मार्च ३१ सम्म डिभी लोटरी लगायतका भिसामा लगाइएको रोक बाइडेनले खारेज गर्ने


प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले मार्च ३१ सम्म डिभी लोटरी लगायतका विभिन्न आप्रवासी र कामदार भिसामा लगाएको रोक कार्यकारी आदेशमार्फत खारेज गर्ने भएका छन् । महामारीका कारण उत्पन्न आर्थिक मन्दीमा अमेरिकी कामदारलाई संरक्षण प्रदान गर्न भन्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च ३१ सम्मका लागि विभिन्न प्रकारका आप्रवासी भिसा र कामदार भिसामा रोक लगाएका थिए ।

बाइडेनले उक्त आप्रवासन रोकलाई खारेज गर्न कार्यकारी आदेश जारी गर्ने ह्वाइटहाउसका अधिकारी इस्थर ओलाभारियाले मेयरहरुसँगको एउटा भर्चुअल बैठकमा बाताएका हुन् । तर त्यस्तो कार्यकारी आदेश कहिले जारी गर्नेभन्नेबारे केही खुलाइएको छैन । इस्थर ओलाभारिया राष्ट्रपति बाइडेनका एकजना उच्च अध्यागमन सल्लाहकार हुन् भने ह्वाइट हाउसका घरेलु नीति काउन्सिलका डेपुटी डाइरेक्टर समेत हुन् ।

आप्रवासनमा रोक लगाउने नीतिहरुले आप्रवासीहरुले अमेरिकाको अर्थतन्त्र, संस्कार र समाजको निर्माणमा गरेको दशकौं र अझ शताब्दी लामो योगदाको वेवास्ता गरेकाले त्यस्ता नीतिलाई खारेज गरेर आप्रवासीलाई स्वागत गर्ने र उनीहरुको योगदानको सम्मान गर्ने ह्वाइटहाउसका अधिकारीले बताए । भोलि शुक्रबार ट्रम्पले जारी गर्ने अध्यागमनबारेका केही आदेशमा ढिलाई हुने बताइएपनि छिट्टै अध्यागमन बारेका महत्वपूर्ण कार्यकारी आदेशहरु जारी गरिने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले कार्यभार सम्हाल्नुभन्दा झण्डै ३ साता अगाडि ट्रम्पले आप्रवासी र कामदार भिसामा रोक लगाउने आदेश मार्च अन्त्यसम्मका लागि थप गरेका थिए । जसका कारण पारिवारिक आधारमा ग्रिनकार्ड फाइल गरेर आप्रवासी भिसामा अमेरिका आउनेहरुदेखि डिभी लोटरी परेर अमेरिका आउनेहरुसम्म मारमा परेका छन् ।

सन् २०२० को डिभी लोटरी विजेताहरुमध्ये सेप्टेम्बरमा भिसा पाएकाहरु आप्रवासन रोकका कारण अमेरिका आउन पाएका छैनन् । उनीहरु मार्चभरमा अमेरिका आइसक्नुपर्ने प्रावधान रहेको छ । त्यस्तै आप्रवासन रोककै कारण आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुले पनि अहिलेसम्म भिसा पाउन सकेका छैनन् ।

सेप्टेम्बरमा भिसा पाएका सन् २०२० को डिभी लोटरी विजेताहरु मार्चभित्र अमेरिका आइसक्नुपर्नेहुन्छ । अन्यथा उनीहरुको भिसाको अवधि समाप्त हुनेछ ।

ग्रिनकार्डवाहकले परिवारमा आधारित ग्रिनकार्डमा मार्चको अन्त्यसम्म परिवारका सदस्यहरुलाई अमेरिका ल्याउन पाएका छैनन् भने रोजगारमा आधारित ग्रिनकार्डमा समेत अमेरिका आउन पाएका छैनन् ।

अमेरिकी नागरिकले आफ्ना दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुलाई अमेरिका ल्याउन भने कुनै रोक छैन ।  तर अमेरिकी दूतावास र कन्सुलेटहरु कोरोनाको महामारीका कारण सिमित कार्यक्षमतामा मात्र संचालन भइरहेका छन् भने नियमित भिसा सेवा सुचारु गरिएको छैन ।

नियमित भिसा सेवा सुचारु नभएपनि अमेरिकी दूतावास काठमाडौंबाट डिसेम्बरमा ९१५ भिसा जारी

भिसा पाएका झण्डै ४ सय नेपाली नेपालमै रोकिए

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस अमित मेहताले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न आदेश दिएपछि सेप्टेम्बरको दोश्रो सातादेखि डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाएका थिए । तर उनीहरु ट्रम्पको आप्रवासन रोक जारी रहँदासम्म अमेरिका आउन नपाउने भएकाले नेपालमै रोकिएका छन् ।

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरु ४०४ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  भिसा पाउनमा ढिलो भएको छ ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com