डिभी लोटरी र आप्रवासी भिसाबारे पछिल्लो जानकारी, अन्तरवार्ताको पखाईमा ४ लाख ७३ हजार


प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार

अमेरिकी सरकारको विदेश मन्त्रालय कन्सुलर अफेयर्सका कार्यवाहक डेपुटी एसिस्टेण्ट सेक्रेटरी जुली एम स्टफ्टले डिभी लोटरी र आप्रवासी भिसाबारे पछिल्लो अवस्थाबारे जानकारी दिएकी छिन् । अहिले ४ लाख ७३ हजार आवेदनहरु नेशनल भिसा सेन्टरमा अन्तरवार्ताको मिति तय हुने प्रतिक्षामा रहेको र आफूहरुको प्राथमिकता भिसाको ब्याकलग कम गर्नु रहेको उनले बताएकी छिन् ।

भिसा पाइसकेका सन् २०२० का डिभी विजेताहरुलाई भिसा समाप्त नहुँदै अमेरिका आउन समेत उनले सुझाव दिएकी छिन् । आप्रवासी भिसा प्रकृयाबाट गइरहेका आवेदकहरु अमेरिकाका लागि तथ्यांकमात्र नभई अमेरिकाका लागि निकै महत्वपूर्ण रहेको समेत उनले बताइन् ।

विदेश मन्त्रालयले विश्वभरका दूतावास र कन्सुलेटहरुलाई सीडीसीको मापदण्ड अनुशार सुरक्षित तरिकाले भिसा प्रकृया अगाडि बढाउन निर्देशन दिएको पनि उनले जानकारी दिइन् । आप्रवासी भिसाका अप्वाइन्टमेन्टहरु बढाउनका लागि श्रृजनात्मक तरिकाहरु अपनाउने विदेश मन्त्रालयले दूतावास र कन्सुलेटहरुलाई निर्देशन दिएको समेत उनले जानकारी दिइन् ।

नयाँ भिसा स्टीकर जारी नगरिने

यस अगाडि  भिसाको अवधि सकिइसकेका २०२० का डिभी विजेताहरुका लागि उक्त भिसाको सट्टामा नयाँ भिसा स्टीकर जारी नगरिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको थियो । संघीय न्यायाधिसले भिसा सकिएका २०२० का डिभी विजेताको भिसा सकिएपनि अद्यावधिक मानिने आदेश जारी गरेपनि अमेरिकी सरकारले भने भिसा थपिएको नयाँ भिसा स्टीकर नदिने स्पष्ट पारेको हो ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ – ‘डिभी २०२० का विजेताहरु जसको भिसा सकिएको छ उनीहरुका लागि भिसा प्रतिस्थापन जारी गर्न नसकिने हुनसक्छ । यद्यपी गोमेज भर्सेस ट्रम्पको अदालती मुद्दाबाट आएको आदेशका कारण जसले सन् २०२० मा डाइभर्सिटी भिसा प्राप्त गरे, उनीहरुले म्याद सकिएकै भिसामा अमेरिकाको यात्रा गर्न सक्नेछन् । किनभने अदालतले यी भिसालाई ट्रम्पको कार्यकारी आदेश खारेज भएको मितिपछि जारी भएका भिसाका रुपमा व्यवहार गर्न आदेश दिएको छ ।’

अमेरिकी विदेश मन्त्रालयको सुचनाको स्क्रीनशट

अमेरिकी विदेश मन्त्रालयले थप स्पष्ट पारेको छ – ‘अदालतले यी सकिएका भिसालाई कहिलेसम्म अद्यावधिक मान्ने भन्ने सन्दर्भमा निर्दिष्ट गरेको छैन। अदालतले यो आदेशमा परिवर्तन गर्न वा केही महत्वपूर्ण आदेशमा परिवर्तन गर्नसक्छ । त्यसकारण अदालतको आदेशबाट फाइदा लिन चाहने आवेदकलाई आदेश परिवर्तन हुनसक्ने भएकाले सक्दो व्यवहारिक रुपमा यात्रा गर्न प्रोत्साहन गरिन्छ ।’

