सय दिन देशनिकाला नगर्ने बाइडेनको योजनामा ट्रम्प नियुक्त न्यायाधिसबाट अनिश्चितकालिन रोक


प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार

एक सयदिन देशनिकाला स्थगित गर्ने बाइडेन प्रशासनको योजना कार्यान्वयनमा अस्थायी रोक लगाएको अदालतले मंगलबार राती अनिश्चितकालिन रोक लगाएको छ । अमेरिकाको डिस्ट्रिक्ट कोर्ट टेक्सासका संघीय न्यायाधिस ड्रिउ टिप्टनले देशनिकाला स्थगन कार्यान्वयनमा रोक लगाउन प्राथमिक आदेश जारी गरेका हुन् ।

एकसय दिनसम्म देशनिकाला स्थगन गर्ने नीतिले संघीय कानूनको उल्लंघन गर्ने र राज्यहरुमाथि आर्थिक भार समेत बढाउने अदालतको ठहर छ । बाइडेनले ट्रम्पकालिन देशनिकालाका नीतिको पुनरावलोकन गर्नका लागि र देशनिकालाका प्राथमिकताहरु परिवर्तन गर्नका लागि एकसयदिन देशनिकाला स्थगित गर्ने घोषणा गरेका थिए ।

न्यायाधिस ट्रिप्टनलाई डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए । उनले सुरुमा जनवरी २६ मा नै देशनिकाला स्थगन कार्यान्वयनमा अस्थायीरुपमा रोक लगाउन आदेश जारी गरेका थिए । अस्थायी रोक दिने आदेशको म्याद हिजो मंगलबार सकिन लागेकोमा सकिनुभन्दा केहीबेर अगाडि उनले देशनिकाला स्थगन कार्यान्वयनमा अनिश्चितकालिन रोक लगाएका हुन् ।

अदालतको यो आदेशले देशनिकाला स्थगन कार्यान्वयनमा रोक लगाएपनि पहिलेकै जस्तोगरी देशनिकाला गर्न बाइडेन प्रशासनलाई बाध्य भने बनाएको छैन । तर बाइडेन प्रशासनको सुरुवात भइसकेपछि पनि अमेरिकाबाट सयौं व्यक्ति देशनिकाला भइसकेका छन्, जसमा नावालक समेत रहेका छन् ।

डिस्ट्रिक्ट कोर्टको यो आदेशलाई बाइडेन प्रशासनले पुनरावेदन गर्ने नगर्ने स्पष्ट छैन ।

यसैबीच बाइडेन प्रशासनले देशनिकालाको नयाँ प्राथमिकता तय गरेको छ । यसै अनुशार इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसलाई नयाँ प्राथमिकताबारे निर्देशन समेत जारी गरिसकेको छ ।

९० दिनका लागि तय गरिएको उक्त निर्देशिका अनुशार निश्चित प्रकारका अपराधमा दोषी ठहरिएकाहरुलाई सार्वजनिक सुरक्षा अन्तरगत देशनिकालाका लागि अनुमति दिइएको छ । ९० दिनभित्र दीर्घकालिन नीति निर्माण गरिने र त्यतीबेलासम्मका लागि यही अस्थायी नीति कार्यान्वयनमा आउने भएको छ ।

आतंकबाद, जासुसी लगायतका कारण राष्ट्रिय सुरक्षामा खतरा रहेकाहरुपनि देशनिकालाको प्राथमिकतामा पर्ने भएका छन् । त्यस्तै सन् २०२० को नोभेम्बर १ पछि गैरकानुनी रुपमा सिमाबाट छिरेकाहरु पनि देशनिकालाको प्राथमिकतामा पर्ने भएका छन् ।

७ पेज लामो उक्त निर्देशिकाको पूर्ण पाठ

आइसका कार्यकारी निर्देशक टाइ जोन्सनले आफ्नो सिमित साधनश्रोत अहिलेका लागि राष्ट्रिय सुरक्षा, सिमा सुरक्षा र सार्जजनिक सुरक्षामा जोखिमपूर्ण व्यक्तिलाईमात्र देशनिकालामा लगाउने बताएका छन् । नयाँ नीति अनुशार आइसका एजेण्टहरुले जो सुकैलाई पनि पक्राउ गरेर देशनिकाला गर्न आवश्यक नभएको र उनीहरुले आफ्नो तजविज अधिकार सुझबुझपूर्ण तरिकाले प्रयोग गर्नसक्ने जनाइएको छ ।

गिरोहका सदस्यहरु, तस्करहरु र आतंकवादीहरुलाई देशनिकालाको उच्च प्राथमिकतामा राखिएको आइसले जनाएको छ । अमेरिकामा बसिरहेका कागजपत्रविहिनहरुले विगतमा कुनै जघन्य अपराध गरेको भएमा उनीहरु सार्वजनिक सुरक्षा अन्तरगत देशनिकालाको प्राथमिकतामा पर्नेछन् ।

कतिपय अधिकारकर्मीहरुले नोभेम्बर १ पछि सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिरेकाहरु देशनिकालाको प्राथमिकतामा राखिएकोमा आपत्ति जनाएका छन् । आइसका अधिकारीहरुले तोकिएको मापदण्डहरु ठीक तरिकाले पूरा नगरेकाहरुलाई देशनिकालाको प्राथमिकतामा राख्ने वा नराख्ने भन्ने सन्दर्भमा आफूभन्दा माथिका अधिकारीबाट स्वीकृति लिनुपर्ने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com