बाइडेनले मंगलबार उल्टाएको ट्रम्पकालिन मेमोको अमेरिका आउने नेपालीमा के असर पर्छ?


प्रकाशित मिति : माघ २१, २०७७ बुधबार

अमेरिकामा आएर स्वास्थ्य, आवास वा खाद्यान्नबारे सरकारी सुविधा लिनेहरुका सन्दर्भमा उनीहरुले सुविधा लिएको रकम उनीहरुलाई स्पोन्सर गर्नेहरुबाट तिराउने ट्रम्पको मेमोलाई बाइडेनले मंगलबार खारेज गरिदिए । यो मेमो ट्रम्पले सन् २०१९ को मे २३ मा जारी गरेका थिए ।

यो मेमो खारेजीको प्रत्यक्ष प्रभाव अमेरिका आउन चाहने नेपालीहरुमा पनि पर्नेछ । अमेरिकामा आउने कुनैपनि आप्रवासीले मेडिकेड लगायतका सरकारी सुविधाहरु प्रयोग गरेमा उक्त रकम स्पोन्सरकर्ताबाट भराउने नियम नयाँ होइन । तर यो कार्यान्वयनमा थिएन । ट्रम्पले कार्यान्वयनका लागि मेमो जारी गरेपनि व्यवहारिक रुपमा भने स्पोन्सरकर्ताबाट भराउनेगरी कार्यान्वयनमा आएको थिएन ।

तर यो मेमोका कारण विभिन्न आप्रवासी भिसामा नेपालबाट अमेरिका आउन चाहनेहरुलाई स्पोन्सर गर्न उनीहरुका आफन्त वा साथीहरु डराउने गरेका थिए । त्यसैले पछिल्लो समयमा डिभी विजेताहरुदेखि अन्य आप्रवासी भिसामा अमेरिकामा आउनेहरुलाई स्पोन्सरकर्ता खोज्न मुस्किल हुने गरेको थियो । स्पोन्सर गर्ने कतिपयले आप्रवासी भिसामा आउनेहरुबाट मोटो रकम लिने गरेका समाचारहरु समेत आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा आउने आप्रवासीले सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट सरकारलाई भराउने प्रावधान झण्डै २५ बर्ष पुरानो प्रावधान हो ।

डिभी लोटरी, परिवारमा आधारित वा रोजगारमा आधारित ग्रिनकार्डमा अमेरिका आउने आप्रवासीका लागि अमेरिकी ग्रिनकार्ड होल्डर वा नागरिकले स्पोन्सर गर्नुपर्ने प्रावधान रहेको छ । त्यसका लागि फर्म आई ८६४ वा आई १३४ भर्नुपर्छ ।

सन् १९९६ मा ल्याइएको गैरकानुनी अध्यागमन सुधार र आप्रवासी उत्तरदायित्व ऐन अन्तरगत कुनै व्यक्ति अमेरिका आएर सरकारी वेलफेयर लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताले सरकारलाई गराउनुपर्ने प्रावधान ल्याइएको थियो । तत्कालिन राष्ट्रपति बिल क्लिन्टनले हस्ताक्षर गरेको यो प्रावधान संघीय कानुन बनेपनि व्यवहारत कार्यान्वयन भएको थिएन ।

प्रावधान अनुशार अमेरिकामा कुनै पनि आप्रवासीलाई स्पोन्सर गर्दा त्यस्तो सपथपत्रमा हस्ताक्षर गर्नुपर्नेछ, जसमा अमेरिकामा आउने व्यक्तिले कुनै सरकारी सुविधा लिएको खण्डमा त्यसको क्षतिपूर्ति हस्ताक्षरकर्ताले सरकारलाई गर्नुपर्नेछ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले स्पोन्सरकर्ता र आप्रवासीको सबै विवरणहरु संकलन गर्नेछ भने ट्रेजरी डिपार्टमेन्टले स्पोन्सरकर्ताबाट क्षतिपूर्ति भराउनेछ ।

अमेरिका आउनेलाई स्पोन्सर गर्ने आई ८६४ र आई १३४ फर्ममा के भिन्नता छ ?

अमेरिकामा विभिन्न प्रकारका आप्रवासी भिसामा आउनका लागि दुई प्रकारका स्पोन्सर फर्मको आवश्यकता पर्छ । सामान्यतया परिवारमा आधारित भिसाका लागि स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्नुपर्छ भने रोजगारमा आधारित, डिभी लोटरी र मंगेतर भिसा के वानका लागि आई १३४ नामको स्पोन्सर फर्म भर्नुपर्छ ।

प्रयाप्त आम्दानी भएका, अमेरिकामा आप्रवासी भिसामा आउने व्यक्तिका आवेदक वा नजिकका व्यक्तिले यस्तो फर्म भरेर अमेरिकामा आप्रवासी भिसामा आउनेहरुलाई स्पोन्सर गर्न सक्छन् । सामान्यतया भिजिटर लगायतका गैर आप्रवासी भिसाका लागि यस्तो स्पोन्सर फर्म आवश्यक नभएपनि ग्रिनकार्ड पाउने गरी आउने भिसाका लागि भने दूतावासले यस्तो स्पोन्सर माग्ने गरेको छ ।

