विदेशका दुःख सम्झेर तरकारी खेतीमा रमाउँदै युवा


प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार

❒ चौधरीलाई पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उनले वार्षिकरूपमा रु आठ लाख बढी आम्दानी गर्दै आएका छन् ।

❒ “धेरै पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएको थिएँ”, उनले भने, “अत्यधिक गर्मीका कारण पेट दुख्ने र खुट्टा दुख्नेलगायत स्वास्थ्य समस्याले काम गर्न नपाइ घर फिर्ता भएँ । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा र पछि उपचार गर्न लागेको कर्जा तिर्न निकै समस्या थियो ।”

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उनले वार्षिकरूपमा रु आठ लाख बढी आम्दानी गर्दै आएका छन् । विदेशमा दुःख गर्दासमेत गतिलो आम्दानी हात पार्न नसकेका उनले बारीमा तरकारी रोप्न थालेपछि विगतका दुःखका दिन बिर्सेका छन् ।

दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेविया गएका उनलाई स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका हुन् । “धेरै पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएको थिएँ”, उनले भने, “अत्यधिक गर्मीका कारण पेट दुख्ने र खुट्टा दुख्नेलगायत स्वास्थ्य समस्याले काम गर्न नपाइ घर फिर्ता भएँ । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा र पछि उपचार गर्न लागेको कर्जा तिर्न निकै समस्या थियो ।”

“गाउँकै साहुबाट कर्जा लिएकाले घरदैलोमै पैसा माग्नका लागि आउने गर्दथे”, विगत सम्झँदै उनले भने, “घर फर्केपछि हाउस पेन्टिङको कार्य गर्न थाले । त्यसबाट केही पैसा जम्मा भयो । ती पैसामध्ये केही कर्जावापतको ब्याज तिर्न भ्याएँ । जम्मा भएको केही रकम तरकारी खेतीका लागि आवश्यक पर्ने बीउबिजन, रसायनिक मल, विषादी खरिद गर्नका लागि राखेँ ।”

सुरुमा थारै जग्गामा तरकारी खेतीका गरेका चौधरीले विस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लगे । हाल स्वामित्वको दुई बिघा जग्गामा उनले तरकारी रोपेका छन् । “परम्परागतरूपमा तरकारी रोप्दै आएका थियौँ”, उनले भने, “तालिम लिएपछि तरकारी लगाउने तौर तरिका सिकेपछि आम्दानी मात्रै बढेको छैन । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जासमेत तिर्न सकिएको छ ।” उनको हिउँदे तरकारी बालीमा आलु, काउली, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, बन्दा, हरियो सागपातलगायत रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेमौसमी तरकारी बालीका रुपमा उनले काँक्रा, लौका, फर्सी, तितेकरेलालगायत प्लाष्टिक टनेलमा लगाएका छन् । बर्खे तरकारीमा तनेबोडी, तितेकरेलाको खेती उनले गर्दै आएका छन् । विदेशको दुःखले स्वदेशमै आयआर्जनमूलक कार्य गर्नुपर्छ भन्ने सोच राखेर तरकारी खेती गरेको उनी बताउँछन् । “कर्जा तिर्न कुनै उपाय थिएन”, उनले भने, “बारीमै मेहेनत गर्न परिवारले सघाए, त्यसपछि आम्दानी बढ्दै गएको छ । मेहेनत गरेपछि जे पनि सम्भव हुँदोरहेछ ।”

उनले तरकारी खेतीसँगै बङ्गुर, ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुरासमेत पालन गरेका थिए । किसान चौधरीजस्तै बेलडाँडी गाउँका २० बढी परिवार तरकारी खेतीमा संलग्न रहेका छन् । तरकारी खेतीमा संलग्न सबैका घरघरमा दुईदेखि चारसम्म मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि प्लाष्टिका टनेल निर्माण गरिएका छन् । प्लाष्टिका टनेलसँगै यहाँका किसानले खेतबारीमा तरकारी उत्पादन गरी बेच्दै आएका छन् । सिंचाइका लागि पुरानो गाउँमा कुलो छ ।

