तपाईं आस्तिक कि नास्तिक ?


प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार

– मिलनकुमार शाही

भनिन्छ जब चारैतिर बाटो बन्द हुन्छ, निराशा छाउँछ अनि मानिसले आफूलाई भगवानको भरोसामा छोड्दछ, मन्दिर धाउँछ, भगवानसँग प्रार्थना गर्दछ । आफ्नो जिन्दगीका सहि र सुखका मार्गहरु पहिल्याउन मद्घत माग्दछ । मान्छे स्वार्थी हुन्छ । जबसम्म पुगिसरी हुन्छ आफ्नो मिहिनेत र भाग्यले सो प्रगती गरेको घमण्ड गर्दछ तर जब दु:ख पर्दछ अनि आफ्नो भाग्यलाई दोष दिन्छ । नियतिले म माथि नराम्रो खेल खेल्यो भनी संसारकै अभागी मान्छे ठान्दछ आफूलाई । संसारमा यस्ता मानिसहरु छन जसले आफूलाई संसारकै अभागी ठान्दछन ।

अनि हामी अर्ति त यस्तो दिन्छौं कि चप्पल सम्म लगाउन नपाउनेले खुट्टा नै नभएको मान्छेलाई हेरेर आफू त भाग्यमानी रहेछु, कम्तिमा चप्पल भएमा लगाउने खुट्टा त छन मसँग भनेर कर्म गर्न तर्फ लाग्नु पर्छ भनेर ढाडस पनि दिन्छौं !

तर खुकुरीको चोट अचानोले मात्र बुझ्दछ भनेर त्यो सम्झाउनेलाई के थाहा ?

मानिसले भाग्यमा होइन कर्ममा विश्वाश गर्नुपर्दछ भन्ने थाहा पाउँदा पाउँदै पनि बिर्सन्छौ र भाग्यमा विश्वाश गर्दछौं । भनिन्छ भाग्य छ भन्दैमा चाल्नामा दूध दोएर चाल्नामा दूध अडिदैन । भाग्यलाई यथार्थ बनाउन कर्म गर्नुपर्दछ । भाग्यलाई बलियो बनाउने कर्म नै हो ।

हामी भगवानको पूजा आराधाना गर्दछौं । के साच्चै भगवान छन त ? यसको जवाफ सायद अनुत्तरित नै छ । यो त आस्था, श्रद्धा तथा विश्वाशको कुरा हो । भगवान भनेर बिभिन्न रुपको कल्पना गरेर बनाइएका प्रतिमा र तस्बिरहरु मानव समाजमा आस्था, श्रद्धा र बिश्वासका धरोहर हुन, नियम कानून हुन । जुन पाप र पूण्यको भय देखाई मानव समाजको रक्षकको रुपमा प्रतिस्थापन गरिएको छ । जसबाट पूण्य गरे स्वर्ग र पाप गरे नर्कको बास हुनुपर्दछ भन्ने कुरा पुराणहरुमा उल्लेख गरिए अनुरुप त्यसैलाई परापूर्व कालदेखि अदृश्य दैबिक न्याय प्रणालीको रुपमा स्थापित गरेर मानव मात्रलाई आचार संहितामा सुधार गरी सामाजिक न्याय प्रणालीको व्यवस्था गरिएको पाईन्छ ।

मानव कल्याणका लागि दैबी शक्तिलाई ईश्वरीय शक्तिका रुपमा हरेक तहका नैतिक, सामाजिक, आध्यात्मिक र भौतिक सिद्धान्तको प्रतिपादन गरी भौतिकबाद, सांसारिकता र मानवबादको संरचना गरिएको छ । चाहे त्यो भिन्न भिन्न देश होस् या धर्म, चाहे त्यो एउटै समुदायका जातजाती । हरेक क्षेत्र, समुदाय, धर्म र देशमा परापूर्व कालदेखि नै धर्म ग्रन्थहरु निर्माण गरी जन्मनु पूर्व देखि लिएर मृत्‍यु पर्यन्त सम्मका कर्म-काण्डहरु तथा रितिरिवाजहरु पूरा गर्ने गरिन्छ ताकी मानिसले हरेक ब्यक्ति, परिवार र समुदायसँग सम्बन्ध बनाइरहोस ।

