फेरि परीक्षण गरियो मेलम्चीको सुरुङ


प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार

खानेपानी मन्त्रालयको नेतृत्वमा जति आए, सबैले मेलम्चीको पानी आउने आशा देखाए। सचिवदेखि मन्त्री र प्रधानमन्त्रीसम्मले उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने मिति नै तोके। तर पनि पानी आएन। अधिकांशले यसलाई सरकारले देखाएको अनावश्यक सपनासम्म भने।

तर मेलम्चीको पानी काठमाडौं ल्याउने प्रक्रिया फेरि सुरु भएको छ। आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिएसँगै मेलम्चीको पानी ल्याउने प्रक्रिया सुरु हुनेछ। आयोजनाको २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको हो। खानेपानीमन्त्री मणि थापा, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो।

गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना भएको थियो। हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९ नं (७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो। त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंकको अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो।
अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको थियो भने हेलिकप्टरलाई तयारी अवस्थामा राखेको थियो।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने जनाइएको छ। सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि उपत्यकामा वितरण सुरु हुनेछ। सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन्।

यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ। उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com