २ जनालाई रिटर्निङ रेसिडेन्ड भिसा दिइएको थियो । अक्टोबर र नोभेम्बरमा कसैलाई पनि रिटर्निङ रेसिडेन्ड भिसा नदिइएको विवरण सार्वजनिक भएको छ । कोरोना महामारीका कारण कैयन ग्रिनकार्डबाहक नेपालीहरु अमेरिका छाडेको एकबर्षभित्र अमेरिका फर्कन सकेका थिएनन् । उनीहरुले रिटर्निङ रेसिडेन्ड भिसाका लागि आवेदन दिएका थिए ।

अहिले अमेरिकी दूतावास काठमाडौंमा रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिंदा उनीहरुलाई भिसा दिन नसकिने बरु उनीहरुका तर्फबाट सुरुवातदेखि नै आई १३० आवेदन दिएर ग्रिनकार्डको नयाँ प्रकृया सुरु गर्नुपर्ने जवाफ दिने गरेको छ । भिसा नपाएका कारण केही समयका लागि नेपाल गएका र महामारीका कारण समयमा फर्कन नसकेकाहरु परिवारसँग भेटघाटका लागि समेत अमेरिका आउन पाएका छैनन् ।

टेक्सास निवासी एक नेपालीले खसोखाससँग भनिन् – ‘मेरा बुबाआमा नेपाल जानुभएको थियो । तर उहाँहरु कोरोनाको महामारी कारण यात्रा गर्न असुरक्षित भएकाले र लकडाउनका कारण एकबर्षभित्र अमेरिका फर्कन सक्नुभएन । अहिले मेरो बच्चा जन्मिने बेला भएको छ । यो अवस्थामा मलाई बुबाआमाको खाँचो छ । तर उहाँहरुको रिटर्निङ रेसिडेन्ड भिसा दूतावासले अस्वीकार गरेकाले उहाँहरु अमेरिका आउन पाउनु भएन ।’

‘मेरो बुबा नेपालमा बिरामी भएर इमर्जेन्सीमा भर्ना हुनुभएको थियो । उहाँलाई केहीदिन आईसीयुमा राखिएको थियो । उहाँले कोरोना भाइरसबिरुद्ध लडेर बाँच्न सफल हुनुभयो । आमा पनि कोरोना संक्रमण भएर घरमै उपचार गरेर निको हुनुभयो । दुबैजना ग्रिनकार्डवाहक भएपनि अमेरिका छाडेको एकबर्ष भइसकेकाले रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिनुभएको थियो । तर एकबर्षभित्र फर्कन नसक्नुको अवस्था आफ्नो नियन्त्रणबाहिर रहेको पुष्टी गर्न नसकेको भन्दै उहाँहरुको भिसा अस्वीकार गरियो । दूतावासको यो अमानवीय निर्णयका कारण उहाँहरु हामीलाई भेट्न आउन पाउनुभएको छैन ।’ –  उनले खसोखाससँग गुनासो गरिन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले परिवारहरुको पुनर्मिलनका लागि अमेरिकी अध्यागमनमा सुधार ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । कैयन घोषणाहरु समेत गरेका छन् । तर व्यवहारमा यस्तो हुन नसकेको र परिवारलाई अलग्याउने काम भएको भन्दै पीडितहरुले दुखेसो पोखेका छन् ।

अमेरिकी दूतावास काठमाडौको फेसबुक पेजमा कन्सुलर अधिकारीका तर्फबाट गरिएको भिसा च्याटका क्रममा पनि कैयन नेपालीहरुले आफ्ना परिवारका सदस्यहरु, खासगरी बुबाआमाको रिटर्निङ रेसिडेन्ड भिसा अस्वीकृत भएको भन्दै गुनासो र आक्रोश व्यक्त गरेका छन् ।

भिसा च्याटका क्रममा एकजनाले भनेका छन् – ‘म मेरी आमाका लागि रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिने योजनामा छु । तर अघिल्लो अन्तरवार्ताका क्रममा आमाको ग्रिनकार्ड नै कन्सुलर अधिकारीले कब्जा गरे । जबकी ग्रिनकार्डको म्याद समेत सकिएको थिएन । उहाँलाई ग्रिनकार्ड कब्जा गर्नुको कारण पनि बताइएन भने रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिन सुझाव पनि दिइएन । हामीले एउटै अन्तरवार्ताका लागि शुल्क पनि दुईपटक बुझाउनुपरेको थियो ।’

