डिभी २०२१: ६ लाख ८८ हजार नेपाली सहभागी, ३८०१ विजेता, कतिले पाउलान् भिसा ?


प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार

डिभी २०२१ का विजेताहरुले भिसा पाउन सुरु गरेका छन् । गत अक्टोबरबाट नै भिसा पाउनुपर्ने भएपनि ट्रम्पको आप्रवासन रोकका कारण उनीहरुले मार्चबाटमात्र भिसा पाउन सुरु गरेका हुन् । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाउनेछन् ।

आगामी मे महिनामा ५१ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन् । अप्रिलमा ४५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरु भिसाका लागि योग्य हुनेछन् ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी भिसा बुलेटिन अनुशार मे महिनाका लागि डिभी विजेता नेपालीहरुको कटअफ केस नम्बर उल्लेख गरिएको हो । अहिले ४२ सय सम्म केस नम्बर हुने डिभी विजेताहरुले भिसा पाइरहेका छन् ।

तर कोरोना महामारीका कारण अमेरिकी दूतावास काठमाडौंको भिसा जारी गर्ने क्षमता प्रभावित भएका कारण सुरुतिर केस नम्बर हुनेहरुले छिटो भिसा पाइरहेका छन् । अमेरिकी दूतावास काठमाडौंले एकमहिनामा ५ सयसम्म डाइभर्सिटी भिसा जारी गर्नसक्ने क्षमता राख्ने विगतको रेकर्डले देखाएको छ । तर अन्य श्रेणीका पनि भिसा जारी गर्न सुरु गरिएकाले दूतावासले कतिजनालाई भिसा जारी गर्नसक्छ त्यो हेर्न प्रतिक्षा गर्नुपर्ने भएको छ ।

गत सेप्टेम्बरमा अदालतको आदेशपछि झण्डै ३ साताको अवधिमा झण्डै ४ सय जनालाई भिसा जारी गर्न अमेरिकी दूतावास काठमाडौं सक्षम भएको थियो । मासिक ४ सयको हाराहारीमा डिभी विजेताहरुलाई भिसा जारी गर्न सकेको खण्डमा सेप्टेम्बरसम्म ३५ सयसम्मलाई भिसा जारी गर्न सकिनेछ ।

अमेरिकाले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ ।

६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए ।
प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।

उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए । ४ लाख २१ हजार ७ सय ६५ जना आवेदकहरुमध्ये डिभी लोटरीका लागि भने जम्मा ३८०१ जना नेपालीहरु छनौट भएका थिए ।

पासपोर्ट अनिवार्य गरिएका कारण सन् २०२० को डिभी लोटरीका लागि आवेदन दिने नेपालीहरुको संख्याको तुलनामा २०२१ को डिभी लोटरीका लागि आवेदन दिने नेपालीहरुको संख्या भने कम भएको छ । सन् २०२० को डिभी लोटरीमा १० लाख २६ हजार ४२३ नेपालीहरु सहभागीहरु रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ३७ हजार ६ सय ९६ जना र उनीहरुका परिवारका सदस्यहरु ३ लाख ८८ हजार ७ सय २७ रहेका थिए ।

सन् २०१९ का लागि डिभी लोटरी कार्यक्रममा सहभागी नेपालीहरुको संख्या १० लाख ९२ हजार ३५ जना रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ८४ हजार १ सय ८० जना रहेका थिए भने उनीहरुका परिवारका सदस्यहरु ४ लाख ७ हजार ८ सय ५५ जना रहेका थिए ।

२०१३ देखि २०१८ सम्म डिभी भर्ने नेपालीहरु

आर्थिक बर्ष २०१८ को डिभी लोटरीमा ११ लाख ८७ हजार ३ सय ५० जना नेपालीहरु सहभागी भएका थिए । जसमा ७ लाख २८ हजार ७ सय १८ नेपाली प्राथमिक आवेदक र उनीहरुका आफन्तहरु ४ लाख ५८ हजार ६ सय ३२ रहेका थिए । २०१७ को डिभी लोटरीमा ११ लाख ३६ हजार ६ सय २२ जना नेपालीहरु सहभागी भए । जसमा प्राथमिक आवेदक ६ लाख ९२ हजार १ सय ३७ र आफन्तहरु ४ लाख ४४ हजार ४ सय ८५ रहेका थिए ।