त्यसै कुलोको पानी प्रयोग गरी तरकारीलगायतको खेतीमा सिंचाइको व्यवस्था हुने गरेको छ । तीन कठ्ठा जग्गामै गोलभेँडा खेती गरी गत वर्ष रु ६० हजार आम्दानी हात पारेका तेज बहादुर चौधरीले यस वर्ष गोलभेँडा खेतीको क्षेत्र विस्तार गरेका छन् । हालसम्म रु ४० हजार बढीको गोलभेँडा र रु ७० हजार बढीको काउली उनले बिक्री गरेका छन् । “खर्च कटाएर एक सिजनमै गत वर्ष रु दुई लाख आम्दानी हात परेको थियो”, उनले भने, “यस वर्ष तरकारी सप्रिएकाले आम्दानी दोब्बर हुन्छ ।”

बेलडाँडी गाउँका तरकारी खेतीमा संलग्नहरुको आम्दानी रु पाँच लाखदेखि वार्षिकरुपमा रु १५ लाख बढी हुने गरेको छ । यहाँका युवाहरु विगतमा परिवारको खर्च चलाउनकै लागि वैदेशिक रोजगारी र मजदुरीका लागि भारतमा जाने कार्य गर्दै आएका थिए । तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि युवा यसमै रमाउन थालेका छन् । “तरकारी खेती हुन थालेपछि वैदेशिक रोजगारीमा जान हुरुक्क हुने युवासमेत गाउँमै तरकारी खेती गर्न हौसिन थालेका छन्”, राधा चौधरीले भनिन्, “तरकारी खेतीबाटै सोचेजस्तो आम्दानी हुन थालेपछि विदेशिनेहरु रोकिएका हुन् । विगतमा हुल नै बाँधेर भारततर्फ जानेको लर्को नै लाग्ने गरेको थियो । त्यो तरकारी खेतीले रोकेको छ ।”

कुलोको सिंचाइ गर्न पालो मिलाउने गरिएको छ । सिंचाइको कुलोबाट पानी लगाउन विलम्ब भए धेरैले घरमै जडान गरेको विद्युतीय मोटरबाट पानी तानेर सिंचाइ गर्ने गरेका छन् । तरकारी खेतीमा संलग्न किसानको एउटै दुःखेसो छ । त्यो भनेको तरकारी उत्पादन भएपछि बेच्ने झन्झट । केही तरकारी गाउँमै हुने विवाह, भोजभतेरमा खपत हुने गरेको छ । बाँकी रहेको तरकारी बेच्नका लागि टाढाको धनगढी, अत्तरिया र महेन्द्रनगरसम्म पुर्याएर व्यापारीले तय गरेको दररेटमै बेच्नुपर्ने हुन्छ ।

बिचौलियाले तरकारी बजारमै सस्तोमा तरकारीको बोली लगाइ खरिद गर्ने भएकाले कुनै बेला लागतसमेत नउठ्नेसम्ममा बेचेर फर्कनुपर्ने अवस्था रहेको किसानको गुनासो छ । यहाँका किसानले गाउँमै तरकारी सङ्कलन केन्द्रको व्यवस्था गरी बिक्री वितरणको व्यवस्था गरी दिन माग गरेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरले तरकारी खेतीमा संलग्न किसानलाई अनुदानमा पावर टिलर, रोटाभेटर, सिंचाइका लागि पम्पसेट, विद्युतीय मोटर र प्लाष्टिका टनेल उपलब्ध गराउँदै आएको छ । गत वर्षमात्रै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यहाँका एक दर्जन बढी किसानलाई कृषि उपकरण र यन्त्र उपलब्ध गराइएको थियो ।

व्यावसायिक तरकारी खेतीमा लागेका किसानलाई अझै पनि आवश्यकता र मागका आधारमा तालिमसँगै आधुनिक यन्त्र र उपकरण दिइने कृषि ज्ञान केन्द्रका अधिकृत रणबहादुर मल्लले बताए । तरकारी खेतीबाटै बेलडाँडीका किसानले पक्की घर निर्माण गर्नेदेखि सवारी साधानका रूपमा मोटरसाइकलसमेत जोडेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com