सकियो टीपीएसको अवधि, ४ हजारलाई अमेरिका छाड्न चेतावनी


प्रकाशित मिति : जेष्ठ ६, २०७४ शनिबार

टीपीएस प्राप्त तीनदेशका झण्डै ४ हजार नागरिकलाई दुईदिनभित्र अमेरिका छाडेर स्वेदश फर्कन अमेरिकी सरकारले चेतावनी दिएको छ । गायना, लाइबेरिया र सिरिया लिओनका नागरिकलाई अमेरिकामा प्रदान गरिएको टीपीएसको अवधि मे २० बाट सकिएको छ ।

टीपीएसको अवधि नथपिएपछि टीपीएसप्राप्त ती देशका नागरिकहरु अब स्वदेश फर्कनुपर्ने भएको हो ।

इबोला भाइरसका कारण ती देशका नागरिकहरुलाई अमेरिकामा टीपीएस प्रदान गरिएको थियो । तर अब इबोलाको खतरा नरहेको भन्दै टीपीएसको अवधि थपिएको छैन । टीपीएसको अवधि नथपिएपछि टीपीएस प्राप्त ती देशका नागरिकहरु अमेरिकामा समस्यामा पर्ने भएका छन् ।

सिरिया लिओनका ११८० जना, गायनाका ९३० जना र लाइबेरियाका २१६० जनाले अमेरिकामा टीपीएस लिएका छन् । उनीहरुसँग आगामी मे २१ भित्र अरु इमिग्रेशन स्टेटस नरहेको अवस्थामा अमेरिका छाड्ने तयारी गर्न वा अन्य इमिग्रेशन सुविधाका लागि आवेदन दिन अमेरिकी सरकारले सुचित गरेको छ ।

आगामी मे २१ मा टीपीएसको अवधि सकिने र अरु कुनै कानुनी स्टेटस नभएकाहरु देशनिकाला हुनबाट संरक्षित नहुने युएससीआईएसले जनाएको छ ।

अमेरिकामा ८ हजार ९ सय ५० जना नेपालीहरु टीपीएसबाट संरक्षित छन्, जसको अवधि सन् २०१८ को जुन २४ मा सकिदैछ । टीपीएसको अवधि नथपिएमा अन्य कानुनी स्टेटसका लागि आवेदन नदिएका वा नपाएका नेपालीहरुले पनि सन् २०१८ को जुन २४ पछि अमेरिका छाड्नुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com