मार्च अन्त्यसम्म ट्रम्पले लगाएको आप्रवासन रोकबारे बाइडेन प्रशासन मौन


प्रकाशित मिति : माघ १०, २०७७ शनिबार

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च अन्त्यसम्म लगाएको आप्रवासन रोकबारे बाइडेन प्रशासन मौन रहेको छ । ट्रम्पले लगाएको महामारी सम्बन्धित उक्त आप्रवासन रोक हटाउने बाइडेन प्रशासनको योजना भए नभएकोबारे संचारकर्मीहरुको जिज्ञासामा बाइडेन प्रशासनले कुनै प्रतिकृया जनाएको छैन ।

यसबारे बाइडेन प्रशासनलाई सोधिएको भएतापनि कुनै जवाफ नआएको रोयटर्सले जनाएको छ । उक्त प्रतिबन्धबिरुद्धको एउटा मुद्दामा कानुन व्यवसायी कर्टिस मोरिसनले झण्डै ५ हजारलाई प्रतिनिधित्व गरिरहेका छन् । ट्रम्पको आप्रवासन रोकको मारमा ठूलो संख्यामा डिभी विजेता नेपालीहरु परेका छन् । गत सेप्टेम्बरमा भिसा पाएका तर अहिलेसम्म अमेरिका आउन नपाएकाहरुमा अन्यौल कायम रहेको छ ।

ट्रम्पको रोक नहटाइएको खण्डमा गत सेप्टेम्बरमा भिसा पाएका तर ट्रम्पको प्रतिबन्धका कारण मार्चभित्र अमेरिका आउन नपाएकोहरुमा भिसा बाइडेन प्रशासनले थप्नसक्ने सम्भावना रहेको कानून व्यवसायी केशवराज सेडाईले बताउनुभयो । तर अहिले नै उक्त सम्भावनाबारे किटानका साथ भन्न सकिने अवस्था भने नरहेको उहाँको भनाई छ ।

आप्रवासन रोकका कारण आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुले अहिलेसम्म भिसा पाउन सकेका छैनन् भने आर्थिक बर्ष २०२० का लागि डिभी पारेका र गत सेप्टेम्बरमा भिसा पाएका डिभी विजेताहरु पनि अमेरिका आउन पाएका छैनन् ।

सेप्टेम्बरमा भिसा पाएकाहरु मार्चभित्र अमेरिका आइसक्नुपर्नेहुन्छ । अन्यथा उनीहरुको भिसाको अवधि समाप्त हुनेछ । तर मार्च ३१ सम्मका  डिभी लोटरी लगायतका आप्रवासी भिसामा रोकका कारण उनीहरुले प्राप्त गरेको भिसा के हुने भन्नेबारे अझै स्पष्ट छैन । उनीहरुको भिसा थप हुने नहुनेबारे पनि स्पष्ट छैन ।

ग्रिनकार्डवाहकले परिवारमा आधारित ग्रिनकार्डमा मार्चको अन्त्यसम्म परिवारका सदस्यहरुलाई अमेरिका ल्याउन पाएका छैनन् भने रोजगारमा आधारित ग्रिनकार्डमा समेत अमेरिका आउन पाएका छैनन् ।

अमेरिकी नागरिकले आफ्ना दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुलाई अमेरिका ल्याउन भने कुनै रोक छैन ।  तर अमेरिकी दूतावास र कन्सुलेटहरु कोरोनाको महामारीका कारण सिमित कार्यक्षमतामा मात्र संचालन भइरहेका छन् भने नियमित भिसा सेवा सुचारु गरिएको छैन ।

नियमित भिसा सेवा सुचारु नभएपनि अमेरिकी दूतावास काठमाडौंबाट डिसेम्बरमा ९१५ भिसा जारी

भिसा पाएका झण्डै ४ सय नेपाली नेपालमै रोकिए

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस अमित मेहताले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न आदेश दिएपछि सेप्टेम्बरको दोश्रो सातादेखि डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाएका थिए । तर उनीहरु ट्रम्पको आप्रवासन रोक जारी रहँदासम्म अमेरिका आउन नपाउने भएकाले नेपालमै रोकिएका छन् ।

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरु ४०४ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  भिसा पाउनमा ढिलो भएको छ ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com