अमेरिकामा आप्रवासी पक्रन ‘फोन ट्रयाक’ प्रविधि


प्रकाशित मिति : जेष्ठ ७, २०७४ आईतबार

अमेरिकामा संघीय सुरक्षा अधिकारीहरुले कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्न अपराधीलाई पक्रन प्रयोग गरिने ‘स्ट्रीङरे फोन ट्रयाकर’ प्रविधिको प्रयोग गर्न थालेका छन् । अध्यागमन कानुनको कार्यान्वयनमा व्यक्तिगत गोप्यता हनन हुने खालको यस्तो प्रविधिको प्रयोगप्रति अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन् । मिसिगनको डेट्रोइटमा संघीय अधिकारीहरुले कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्न यस्तो प्रविधिको प्रयोग गरेका हुन् ।

स्ट्रीङरे नामको यो प्रविधि व्यक्तिका मोबाइलफोनहरुको ट्रयाकिङ गरेर उनीहरु कुन स्थानमा छन् भन्ने पत्ता लगाउन प्रयोग गरिन्छ । यसअगाडि संघीय र स्थानीय सुरक्षा अधिकारीहरुले यो प्रविधि हत्याका संदिग्ध, अपहरणका शिकार, लागु औषधका ब्यापारी र आतंकवादीहरुलाई खोज्नका लागिमात्र प्रयोग गर्दै आएका थिए ।

तर मार्चमा संघीय अधिकारी र इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका अधिकारीहरुले २३ बर्ष एल साल्भोडोरका कागजपत्रविहिन युवालाई पक्राउ गर्नका लागि यो प्रविधिको प्रयोग गरेका थिए । पछि ती युवालाई देशनिकाला गरिएको थियो ।

कागजपत्रविहिन आप्रवासीलाई ट्रयाक गर्न गलत प्रविधिको प्रयोग गरिएको भन्दै मानवअधिकारवादीहरुले विरोध गरेका छन् ।

यसैबीच आइसले ट्रम्प कार्यकालका एकसय दिनमा ४१ हजार भन्दा धेरै आप्रवासीहरुलाई देशनिकाला गरिएको जनाएको छ । हाल यो उपकरण आइसको सिमा क्षेत्रमा खट्ने अधिकारीहरुको हतियारमा समेत जडान गरिएको छ । यो प्रविधिले सेलफोनका टावरले जस्तै काम गर्ने र फोन प्रयोग भएको लोकेशन लगायत अन्य सुचना प्राप्त गर्ने जनाइएको छ । उपकरणका केही मोडलहरु अत्यन्तै साना र हातमा बोक्न सकिने खालका छन् ।

सन् २०१५ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विना वारेन्ट कुनै पनि व्यक्तिका फोन ट्रयाक गर्न नपाइने नीति बनाएको थियो । जस अन्तरगत कुनै व्यक्तिको फोन ट्रयाक गर्नका लागि उसका नाममा खोजी वारेन्ट जारी भएको हुनुपर्ने थियो । वारेन्ट जारी भएका व्यक्तिका सन्दर्भमा मात्र स्ट्रीङरे नामको प्रविधि प्रयोग गरेर फोन ट्रयाक गर्न पाइने नीति रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com