सय दिने देशनिकाला स्थगन कार्यान्वयन सुरु, को को योग्य हुनेछन् ?


प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार

अमेरिकाका अध्यागमन अधिकारीहरुले एकसय दिनको देशनिकाला स्थगन कार्यान्वयन सुरु गरेका छन् । आजदेखि लागु हुने गरी बाइडेन प्रशासनले एकसय दिनसम्मका लागि निश्चित प्रकारका देशनिकालाका आदेश कार्यान्वयनमा रोक लगाउने नीति ल्याएको थियो ।

यो नीति अन्तरगत सन् २०२० को नोभेम्बर १ अगाडि अमेरिका छिरेकाहरुलाई कम्तीमा मेसम्मका लागि देशनिकाला नगरिने भएको छ । राष्ट्रिय सुरक्षामा खतरा रहेकाहरु, आतंकवाद वा जासूसीमा संलग्न भएकाहरुले भने देशनिकालाबाट छुट पाउनेछैनन् ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका प्रमुखले देशनिकाला स्थगनका सन्दर्भमा अन्य अपवादजन्य निर्णयहरु पनि गर्नसक्ने जनाइएको छ । देशनिकालाको आदेश पाइसकेकाहरु र आफै अमेरिका छाड्न चाहनेहरु भने अमेरिका छाडेर जानसक्ने जनाइएको छ ।

फरबरी १ देखि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी नयाँ अन्तरिम निर्देशिका समेत जारी गर्ने जनाइएको छ । जस अन्तरगत इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसलाई निश्चित प्रकारका आप्रवासीलाईमात्र पक्राउ गर्न र देशनिकाला गर्न निर्देश गरिने भएको छ । संघीय, राज्य र स्थानीय जेलबाट छुटेका निश्चित प्रकारका अपराधमा संलग्न भएकाहरु, अमेरिका छिरेको केहीदिनभित्रै सिमाक्षेत्रमा पक्राउ परेकाहरु र राष्ट्रिय सुरक्षामा खतरा भएकाहरुलाई पक्राउ र देशनिकालाको प्राथमिकतामा राखिने भएको छ ।

राष्ट्रिय सुरक्षा, सिमा सुरक्षा र जनसुरक्षा लक्ष्यीत निष्पक्ष र प्रभावकारी अध्यागमन कार्यान्वयन प्रणाली भएको सुनिश्चित गर्न निश्चित प्रकारका देशनिकाला कार्यान्वयनमा रोक लगाइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले स्पष्ट पारिसकेको छ । देशनिकाला स्थगनको अवधिमा होमल्याण्ड सेक्युरिटीले विश्वब्यापी महामारीको बीचमा दक्षिण पश्चिम सिमाक्षेत्रमा कामकारवाहीको चुनौतिसहित डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई आफ्ना श्रोतहरु दवावमुलक चुनौतिको सामना गर्न सक्षम भए नभएको सुनिश्चित गर्ने भएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यवाहक सेक्रेटरीले मेमोमा हस्ताक्षर गर्दै सीबीपी, आईस र युएससीआईएसलाई अध्यागमन कानुन कार्यान्वयन नीति पुनरावलोकन गर्न र सर्वधारणका लागि अध्यागमन कानुन कार्यान्वयनमा लागि अन्तरिम नीतिहरु बनाउन निर्देशन दिएका थिए । ओबामा प्रशासनले अपराधको पृष्ठभूमि नभएका तथा राष्ट्रिय सुरक्षा, सिमा सुरक्षा र जनसुरक्षामा खतरा नरहेकाहरुलाई देशनिकालाको प्राथमिकतामा राखेको थिएन । बाइडेन प्रशासनले नीतिलाई त्यही अवस्थामा लैजान खोजेको देखिएको छ ।

तर देशनिकाला स्थगनको केही रिपब्लिकनहरुले विरोध गरेका छन् । शुक्रबार टेक्सासका एटोर्नी जनरलले देशनिकाला स्थगनगर्ने नीतिको विरोध गर्दै बाइडेन प्रशासनबिरुद्ध मुद्दा दायर गरेका छन् । देशनिकाला स्थगनको नीतिले अपराधमा संलग्नहरुलाई संरक्षण प्रदान गर्नसक्ने भन्दै ट्रम्प प्रशासनमा आइसको नेतृत्व गरेका थोमस होल्मनले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com