सिमाक्षेत्रमा कडाई गर्न बाइडेनले पर्खालको साटो प्रविधि प्रयोग गर्ने


प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार

❒  अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले सपथ ग्रहण गर्ने बित्तिकै अमेरिका छिर्न पाइने आशामा हजारौंको लस्कर अमेरिकातिर तर बाइडेनको तत्कालिन प्राथमिकतामा नयाँ आउने आप्रवासीहरु नभई अमेरिकाभित्रै रहेका कागजपत्रविहिन 

❒  बाइडेन राष्ट्रपति हुनासाथ अमेरिकाको सिमाक्षेत्र खुल्ला नहुने, बाइडेनले सिमाक्षेत्रमा कडाई गर्न पर्खालको साटो प्रविधि प्रयोग गर्ने योजना

❒  जनवरी ८ सम्म ट्रम्पले सिमाक्षेत्रमा लगाए ४५३ माइल पर्खाल, ट्रम्पले बनाउन सुरु गरेको भौतिक पर्खाल भने बाइडेनले एक इन्च पनि थप नगर्ने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले सपथ ग्रहण गर्ने बित्तिकै अमेरिका छिर्न पाइने आशामा हजारौंको लस्कर अमेरिकातिर अगाडि बढिसकेको छ । तर बाइडेनको तत्कालिन प्राथमिकतामा नयाँ आउने आप्रवासीहरु नभई अमेरिकाभित्रै रहेका कागजपत्रविहिन आप्रवासीहरु रहेका छन् ।

बाइडेन राष्ट्रपति हुनासाथ अमेरिकाको सिमाक्षेत्र खुल्ला हुनेछैन । बरु बाइडेनले सिमाक्षेत्रमा कडाई गर्न पर्खालको साटो प्रविधि प्रयोग गर्ने योजना बनाएका छन् । सिमा सुरक्षाका लागि बाइडेनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सिमाक्षेत्र र पोर्ट अफ इन्ट्रीमा नयाँ सुरक्षा व्यवस्था लागु गर्न प्रविधि र त्यस्तै अन्य संरचनाको प्रस्ताव तयार गर्न आव्हान गर्ने योजना बाइडेनको छ ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ।

ट्रम्पले बनाउन सुरु गरेको भौतिक पर्खाल भने बाइडेनले एक इन्च थप नगर्ने बताइसेका छन् । तर बनाइसकेको पर्खाल भने बाइडेनले भत्काउने छैनन् । ट्रम्पले अमेरिका र मेक्सिकोको १९५४ माइल लामो सिमाक्षेत्रमा एकहजार माइल पर्खाल लगाउने प्रतिबद्धता जनाएका थिए । जनवरी ८ सम्म सिमाक्षेत्रमा ४५३ माइल पर्खाल लगाइसकिएको छ ।

अधिकांश स्थानमा पुरानौ तारबारका ठाउँमा नयाँ पर्खाल लगाइएको हो भने झण्डै ८० माइल क्षेत्रमा भने पहिले कुनै पनि तारबार थिएन, त्यहाँ नयाँ पर्खाल लगाइएको जनाइएको छ । जनवरी ८ पछिसमेत निर्माणकार्य जारी रहेकाले ट्रम्पको कार्यकालमा झण्डै ५ सय माइल पर्खाल लगाइएको जनाइएको छ ।

सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित हुँदा डोनाल्ड ट्रम्पको एउटा मुख्य एजेण्डा अमेरिकी सिमानामा पर्खाल लगाउनु रहेको थियो । ट्रम्पले कार्यकाल सम्हाल्नु अगाडि अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा ६५४ माइल तारबार लगाइएको थियो । जसमध्ये ३५४ माइल पैदलयात्रीलाई रोक्ने अवरोध थियो भने ३ सय माइल गाडी आउनबाट रोक्ने अवरोध थियो ।

अब मेक्सिको र अमेरिकाको सिमाक्षेत्रमा झण्डै आधा क्षेत्रमा तारबार र पर्खाल लागिसकेको छ । ट्रम्पले कंक्रिटको पर्खाल लगाउनेबारे कुरा गरेपनि सिमानामा लगाइएको पर्खाल र बार स्टीलको हो । १८ देखि ३० फिटसम्मको यस्तो बार लगाइएको छ । जुन नाघेर आउन निकै मुस्किल हुनेछ भने बोर्डर एजेन्टले वारपार हेर्न सक्नेछन् ।

अहिलेसम्म ६ लाख टनभन्दा धेरै स्टील प्रयोग गरिसकिएको छ भने साढे ८ लाख क्युबिक यार्ड कंक्रिट प्रयोग गरिसकिएको छ । पर्खाल निर्माणका लागि ५ बिलियन बजेट सीबीपीबाट र १० बिलियन रक्षा मन्त्रालयबाट संकटकाल लगाएर निकालिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com