बेरोजगारी बिमा: एकबर्ष नाघेपछि पीयुए पाउनेले अर्को आवेदन दिनु नपर्ने, नियमितले पर्ने


प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार

न्युयोर्कमा महामारी बेरोजगारी सहायता पीयुए पाइरहेकाहरुले एकबर्ष नाघेपछि पनि अर्को आवेदन दिनु नपर्ने भएको छ । उनीहरुले एकबर्षको अवधि नाघेपछि पनि साप्ताहिक रुपमा प्रमाणिकरण गरेमात्रै प्राप्त गर्नुपर्ने रकम पहिलेकै तरिकाले पाउने छन् ।

उदाहरणका लागि कोही व्यक्तिले गतबर्ष २०२० को मार्च १४ बाट पीयुए प्राप्त गरिरहेको छ र उसको सुविधा लिने मिति आगामी मार्च २१ मा समाप्त हुने उल्लेख छ भने उसले रकम पाउनका लागि मार्च २१ पछि अर्को आवेदन दिनु नपर्ने भएको छ । तर मार्च १४ पछि यी कार्यक्रमहरु समाप्त हुन लागेकाले त्यसपछिको अवधिमा रकम पाउनका लागि संसदबाट राहत प्याकेज पारित हुन आवश्यक छ ।

साप्ताहिक प्रमाणिकरण गर्दा पीयुए आवेदनमा सोधिने प्रश्नहरु

बेरोजगारी दावीमा उल्लेख भएको सुविधा पाउने अन्तिम मितिपछि पनि पीयुए सहायता पाइरहेकाले नयाँ आवेदन नदिइकनै बाँकी हप्ताहरुका लागि रकम पाउने भएतापनि नियमित बेरोजगारी विमा रकम पाइरहेकाहरुका लागि भने यो सुविधा छैन । नियमित बेरोजगारी विमा रकम पाइरहेकाहरुले पनि थप अवधिका लागि रकम पाउन पुन आवेदन दिन आवश्यक रहेको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

साप्ताहिक प्रमाणिकरण गर्दा नियमित बेरोजगारी विमामा सोधिने प्रश्नहरु

यदि साप्ताहिक प्रमाणिकरण गर्ने बेलामा आवेदकलाई कोरोनासँग सम्बन्धित प्रश्नहरु सोधिएको छ भने उक्त व्यक्तिले पीयुए रकम पाइरहेको हुन्छ । तर यदि साप्ताहिक प्रमाणिकरण गर्दा सोधिने प्रश्नहरु कोरोना सम्बन्धित छैनन् भने उसले नियमित बेरोजगारी विमा रकम पाइरहेको बुझ्नुपर्छ । महामारीको बेलामा बेरोजगार भएका सबै स्वत पीयुए अन्तरगत नपर्ने डिपार्टमेन्ट अफ लेवरको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com