यसबारेको जवाफमा कन्सुलर अधिकारीले भनेका छन् – ‘रिटर्निङ रेसिडेन्ड भिसा प्राप्त गर्न निकै गाह्रो हुन्छ । महामारीको अवस्थाका बाबजुत पनि यो भिसा स्वत स्वीकृत गरिदैन ।’

त्यस्तै अर्का प्रश्नकर्ताले पनि रिटर्निङ रेसिडेन्ड भिसा अस्वीकृत भएको बारे गुनासो गरेका छन् । उनले कन्सुलर अधिकारीलाई कोरोनाको महामारीका कारण समयमा अमेरिका फर्कन नसकेका धेरै ग्रिनकार्डवाहक नेपालीहरुको रिटर्निङ रेसिडेन्ड भिसा अस्वीकृत भएकोमा पुनर्विचार गर्न अनुरोध गरेका छन् । जवाफमा कन्सुलर अधिकारीले भनेका छन् – ‘हामी ग्रिनकार्डवाहकहरु महामारीका कारण तुरुन्तै अमेरिका फर्कन नसकेको निराशालाई बुझ्छौं । तर रिटर्निङ रेसिडेन्ड भिसाका कानूनहरु धेरै कडा छन् भने केही व्यक्तिमात्र त्यस्तो भिसाका लागि योग्य हुन्छन् ।’

ग्रिनकार्डवाहक अमेरिकाबाहिर लगातार एकबर्षभन्दा लामो समय बसेको खण्डमा त्यस्तो व्यक्तिले अमेरिका प्रवेश गरेर ग्रिनकार्डको निरन्तरताका लागि नयाँ आप्रवासी भिसाका लागि आवेदन दिनुपर्ने प्रावधान रहेको छ । आफ्नो नियन्त्रणबाहिर रहेको अवस्थाका कारण एकबर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहकका लागि अमेरिकाको भिसा कानूनले रिर्टनिङ रेसिडेण्ड विशेष आप्रवासी भिसाको व्यवस्था गरेको छ ।

यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ र अमेरिका छाडेको एकबर्षभित्र अमेरिका फर्कन सक्नुभएन भने तपाई रिर्टनिङ रेसिडेण्ड एसबीवान लागि योग्य हुन सक्नुहुनेछ । त्यसका लागि तपाईले नजिकको अमेरिकी दूतावास वा कन्सुलेटमा आवेदन दिनुपर्ने हुन्छ । यदि तपाईको रिर्टनिङ रेसिडेण्ड भिसाको आवेदन स्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर ग्रिनकार्डलाई निरन्तरता दिन सक्नुहुनेछ ।

अन्यथा तपाईका लागि पहिलेकै जस्तो सुरुवातबाटै ग्रिनकार्डको प्रकृया सुरु गर्नुपर्छ । यदि तपाईको भिसा परिवारमा आधारित थियो भने तपाईका लागि पुन आई १३० आवेदन फाइल गर्नुपर्ने हुन्छ । रोजगार र डिभी लोटरीका आधारमा तपाईले ग्रिनकार्ड पाउनुभएको थियो भने तपाईले भविश्यमा ग्रिनकार्ड नपाउने सम्भावना समेत रहनसक्छ ।

रिर्टनिङ रेसिडेण्ड भिसाका लागि आवेदन दिइसकेपछि तपाईले दुईपटक अन्तरवार्ता दिनुपर्ने हुनसक्छ । सुरुमा तपाई यो भिसाको लागि आवेदन दिन योग्य भए नभएको सन्दर्भमा निर्धारण गर्ने आवेदन डीएस ११७ दिइसकेपछि तपाईको अन्तरवार्ता हुनसक्छ । यदि तपाई योग्य ठहरिनुभएको खण्डमा तपाईले भिसाका लागि डीएस २६० आवेदन दिनुपर्छ । त्यतीबेला तपाईको अर्को अन्तरवार्ता हुनसक्छ ।

