कामदार भिसाका लागि दर्ता मार्च ९ बाट, एकाउन्ट मार्च २ बाटै खोल्न सकिने


प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार

अमेरिकाको कामदार भिसा एचवान बीका लागि मार्च ९ बाट अनलाइनमार्फत दर्ता गर्न सकिने भएको छ । तर रोजगारदाताहरुले मार्च २ देखि नै नयाँ एकाउन्ट खोल्नसक्ने र सबै तयारीहरु गर्न सक्ने भएका छन् ।

युएससीआईएसको अनलाइन प्रणालीमा गएर आर्थिक २०२२ का लागि कामदार भिसाका लागि दर्ता गर्न सकिनेछ । मार्च २५ को मध्यान्ह १२ बजेसम्म दर्ता गराउन सकिने युएससीआईएसले जनाएको छ ।

त्यसपछि मार्च २५ देखि मार्च ३१ को बीचमा आवेदनहरु छनौटका लागि लोटरी गरिनेछ । पहिलो लोटरीबाट नियमिततर्फका ६५ हजार कोटालाई पुग्नेगरी छनौट गरिनेछ । त्यसपछि दोश्रो लोटरीबाट एड्भान्स डिग्री अन्तरगत पर्ने २० हजारको छनौट गरिनेछ ।

छानिएकाहरुले अप्रिल १ बाट भिसाका लागि आवेदन दिन सक्नेछन् । जुन ३० सम्म आवेदन दिन सकिने जनाइएको छ । बिलम्ब गरिएका आवेदनहरु युएससीआईएसले स्वीकार नगर्ने जनाइएको छ ।

रोजगारदाताका तर्फबाट आवेदन दिनुपर्ने

अमेरिकाको कामदार भिसा एचवान बी काम गर्न चाहने कामदार आफैले फाइल गर्न मिल्दैन । यसका लागि अमेरिकामा रहेको रोजगारदाता कम्पनीले अमेरिकामा कामदार भिसामा आउन चाहने व्यक्तिलाई जागिरको अफर गरेको हुनुपर्छ । अमेरिकामा रहेको कम्पनीले जागिरको अफर दिइसकेपछि कम्पनीका तर्फबाटमात्र यो भिसाका लागि अनलाइनमार्फत प्रारम्भिक रजिस्ट्रेशन गराउन सकिन्छ । समयमा गराइएका हरेक दर्ताका लागि दर्ता नम्बर उपलब्ध गराइने युएससीआईएसले जनाएको छ ।

दर्ताका लागि युएससीआईएसको अनलाइन एकाउन्ट प्रयोग गर्नुपर्नेछ भने दर्ता शुल्क १० डलर तिर्नुपर्नेछ । आफ्ना सम्भावित कामदारका तर्फबाट आवेदन दिने अमेरिकी रोजगारदाता वा एजेण्टलाई रजिष्ट्यान्टको श्रेणीमा राखिएकाले उनीहरुले रजिष्ट्रयान्ट एकाउन्ट प्रयोग गर्नुपर्नेछ । जुन छिट्टै उपलब्ध हुने युएससीआईएसले जनाएको छ ।

त्यस्तै रोजगारतादाता कम्पनीले कानूनी प्रतिनिधिहरु लगाएको खण्डमा त्यस्ता प्रतिनिधिहरुले आफ्नो एकाउन्टमा ग्राहक कम्पनीलाई थप्न पाउनेछन् । तर सम्भावित कामदारको विवरण भने मार्च ९ पछिमात्र भर्न र पेश गर्न सकिनेछ । त्यस्तै १० डलर शुल्क पनि मार्च ९ पछि नै तिर्न सकिनेछ ।

रोजगारदाता आवेदक वा प्रतिनिधिहरुले एउटा अनलाइन सेसनमा कामदार भिसामा ल्याउन चाहेका धेरैको विवरण एकैपटक पनि समावेश गर्न सक्नेछन् । अन्तिम शुल्क तिर्नुभन्दा अगाडि र सब्मिट गर्नुभन्दा अगाडि यस्तो विवरण सम्पादन गर्न सकिनेछ । तर शुल्क तिरेर सब्मिट गरेपछि भने सम्पादन गर्न सकिनेछैन ।

अमेरिकी सरकारले हरेक बर्ष ८५ हजारलाई कामदारभिसा एचवान बी प्रदान गर्दै आएको छ । त्यसका लागि सरकारले लोटरी प्रणाली गर्दै आएको छ । गत बर्षदेखि विद्युतीय रुपमा अनलाइनबाटै दर्ता गर्न सकिने प्रणालीको सुरुवात गरिएको थियो ।

अमेरिकन कम्पनीले अनलाइनमार्फत प्रारम्भिक दर्ता गरिसकेपछि त्यसमा छनौट भएमा विदेशमा रहेको कामदार अमेरिका आउनका लागि प्रकृया सुरु हुन्छ । उदाहरणका लागि यदि कुनै व्यक्ति नेपालमा छ र उसलाई अमेरिकन कम्पनीले रोजगारको अफर गरेको छ भने सुरुमा अमेरिकन रोजगारदाता कम्पनीले नै आवेदन अनलाइनमार्फत दर्ता गराउनुपर्छ । त्यसमा छनौट भएमा अमेरिकामा रहेको रोजगारदाता कम्पनीले नै प्रकृया अगाडि बढाउँछ । र, युएससीआईएसबाट आवेदन स्वीकृत भएमा नेपालमा रहेको व्यक्ति कामदार भिसा लिएर अमेरिका आउनसक्छ ।

अमेरिकामा रहेका र अमेरिकाबाहिर रहेका स्नातक वा स्नातकोत्तर डिग्री हासिल गरेकाहरुलाई रोजगारदाता कम्पनीले जागिरको अफर गर्न सक्छन् । तर अमेरिकन डिग्री हुनेहरुलाई यसमा विशेष प्राथमिकता दिइएको छ ।

कामदार भिसा एचवान बीका लागि योग्यता

एचवानबी भिसामार्फत आउने पदका लागि कामदारको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।

यो भिसाका लागि रोजगारदाता कम्पनीले नै रकम तिरेर सबै प्रकृया पूरा गर्ने भएकाले भिसा लगाइदिने भन्दै रकम माग्ने ठगहरुबाट सचेत रहन कानूनविदहरुले सुझाव दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com