ओली पक्षको संसदीय दल बैठकमा ११५ जना सहभागी भएको दाबी, ओलीले भने–जित हाम्रै हुन्छ


प्रकाशित मिति : फाल्गुन २२, २०७७ शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको संसदीय दलको बैठकमा शनिबार १ सय १५ सांसद सहभागी भएको दाबी सो समूहले गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित बैठकमा राष्ट्रिय सभाका २४ जना र प्रतिनिधिसभाका ९१ गरी १ सय १५ जना सांसद बैठकमा सहभागी भएको बैठकपछि नेता खिमलाल भट्टराईले जानकारी दिए।

नेकपा संसदीय दलको नेता चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदको मत लिनुपर्छ । प्रतिनिधि सभामा नेकपाका १७२ (१ जना सभामुख र निधन भएका सांसदसहित १७४) सांसद छन्। राष्ट्रिय सभामा ४९ (अध्यक्षसहित ५०) सांसद छन्।
बैठकमा अध्यक्ष केपी ओलीले आफ्नो समूहको जित हुनेमा ढुक्क भएर अगाडि बढ्न नेताहरुलाई आग्रह गरे।

उनले शनिबार १ सय १५ सांसद सहभागी भएका र आगामी दिनमा यो संख्या बढेर जाने उल्लेख गर्दै सबैलाई ढुक्क भएर अगाडि बढ्न आग्रह गरे।

बैठकमा ओलीले भनेका कुरा उद्धृत गर्दै नेता भट्टराईले भने, ‘भोलि यो संख्या बढ्दै जान्छ, १२०, १३० हुँदै जान्छ, चिन्ता नगर्नुस् देश र जनताको पक्षमा उत्साहजनक हिसाबले अगाडि बढौं, जित हाम्रै हुन्छ।’

भट्टराईले अन्य दिनमा आफ्नो पक्षमा सांसद थपिने क्रम जारी रहेको जानकारी दिए। उनले अविश्वास प्रस्ताव पास नहुने ठोकुवा पनि गरे। नेकपा कानुनी रुपले विभाजन हुन कठिन रहेको उल्लेख गर्दै उनले व्यावहारिक रुपले बाहिर रहेका नेताहरु समयक्रममा पुनः पार्टीमै फर्कने पनि बताए।

यसअघि बसेको प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठकमा पनि १ सय १५ सांसद सहभागी भएको दाबी गरिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com