अध्यागमन जेलमा रहेका आप्रवासीहरुका लागि नयाँ पुनरावलोकन प्रकृया, जेलमा ७९ नेपाली


प्रकाशित मिति : फाल्गुन २३, २०७७ आईतबार

टेक्सासको पोर्ट इसाबेल डिटेन्सन सेन्टर । फोटो: किशोर पन्थी

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अध्यागमन जेलमा रहेका आप्रवासीहरुका लागि अब नयाँ पुनरावलोकन प्रकृयाको घोषणा गरेको छ । आफ्नो मुद्दा आइसको कारवाही, हिराशत र देशनिकालाको प्राथमिकतामा नपर्ने विश्वास गरेकाहरुले अब आफ्नो मुद्दा पुनरावलोकनका लागि अपिल गर्न पाउने भएका छन् ।

नयाँ अपिल पकृया अनुशार आप्रवासी र उनीहरुका वकिलहरुले आइसले गरेको पक्राउ, थुना र देशनिकालाबिरुद्ध वकालत गर्न पाउनेछन् । वासिंटन डिसीमा रहेका बरिष्ठ पुनरावलोकन अधिकारीले नेतृत्व गरेको नयाँ प्रकृया कसलाई पक्राउ गर्ने र देशनिकाला गर्ने भन्ने सन्दर्भमा आइसलाई सुधार गर्ने प्रयासका रुपमा आएको हो ।

नोभेम्बरपछि सिमा पार गरेका, राष्ट्रिय सुरक्षामा खतरा रहेका र सार्वजनिक सुरक्षामा खतरा रहेकाहरुलाई देशनिकालाको प्राथमिकतामा राख्नका लागि आइसका अधिकारीहरुलाई दिइएको निर्देशनको केही सातामा नै यो नयाँ प्रकृयाको थालनी गरिएको हो ।

आप्रवासी र वकिलहरुले यसअगाडि पनि स्थानीय स्तरमा पक्राउ, थुना र देशनिकालाबिरुद्ध चुनौती पेश गर्न पाउने प्रावधान रहेपनि नयाँ प्रकृयाले अब स्थानीय अधिकारीले अनुरोध अस्वीकार गरेको खण्डमा समेत आइसको मुद्दा पुनरावलोकन प्रकृयामार्फत छुट्टै अपिल गर्न पाइने भएको छ । यसअगाडि स्थानीय स्तरमा गरिने अपिल क्षेत्रीय अधिकारीहरुको माताहतमा रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अपिल गरिसकेपछि आइसका पुनरावलोकन अधिकारीहरुले उक्त मामला नयाँ गाइडलाइन अनुशार भए नभएको हेर्नेछन् । पुनरावलोकनपछि १ नोभेम्बर २०२० अगाडि नै प्रवेश गरेको, राष्ट्रिय र सार्वजनिक सुरक्षामा खतरा नरहेको पाइएमा त्यस्ता व्यक्ति बिरुद्ध फरक खालको निर्णय हुनसक्नेछ । आप्रवासीहरुले अध्यागमन हिराशतबाट रिहा, अध्यागमन अदालतमा उपस्थीत हुनुपर्ने नोटिस टु अपियर रद्द वा देशनिकाला स्थगन लगायतका निर्णयहरु प्राप्त गर्न सक्नेछन् ।

नयाँ पुनरावलोकन प्रकृयाका लागि पहिले नै हिराशतमा रहेका र आसन्न देशनिकालाको सामना गरिरहेकाहरुलाई प्राथमिकता दिइने भएको छ ।

हिराशतमा रहेकाहरुको मामला पुनरावलोकनका लागि अनुरोध गर्न चाहनेहरुले प्रारम्भिक पुनरावलोकनका लागि स्थानीय इन्फोर्समेन्ट एण्ड रिमुभल फिल्ड अफिसमा नै सम्पर्क गर्नुपर्ने आइसले जनाएको छ । त्यसपछि अनुरोधका आधारमा बरिष्ठ अधिकारीले मामलाको पुनरावलोकन गर्नेछन् ।

स्थानीय फिल्ड अफिसमा सम्पर्क गर्नका लागि यहाँ क्लीक गर्नहोला ।

स्थानीय फिल्ड अफिसमा सम्पर्क गरिसकेपछि पुनरावलोकनका लागि अनुरोध गर्न यहाँ क्लीक गर्नुहोला ।  वा [email protected] मा इमेल गर्नुहोला ।