यसर्थ ट्रम्पको कार्यकारी आदेशका कारण गत सेप्टेम्बरमा भिसा जारी भएका नेपालीहरुले मेडिकल सर्टिफिकेट वा अन्य कारणबाट भिसा सकिएको भएतापनि सकिएको भिसामा समेत तुरुन्तै अमेरिकाको यात्रा गर्न सक्ने कानून व्यवसायी रमेश श्रेष्ठले सुझाव दिनुभएको छ । तर ट्रम्पको कार्यकारी आदेशका कारण नभई पहिले नै भिसा पाइसकेका तर महामारी वा अन्य कारणले अमेरिका आउन नसकी रोकिदा भिसा एक्सपायर भएका डिभी विजेता भने एक्सपायर भएको भिसामा अमेरिका आउन सक्ने छैनन् ।

ट्रम्पको कार्यकारी आदेश अनुशार सेप्टेम्बरको दोश्रो सातादेखि अन्तिमसम्म ४०४ जना नेपालीहरुले डाीइभर्सिटी भिसा पाएकाले उनीहरुको भिसा सामान्यतया मार्चको दोश्रो सातादेखि अन्तिमसम्म एक्सपायर हुनेछ । उनीहरुलाई पनि यथाशीघ्र अमेरिकाको यात्रा गर्न कानून व्यवसायी श्रेष्ठले सुझाव दिनुभएको छ । बाइडेनले फेबु्रअरी २४ मा आप्रवासनमा रोक लगाउने ट्रम्पको कार्यकारी आदेश खारेज गरेकाले सेप्टेम्बरमा जारी भएका भिसाले पनि अदालतको आदेश अनुशार फेब्रुअरी २४ पछि जारी भएसरह मान्यता पाउनेछन् ।

एक्सपायर भएको भिसामा कतिपय एयरलाइन्स चढाउन अस्वीकार समेत गर्नसक्ने भएकाले एयरलाइन्ससँग समेत बुझ्न र विदेश मन्त्रालयको सुचना प्रिन्ट गरेर वा अनलाइनमार्फत देखाउन कानून व्यवसायी श्रेष्ठको सुझाव छ । श्रेष्ठले भन्नुभयो – ‘पहिलो बोडिंङ पास लिने बेलामा र पछि नेपालको इमिग्रेशन क्लीयर गर्ने बेलामा इस्यु हुनसक्छ । त्यसैले विदेश मन्त्रालयको सुचना देखाउन उपयुक्त हुन्छ । अमेरिका आइसकेपछि अमेरिका प्रवेश गर्ने बेलामा इमिग्रेशन अफिसरले एक्सपायर भएको भिसाबारे सोधेमा पनि उक्त सुचना देखाउन सकिन्छ । त्यसैले केही प्रतिहरु प्रिन्ट गरेरै बोक्न उपयुक्त हुनेछ ।’

अमेरिकी विदेश मन्त्रालयको उक्त सुचना पढ्न र प्रिन्ट गर्न यहाँ क्लीक गर्नुहोला ।

के भन्छ अमेरिकी दूतावास काठमाडौं ?

डिभी २०२१ का विजेता लगायत अन्य आप्रवासी भिसा आवेदकलाई अप्वाइन्टमेन्ट तय भएको नोटिफिकेशन कुर्न र धैर्य रहन अमेरिकी दूतावास काठमाडौंले सुझाव दिएको छ । दूतावासकी प्रवक्ता अन्ना रिची एलेनले पहिले नै अन्तरवार्ता भइसकेका तर कार्यकारी आदेशका कारण भिसा अस्वीकृत भएका आप्रवासी भिसा आवेदकहरुलाई अब चाल्नुपर्ने कदमबारे दूतावासले सुचित गर्ने जानकारी दिएकी छिन् ।

‘हामीले २०२१ का डाइभर्सिटी भिसा आवेदकहरुसहित आप्रवासी भिसा आवेदकलाई धैर्य रहन र अप्वाइन्ट तय भएको सुचना प्राप्त नहुँदासम्म पर्खन प्रोत्साहित गर्दछौं । पहिले नै अन्तरवार्ता भएर राष्ट्रपतिको कार्यकारी आदेश १००१४ का कारण भिसा अस्वीकृत भएकाहरुले अब चाल्ने कदमका सन्दर्भमा दूतावासबाट निर्देशनहरुको प्रतिक्षा गर्नुपर्छ ।’ –  एलेनले खसोखासलाई जानकारी दिइन् ।

