फ्रान्सको राष्ट्रपतिमा माक्रों विजयी, आप्रवासनविरोधी पेन भारी अन्तरले पराजित


प्रकाशित मिति : बैशाख २५, २०७४ सोमबार

आप्रवासन विरोधी र दक्षिणपन्थी उम्मेदवारका रुपमा परिचित मारिन ल पेनलाई भारी अन्तरले हराउदै पूर्व अर्थ मन्त्री एमानुएल माक्रों फ्रान्सको नयाँ राष्ट्रपतिको रुपमा विजयी भएका छन्।

माक्रोंले झण्डै ६५ प्रतिशत मत पाएका छन् भने उनकी प्रतिद्वन्द्वी मारिन ल पेनले झण्डै ३५ प्रतिशत मत पाएकी छन्। ३९ वर्षीय माक्रोंलाई पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका उम्मेदवारको रुपमा हेरिएको थियो।

मारिन ल पेन चाहिं कट्टर दक्षिणपन्थी नेतृ हुन् र उनले आफु विजयी भएमा फ्रान्सको सीमा नियन्त्रण गर्ने बताएकी थिइन्। यो चुनावमा खुला मूल्य मान्यता र राजनीतिक संस्थापनलाई चुनौती दिने अर्को प्रमुख मुलुक फ्रान्स हुन्छ वा हुँदैन भनेर संसारले हेरिरहेको छ।

युरोपेली संघ छाडने पक्षमा ब्रिटिश मतदाताहरुको निर्णय र अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको चयनपछि फ्रान्सेली राजनीतिले कस्तो मोड लेला भनेर हेरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत एप्रिल २३ मा भएको पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि अग्रस्थानमा रहेका म्याक्रों र ल पेनबीच एक जनालाई छान्न आइतबार दोस्रो चरणको मतदान भएको हो।

यो चुनावमा सबैभन्दा ठूलो मुद्दा बेरोजगारी रह्यो। २८ वटा इयु सदस्य मुलुकमध्ये फ्रान्समा सबैभन्दा धेरै १० प्रतिशत बेरोजगारी दर छ।
२५ वर्ष मुनिका प्रत्येक चार जनामा एक जना बेरोजगार छन्। सन् २००८ को आर्थिक मन्दी पछि फ्रान्सले निकै सुस्त प्रगति गरिरहेको छ। यस्तै श्रंखलावद्ध आतंकवादी आक्रमणपछि आप्रवासन र सुरक्षा पनि प्रमुख मुद्दा बनेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com