तर पुनरावलोकनका लागि बरिष्ठ अधिकारीहरुलाई अनुरोध गर्नु अगाडि स्थानीय फिल्ड अफिसमा सम्पर्क सम्पर्क गरेर पुनरावलोकनका लागि अनुरोध नगरेको खण्डमा भने केसमा ढिलाई हुनसक्ने जनाइएको छ । अनुरोध गर्दा व्यक्तिको एलियन नम्बर, फोन नम्बर, इमेल र अन्य विवरणहरु पठाउन सुझाव दिइएको छ ।

सम्बन्धितबाहेक अन्य व्यक्तिलाई जानकारी प्रदान गर्नका लागि फर्म जी २८ वा आइसको फर्म आई -६० – ००१ भर्न सुझाव दिइएको छ ।

अध्यागमन जेलमा ७९ नेपाली

न्युयोर्क, टेक्सास, क्यालिफोर्निया लगायतका राज्यमा दर्जन बढी इमिग्रेशन जेलमा नेपालीहरु रहेका छन् । अमेरिकी अध्यागमन जेलमा रहेका नेपालीहरुमध्ये अधिकांश मेक्सिकोको सिमाक्षेत्रहुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका कागजपत्रविहिनहरु हुन् ।

उनीहरुमध्ये अधिकांशले अमेरिकामा एसाइलमको दावी गरेपनि कतिपयले भने त्यसको दावी अस्वीकार भएकाले देशनिकालाको आदेश पाइसकेका छन् । कतिपयको मुद्दा अध्यागमन अदालतबाट अस्वीकार भएर बोर्ड अफ इमिग्रेशन अपिलमा पनि चलिरहेको छ । कतिपयको भने पासपोर्ट लगायतका ट्राभल डकुमेन्टहरु नबनेका कारण देशनिकाला हुनबाट बचेका छन् ।

आइसका प्रवक्ता डेनियल बेनेटले खसोखासलाई दिएको जानकारी अनुशार अहिले अध्यागमन जेलमा ७९ जना नेपालीहरु रहेका छन् । उनीहरुमध्ये एकबर्ष वा त्योभन्दा लामो समयदेखि अध्यागमन जेलमा रहेकाहरुको संख्या पनि उल्लेख्य रहेको छ । कोरोनाको महामारी र ट्रम्प प्रशासनले अध्यागमनमा गरेको कडाईका कारण पछिल्लो चरणमा सिमाक्षेत्रबा आउने नेपालीहरुको संख्या निकै कम छ । जर्जिया, एरिजोना र अलाबामाको अध्यागमन जेलमा समेत उल्लेख्य नेपालीहरु छन् ।

ट्रम्प प्रशासनले सन् २०१७ को फेबु्रअरीमा क्याच एण्ड रिलिज नीतिको अन्त्य गरेपछि अध्यागमन जेलमा परेकाहरुलाई एसाइलमको मुद्दा नजितेसम्म रिहा गर्न छाडिएको थियो । त्यो भन्दा अगाडि ओबामा प्रशासनको बेलामा भने कैयन नेपालीहरु जीपीएस लगाएर वा स्पोन्सरकर्ताको जिम्मा लगाएर सुपरभिजनमा रिहा भएका थिए ।

कानून व्यवसायी रमेश श्रेष्ठ भन्छन् – ‘ट्रम्प प्रशासनले क्याच एण्ड रिलिजको नीति अन्त्य गरेपछि सुपरभिजनमा रिहा गर्ने क्रम बन्द भयो । नेब्रास्कामा रहेका एकजना नेपालीलाई सन् २०१७ मा सुपरभिजनमा छाड्ने तयारी अन्तिम चरणमा थियो । तर ट्रम्पको नीतिका कारण उनी रिहा भएनन् । पछि उनलाई आइसले देशनिकाला गरेर नेपाल फिर्ता पठायो ।’

सन् २०१५ को जुन २४ भन्दा अगाडि अमेरिका आएका र अध्यागमन जेलमा परेकाहरुलाई टीपीएसले संरक्षण प्रदान गरेको थियो । त्यसपछि पनि सन् २०१७ को जनवरीसम्म अध्यागमन जेलमा भएका नेपालीहरु ठूलो संख्यामा धरौटी र नजिकका आफन्त स्पोन्सरकर्ताको जिम्मा लगाएर सुपरभिजनमा रिहा भए । तर ट्रम्प प्रशासन आइसकेपछि भने यो क्रम लगभग अन्त्य भयो । तर अहिले अध्यागमन जेलमा रहेका नेपालीहरुमा रिहा हुने आशा पलाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com