भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो
प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा १८ हजार ८ सय ५५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार ४८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १ सय ६३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार १० जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ९४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ७१ हजार ६ सय ८६ सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १ सय ९९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८ सय ३५ को मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ५० लाख ८१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र सात लाख ४२ हजार ३ सय ६ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।






