भट्टको हत्या आरोपी सार्वजनिक, बलात्कार नगरेको बयान, प्रहरीलाई गृहमन्त्रीले दिए धन्यवाद
प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार
बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया भागरथी भट्टको हत्या भएको दुई सातापछि प्रहरीले एक किशोरलाई आरोपितको रूपमा सार्वजनिक गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रमाण र सन्दिग्धको स्वीकारोक्तिका आधारमा उनलाई सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । उनलाई दुई दिनअघि नियन्त्रणमा लिइएको थियो ।
भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरले ढुकेर उनको हत्या गरेको बयान दिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा भट्टका बलात्कार तथा हत्या आरोपीबारे जानकारी दिइएको हो।
सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले ती किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेको जानकारी दिए ।
ती किशोर दोगडाकेदार गाउँपालिका ७ का भागरथी भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत रहेको जनाइएको छ ।
माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएको र साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए।
‘घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मार्ने उदेश्यले कुरेर बसेको देखियो,’ उनले भने, ‘भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखियो,’ डिआइजी सुवेदीले भने।
तर, किशोरले बलात्कार भने नगरेको प्रहरीको बयानमा भनेका छन्। तर, पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो।
ती किशोर सोही ठाउँका हुन्। उनले रिसिइबीका कारण हत्या गरेको प्रहरीमा भनेका छन्।
तर, प्रहरीले अनुसन्धानमा बाधा पर्ने भन्दै सो रिसिइबीबारे अहिले खुलाएको छैन।
भारगरथीको हत्याभएपछि हत्यारालाई कारवाही गर्न माग गर्दै नागरिक स्तरबाट भएको आन्दोलनमा ती हत्या आरोपी पनि सहभागी थिए ।
यसैबीच गृहमन्त्री रामबहादुर थापा बादलले भागरथी भट्टको हत्यामा संलग्न अभियुक्तलाई पक्रन सफल भएको भन्दै नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।
गृहमन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारवाहीको दायरामा आएका छन् । निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद । सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहर्याउन चाहन्छु ।’






