डलर एकाउन्टविना नेपाली कार्ड प्रयोग गरेर विदेशी वेवसाइटबाट किन्न मिल्ने सुविधा ल्याउँदै राष्ट्र बैंक
प्रकाशित मिति : माघ १७, २०७७ शनिबार
नेपाल राष्ट्र बैंकले नेपालका बैंकमा नेपाली मुद्रामा खाता हुनेहरुले विदेशमा अनलाइन सेवा वा सामान किन्न नसकिने प्रावधानको अन्त्य गरेर नेपालबाट अनलाइनमार्फत् विदेशी सामान वा सेवा खरिद गर्न मिल्ने गरी डलरमा भुक्तानी गर्न सक्ने व्यवस्था गर्न लागेको छ । यो व्यवस्था एक महिनाभित्रै सुरु गर्ने योजना बनाइएको छ ।
तर एक जनाले एकबर्षमा वर्ष अधिकतम ५ सय अमेरिकी डलरसम्ममात्र खर्च गर्न पाउने गरी व्यवस्थाका लागि पहल भइरहेको जनाइएको छ । उपभोक्ताहरुले प्रिपेड डलर कार्ड लिएर सो कार्ड अनलाइन किनमेलका लागि विदेशी वेबसाइटमा प्रयोग गर्न सक्नेछन् ।
यो व्यवस्था लागु भएपछि नेपालबाट पनि विदेशी वेवसाइटहरुमा सेवाहरु किन्न सकिनेछ । विदेशी वेवसाइटबाट टिकट खरिददेखि होटल बुकसम्म गर्न सकिनेछ । त्यस्तै फेसबुक, नेटफ्लीक्स, अमेजन लगायतलाई पनि नेपालबाटै भुक्तानी गर्न सकिनेछ ।

हाल वाणिज्य बैंकहरूमार्फत् विदेशी वस्तु भुक्तानी तथा सेवाका लागि तीन हजार डलरसम्म भुक्तानी गर्न सकिने, केन्द्रीय बैंकको स्वीकृतिमा १० हजार डलरसम्मको भुक्तानी दिन सक्ने र १० हजार डलर भुक्तानी गर्नुपर्ने भए सम्बन्धित पक्ष सिधै राष्ट्र बैंकमा पुगेर स्वीकृति लिने र रकम तिर्न सक्ने व्यवस्था छ।
नेपालमा होटेल र रेमिट्यान्स सम्बन्धी सेवा दिइरहेका कम्पनी लगायत अन्य विभिन्न क्षेत्र गरी करिब ३५ सय संस्थाहरूले विदेशी मुद्रामा कारोबार गर्नका लागि राष्ट्र ब्याङ्कसँग अनुमति लिएका छन्।
नयाँ व्यवस्था लागु भएपछि सर्वसाधारणहरूले अनलाइन माध्यमबाटै वा प्रिपेड कार्डमार्फत् भुक्तानी गर्न पाउनेछन्।
तर त्यसका लागि नियमित कार्ड नभई छुट्टै प्रिपेड कार्ड लिनुपर्ने जनाइएको छ । यो व्यवस्थाबाट फेसबुक जस्ता विभिन्न माध्यमहरूमा नेपालबाट विज्ञापन भइरहेकोमा त्यसको हिसाबकिताब समेत देखिने अपेक्षा गरिएको छ ।
सरकारले सानोतिनो कारोबार गर्न पाइने गरी विदेशी मुद्रामा भुक्तानी खुला गर्ने भए पनि नेपालको कानुनअनुसार गर्न नपाइने कारोबारमा भने रोक लगाइने छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको सामान वा सेवा लिएको थाहा पाए कारबाही गरिने छ ।
अश्लील तथा यौनजन्य सामग्री राखिएका पोर्न वेबसाइट, आतङ्कवाद वा त्यससँग जोडिएका विषयसँग सम्बन्धित, नेपालले पहिलेदेखिनै कडीकडाउ गरेका देशहरूसँग कारोबार गर्न नपाउने जनाइएको छ ।
यसबारे विस्तृत रिपोर्ट बीबीसी नेपाली सेवाले प्रकाशित गरेको छ ।