यी दुई प्रकारका स्पोन्सरमा केही विशेष भिन्नताहरु रहेका छन् । मुख्य भिन्नता भनेको फर्म आई ८६४ भर्ने स्पोन्सरकर्ताले स्पोन्सर गरिएको व्यक्ति अमेरिकामा आएर सरकारी सुविधा खाएमा त्यसको क्षतिपूर्ति सरकारलाई तिर्नुपर्ने हुनसक्छ भने आई १३४ स्पोन्सरमा त्यस्तो बाध्यता नहुनसक्छ । आई १३४ को तुलनामा आई ८६४ फर्म भर्दा किन बढी सचेत हुनुपर्छ ? दुई फर्मको भिन्नता के हो ? कानुन व्यवसायी केशव सेडाईका महत्वपूर्ण सुझाव ।

स्पोन्सर गर्ने आई ८६४ भर्दा कतिबर्षसम्म स्पोन्सर गरिएको व्यक्तिप्रति जिम्मेबार हुनुपर्छ ?

अमेरिकाको अध्यागमन कानुन अनुशार कुनै पनि अमेरिका आउने व्यक्तिलाई स्पोन्सर गर्दा सहयोगको प्रतिज्ञापत्र आई ८६४ भरेको खण्डमा स्पोन्सर गरिएको व्यक्तिको सबै आर्थिक जिम्मेबारी स्पोन्सर गर्ने व्यक्तिले लिनुपर्छ । खासगरी कुनै पनि व्यक्ति अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्नेगरी आउने क्रममा यस्तो खालको स्पोन्सर आवश्यक हुन्छ ।

स्पोन्सर गरिएको व्यक्ति अमेरिकामा आइसकेपछि अमेरिकी नागरिक नबन्दासम्म उक्त फर्म भने स्पोन्सरकर्ता जिम्मेबार हुनुपर्छ । यदि स्पोन्सर गरिएको व्यक्ति अमेरिकी नागरिक नभएको खण्डमा कम्तीमा १० बर्ष अर्थात् कामको ४० क्वाटरसम्म जिम्मेबार हुन्छ ।

अमेरिकी अध्यागमन कानुनको २१३ ए र २१२ ए, ४ अनुशार स्पोन्सर गरिएको व्यक्तिले अमेरिकामा सरकारी सुविधा लिएको खण्डमा त्यसको क्षतिपूर्ति सरकारले स्पोन्सरकर्ताबाट भराउन सक्नेछ ।

अमेरिकी नागरिकका बुबाआमा, दम्पत्ति, २१ बर्ष मुनीका अविवाहित छोराछोरी लगायत पारिवारिक ग्रिनकार्डमा कुनै पनि व्यक्ति अमेरिका आउँदा यस्तो फर्म भर्नुपर्छ । त्यस्तै रोजगारमा आधारित कुनै ग्रिनकार्ड प्राप्त गर्नेगरी आउँदा पनि यस्तो फर्म भर्नु आवश्यक हुन्छ ।

सहयोगको प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुको अर्थ तपाईले स्पोन्सर गरिएको व्यक्तिको सम्पूर्ण आर्थिक जिम्मेबारी लिनु हो । सामान्यता ४० क्रेडिट क्वाटर अर्थात् १० बर्षसम्म वा उक्त व्यक्ति अमेरिकी नागरिक नबन्दासम्म यस्तो जिम्मेबारी कायम रहन्छ ।

स्पोन्सर गरिएको व्यक्तिको मृत्यु भएमा वा ग्रिनकार्ड त्यागेर अमेरिकाबाट बाहिर गएमा भने त्यस्तो जिम्मेबारी समाप्त हुन्छ । तर डिभोर्स भएको खण्डमा मात्र भने स्पोन्सरसिपको जिम्मेबारी समाप्त हुँदैन । यदि कुनै व्यक्तिले आफ्नो दम्पत्तिका लागि स्पोन्सर गरेको छ तर पछि डिभोर्स भयो भने पनि आर्थिक जिम्मेबारी कायमै रहन्छ ।

स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा र स्पोन्सर गरेको व्यक्तिले उक्त रकम सरकारलाई नतिरेमा त्यस्ता स्पोन्सरकर्तालाई सरकारले अदालतमा उपस्थीत गराउनसक्नेछ । आवेदन दिएको स्पोन्सरकर्ताबिरुद्ध सरकारले मुद्दा नहालेको खण्डमा समेत ज्वाइन्ट स्पोन्सर गरेको व्यक्तिलाई रकम क्षतिपूर्तिका लागि सरकारले मुद्दा हाल्न सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com