ग्राहक र कर्मचारीहरुको सुरक्षा र स्वास्थ्यको संरक्षणका लागि लागु गरिएका मापदण्डहरुका कारण दूतावासको अप्वाइन्टमेन्ट निर्धारण क्षमता सिमित रहेकोबारे सबै भिसा आवेदकहरु समेत हुनुपर्ने प्रवक्ताको भनाई छ । नियमित भिसा सेवा कहिलेदेखि सुचारु हुन्छ भन्ने सन्दर्भमा पनि आफूहरुले अहिले बताउन नसक्ने दूतावासका तर्फबाट जानकारी दिइएको छ ।

सेवा सुचारुबारे अमेरिकी विदेशमन्त्रालयको निर्देशिका अनुशार आप्रवासी भिसाका अप्वाइन्टमेन्टहरु सकेजति तय गर्ने कामलाई निरन्तरता दिने दूतावासले जनाएको छ ।

दूतावासले यसबारेका वेवसाइटमा पनि सुचना राखेको छ । आवेदक र कर्मचारीहरु दुबैका लागि सुरक्षित हुने तरिकाले अमेरिका र नेपालबीचको यात्रा सहज बनाउन तथा पूरै भिसा सेवा संचालन गर्न दूतावासले काम गरिरहेको वेवासाइटमा प्रकाशित सुचनामा उल्लेख छ ।  तर दूतावासले कहिलेदेखि नियमित भिसा सेवा संचालन गर्ने भन्नेबारे केही बताएको छैन ।

गैरआप्रवासी भिसाहरुको सन्दर्भमा अन्तरवार्ता विना नै नविकरण गरिने भिजिटर भिसा, हवाई तथा जल यातायातका कर्मचारीको भिसा, मेडिकल वा अन्य आपतकालिन अवस्थामा यात्रा गर्नुपर्नेहरुका लागि गैरआप्रवासी भिसा जारी भइरहेको दूतावासले जनाएको छ ।

गैर आप्रवासी भिसाका आवेदकहरुका सन्दर्भमा भिसा शुल्क सन् २०२२ को सेप्टेम्बर ३० सम्म अद्यावधिक रहने र उक्त अवधिसम्मको भिसाका लागि सोही देशमा प्रयोग गर्न सकिने दूतावासले जनाएको छ ।

आपतकालिन यात्रा गर्नुपर्ने अवस्था भएकाहरुलाई भिसा जारी गरिएपनि नियमित वा छिटो गराइएका विद्यार्थी भिसा एफ वानका अन्तरवार्ताहरु भने अहिले नगरिएको दूतावासले जनाएको छ । यद्यपी नेपालमा रहेका अमेरिका आउन चाहने विद्यार्थीहरुले दिल्लीमा रहेको अमेरिकी दूतावास लगायतबाट विद्यार्थी भिसा एफवान प्राप्त गरिरहेका छन् ।

जनवरीमा दिल्लीमा रहेको अमेरिकी दूतावासमार्फत अमेरिकाको विद्यार्थी भिसा लिने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले एकजनालाईमात्र विद्यार्थी भिसा जारी गरेपनि जनवरीमा विद्यार्थी भिसा पाउने नेपालीहरुको कुल संख्या भने १ सय ११ रहेको छ । उनीहरुका ५ जना डिपेण्डेण्टहरुले समेत भिसा पाएका छन् ।

भारतमा रहेको अमेरिकी दूतावासबाट विद्यार्थी, भिजिटर लगायतका भिसा प्राप्त गर्न सम्भव हुनसक्ने तर त्यसका लागि आफूले भिसाका लागि आवेदन दिन चाहेको दूतावास वा कन्सुलेटमा सम्पर्क गर्न जानकारी लिन सकिने अमेरिकी दूतावास काठमाडौंले भिसा च्याटमार्फत जानकारी दिएको थियो ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com