सन् २०१६ को डिभी कार्यक्रममा १० लाख ९० हजार ८ सय ८० नेपालीहरुले डिभी कार्यक्रममा सहभागिता जनाए । जसमा प्राथमिक आवेदक ६ लाख ६४ हजार ८ सय ५४ र आफन्तहरु ४ लाख २६ हजार २६ जना रहेका थिए ।

त्यस्तै आर्थिक बर्ष सन् २०१५ को डिभी लोटरी कार्यक्रमका लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरीको फर्म भरेका थिए । उनीहरुका नजिकका आफन्तहरु ३ लाख ४७ हजार १ सय ३६ जना समेत जोड्दा सन् २०१५ को डिभी कार्यक्रममा सहभागी हुने नेपालीहरु ८ लाख ९२ हजार ९ सय ६१ जना रहेका थिए ।

त्यसैगरी सन् २०१४ को डिभी कार्यक्रमका लागि आवेदक र उनीहरुका आफन्तहरुसहित ६ लाख १३ हजार ३ सय ८५ जना नेपालीहरु कार्यक्रममा सहभागी भएका थिए भने सन् २०१३ को डिभी कार्यक्रममा आवेदक र उनीहरुका आफन्तहरुसहित ४ लाख ९६ हजार ४ सय १० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए ।

सन् २००७ देखि २०१२ सम्म डिभी भर्ने नेपालीहरु

सन् २०१२ को डिभी लोटरीमा ३ लाख ९७ हजार ३६ नेपालीहरु सहभागी भएका थिए, जसमध्ये प्राथमिक आवेदक २ लाख ३८ हजार ६ सय ७८ जना रहेका थिए भने परिवारका सदस्यहरु १ लाख ५८ हजार ३५८ जना रहेका थिए ।

त्यस्तै सन् २०११ को डिभी लोटरीमा ३ लाख २२ हजार ७ सय ५८ जना नेपालीहरु सहभागी भएका थिए । जसमध्ये १ लाख ९४ हजार ३ सय ७३ प्राथमिक आवेदकहरु र उनीहरुका परिवारका सदस्यहरु १ लाख २८ हजार ३ सय ८५ जना रहेका थिए ।

सन् २०१० को डिभी लोटरीमा ३ लाख ५६ हजार २ सय १६ नेपालीहरु सहभागी भएका थिए । जसमध्ये २ लाख ११ हजार ४ सय २१ प्राथमिक आवेदकहरु र १ लाख ४४ हजार ७ सय ९५ जना परिवारका सदस्यहरु रहेका थिए ।

त्यस्तै सन् २००९ मा २ लाख ९८ हजार १ सय ४१ जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भए । जसमध्ये १ लाख ७० हजार ७ सय १६ प्राथमिक आवेदकहरु र १ लाख २७ हजार ४ सय २५ परिवारका सदस्यहरु रहेका थिए ।

सन् २००८ मा ३ लाख ८९ हजार ९ सय ८९ आवेदकहरु सहभागी थिए । जसमध्ये २ लाख २२ हजार ४ सय ७७ प्राथमिक आवेदकहरु र १ लाख ६७ हजार ५ सय १२ परिवारका सदस्यहरु रहेका थिए ।

सन् २००७ मा ३ लाख २७ हजार ३ सय ३० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भए । जसमध्ये १ लाख ८९ हजार ४ सय ८४ प्राथमिक आवेदकहरु र १ लाख ३७ हजार ८ सय ४६ परिवारका सदस्यहरु रहेका थिए ।

डिभी लोटरीको इतिहासमा नेपालबाट एककरोडभन्दा धेरै सहभागीका आवेदन परिसकेका छन् । बारम्बार आवेदन दिनेहरुको संख्या समेत यसमा जोडिएको छ । उदाहरणका लागि २०२१ को डिभी कार्यक्रममा सहभागी ६ लाख ८८ हजार ५ सय २ मध्ये कैयनले सन् २०२० को डिभी कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com