नमुना डीएस २६० फर्म यहाँ उपलब्ध छ ।

यो भिसा प्राप्त गर्नका लागि मेडिकल परीक्षण गरेको हुनुपर्छ । त्यसैले मेडिकल शुल्क र भिसा प्रकृया शुल्क तिर्नुपर्ने हुन्छ । यो भिसाका लागि योग्य हुनका लागि तपाई अमेरिका छाड्ने बेलामा ग्रिनकार्डमै रहेको, फर्कने आशयका साथ अमेरिका छाडेको, विदेशको अस्थायी भ्रमणबाट अमेरिका फर्कन लागेको र अमेरिकाबाहिरको बसाई लम्बिएको खण्डमा तपाईको नियन्त्रणमा नरहेको अवस्थाका कारण लम्बिएको प्रमाणित गर्नुपर्छ ।

रिर्टनिङ रेसिडेण्ड भिसा आवेदन दिन चाहनेले अमेरिका फर्कन चाहेको मितिले कम्तीमा ३ महिना अगाडि नजिकको दूतावास वा कन्सुलेटमा सम्पर्क गर्नुपर्छ । सुरुमा फर्म डीएस ११७ भरेर बुझाउनुपर्छ र साथमा आफ्नो ग्रिनकार्ड पनि पेश गर्नुपर्नेछ । अमेरिका छाड्ने बेलाको टिकट, पासपोर्टमा लगाएको छाप, अमेरिका ट्याक्स फाइल गरेको लगायतका पारिवारिक र सामाजिक सम्बन्ध पुष्टी गर्ने कागजात, लामो समय अमेरिकाबाहिर बस्नुपर्नाको स्वास्थ्य लगायतका आफ्नो नियन्त्रणबाहिरको समस्याको प्रमाण समेत पेश गर्नुपर्छ ।

कन्सुलर अधिकारीले यो आवेदन हेरेपछि रिर्टनिङ रेसिडेण्ड भिसाका लागि मापदण्ड पूरा गरे नगरेको निर्धारण गर्नेछन् । मापदण्ड पूरा गरेको निर्धारण भएमा डीएस २६० फर्म, मेडिकल परीक्षण, पासपोर्ट र दुईवटा फोटोसहित आवेदन दिनुपर्छ ।

थप जानकारीका लागि अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको यो पेज हेर्नुहोला ।

यदि तपाई नेपालमा हुनुहुन्छ भने आफ्नो रिटर्निङ रेसिडेन्ट हैसियत पत्ता लगाउनका लागि नेपालस्थित अमेरिकी दूतावासमा अन्तर्वार्ता निर्धारण गर्नु पर्दछ । अन्तर्वार्ताका लागि समय लिन [email protected] मा ईमेल पठाउनुहोला । विस्तृत पुनरावलोकन तथा अन्तर्वार्तापश्‍चात् कन्सुलर अफिसरले तपाईँ यो भिसाका निम्ति योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा निर्धारण गर्नेछन् ।

सबै आवेदकहरूले १८० अमेरिकी डलरको फिर्ता नहुने दाखिला शुल्क वा सो सरहको रकम स्थानीय मुद्रामा तिर्न आवश्यक हुन्छ । उक्त शुल्क दूतावासको कन्सुलर क्‍याशिएरमा नगद वा क्रेडिट कार्डमार्फत तिर्न सकिन्छ । दाखिला शुल्क भिसा आवेदन शुल्क होइन । यो त रिटर्निङ रेसिडेन्ट हैसियत निर्धारण गर्नका लागि लाग्ने शुल्क हो । दाखिला शुल्क तिर्दैमा त्यसले रिटर्निङ रेसिडेन्ट हैसियत स्वीकृत हुन्छ भन्ने कुरा प्रत्याभूत गर्दैन ।

थप जानकारीका लागि अमेरिकी दूतावास काठमाडौंको यो पेज हेर्नुहोला ।

रिटर्निङ रेसिडेन्ट हैसियत प्राप्त भइसकेपछि डीएस २६० भर्दा त्यसको छुट्टै शुल्क तिर्नुपर्छ । त्यसपछिमात्र भिसा प्राप्त हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com