सरकारविरुद्ध कांग्रेसको देशव्यापी विरोध प्रदर्शन


प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मुलुकका ७७ जिल्लामै सरकारविरुद्ध प्रदर्शन सुरु गरेको छ । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रशासन र नेकपाले गरेको अवरोध, भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेकोमा विरोध प्रदर्शन गरेको हो ।

त्यसैक्रमममा आज काठमाडौंमा पनि विरोध प्रदर्शन सुरु गरिएको छ । कांग्रेसका नेता कार्यकर्ता रत्नपार्कस्थित शान्ति बाटिकामा जम्मा भएर विरोध र्‍याली सुरु गरेका छन् र वरिष्ठ नेता रामचन्द्र पौडेलले कोणसभालाई सम्बोधन गर्दैछन् ।

विभिन्न जिम्मेवारीसहित देशव्यापी विरोध प्रदर्शनका लागि शीर्ष नेताहरुलाई देशैभर खटाइएको छ । सभापति शेरबहादुर देउवाले आज हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्नेछन् ।

यस्तै, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा र कृष्णप्रसाद सिटौला महोत्तरीको कार्यक्रममा सहभागी हुनेछन् भने गगन थापा कैलाली पुगेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com