यिनै ग्रन्थहरुलाई आधार मानेर बनाइएका नियम कानूनहरु अहिले एक्काइसौं शताब्दीमा विकासोन्मुख देशहरुमा सानालाई ऐन र ठूलालाई चैन पनि भएको छ भने ठूला र बिकसित देशहरुमा यसको कठोरताका साथ पालना गरिएको पाइन्छ । ॠषि मुनीहरु, पतिब्रता नारी तथा असल चरित्र भएकाहरुले दिएको श्राप दण्ड हुन्थ्यो त्यसरी नै आफूले आफ्नो जिवनमा गरेको कर्मको फल मृत्यु पश्चात त्यसै अनुरुप पुरस्कार वा सजायको रुपमा भोग्नुपर्ने कुराबाट समाजलाई सहि दिशा तिर निर्देश गर्ने प्रयत्न गरिएको पाइन्छ भने पछि आएर न्याय प्रणालीमा सुधार गरी सजाय अन्तर्गत बिगो भराउने, काराबास तथा मृत्यु दण्ड आदि सजायको व्यवस्था गरी मानव समाजलाई एक अर्का प्रतिको उत्तर दायित्व र सम्बन्ध असल र दीगो बनाउन उत्प्रेरित गरिएको छ ।

धर्मग्रन्थ र नियम कानूनमा जे जति उल्लेख गरिएता पनि असल आचरण, असल सम्बन्ध र एक अर्का प्रतिको विश्वासले सभ्य समाजको निर्माण हुन्छ जहाँ ईश्वरलाई शृष्टि कर्ता, पालन कर्ता, रक्षक, दु:ख हर्ता जे सुकै भनि बर्णन गरिए पनि हामीले ईश्वरलाई एक साझा अभिभावकको रुपमा हृदयमा राख्नुपर्दछ । जसरी अभिभावक नभएका बाल बच्चाहरुले बाटो बिराउने सम्भावना बढि हुन्छ त्यसरी नै ईश्वरलाई अभिभावकको रुपमा आस्था राखी हृदयमा राख्नाले गलत काम गर्न हामीमा डर पैदा हुन्छ, जसले गर्दा सभ्य समाजको निर्माणमा सहयोग मिल्छ ।

ईश्वरका नाम, रुप जे जति बर्णन गरिए पनि हामी सबैको साझा भगवान एउटै छन भन्ने विश्वास गरिन्छ । हामी जे जति शिक्षित भए पनि ढुङ्गाको मूर्तिमा विश्वाश गर्ने गरिन्छ । यसको एउटै कारण के हो भने ईश्वरलाई कसैले देखेको हुँदैन । त्यसैले ईश्वर हुनुहुन्छ र हामी माझ हुनुहुन्छ भन्ने विश्वाश दिलाउनका लागि मूर्ती बनाई पुज्ने गरिन्छ जसले गर्दा हामीमा ईश्वर प्रतिको आस्था र मनमा भय पैदा हुन्छ र त्यहि भयलाई हामी ईश्वर भनी पुज्छौं ।

हरेक धर्महरुका धर्मग्रन्थहरु हुन्छन । जसले मानव समाजलाई मार्ग दर्शनको रुपमा स्थापित गरिराखेको हुन्छ । जसमा जन्म, मृत्यु र जीवनका नियमहरु बर्णन गरिएका हुन्छन । माता-पिता, छोरा-छोरी, पति-पत्नीका बीचको सम्बन्धहरुको नियम बनाइएका हुन्छन । जन्मे देखि मृत्यु पर्यन्त सम्मका कृयाकलापहरुलाई नियम बनाई कठोरताका साथ पालन गर्न उत्प्रेरित गरिन्छ । यदि यस्ता नियमहरुको पालना गरिएन भने मनुष्य, मनुष्य रहँदैन, पशुहरुको लागि नियम पालना पनि गर्नु पर्दैन ।

भगवान मान्नु र नमान्नु, आफू आस्तिक या नास्तिक जे भए पनि जुन व्यक्ति जसमा ‘भय’ हुँदैन त्यो व्यक्ति अभिभावक बिनाको घर, शिक्षक बिनाको बिद्यालय र असल नेता बिनाको देश जस्तै हुन जान्छ । परिवारमा अभिभावकको भय, समाजमा कानूनको भय र संसारमा ईश्वरिय दैबी शक्तिको भय हुनु अनिवार्य हुन्छ अनि मात्र सभ्य समाजको निर्माण हुन्छ । त्यसैले हामी सबै मिलि-जुली सभ्य समाजको निर्माणमा योगदान पुर्याऔँ, यसमा मानव जगतको कल्याण छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com