नियमित भिसा सेवा बन्द भएपनि अमेरिकी दूतावास काठमाडौंबाट १ महिनामा ५३७ लाई भिसा


प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार

नियमित भिसा सेवा बन्द भएपनि अमेरिकी दूतावास काठमाडौंले आर्थिक बर्ष २०२१ को पहिलो महिना अक्टोबरमा मात्र ५३७ लाई भिसा जारी गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । अक्टोबरमा काठमाडौं दूतावासबाट सबैभन्दा धेरै ४०४ जनालाई बी वान बी टु भिजिटर भिसा प्रदान गरिएको छ ।

कोरोनाको महामारी कारण नियमित भिसा सेवा बन्द रहेकाले यसरी भिजिटर भिसा पाउनेहरुमध्ये अधिकांश भिसा नविकरण गर्नेहरु रहेका छन् । भिसा नविकरणका लागि दूतावासमा अन्तरवार्ताका लागि उपस्थीत हुन पर्दैन ।

अक्टोबरमा ८ जनालाई कुटनीतिक भिसा जारी गरिएको छ । त्यस्तै अन्तर्राष्ट्रिस संस्थामा काम गर्ने ४ जनालाई जीफोर भिसा प्रदान गरिएको छ भने ४ जनालाई एक्सचेन्ज भिजिटर जे भिसा प्रदान गरिएको छ ।

४६ जना अमेरिकी नागरिकका दम्पत्तिका लागि काठमाडौं दूतावासबाट शर्तसहितको सीआर वान भिसा जारी गरिएको छ भने ४१ जना अमेरिकी नागरिकका दम्पत्तिका लागि नियमित आईआर वान भिसा जारी गरिएको छ । अमेरिकी नागरिकका छोराछोरी ९ जना र बुबाआमा १२ जनाले पनि अक्टोबरमा अमेरिकी दूतावास काठमाडौंबाट भिसा पाएका छन् ।

एकजना डिभी लोटरी विजेतालाई भिसा जारी गरिएको उल्लेख छ भने ग्रिनकार्डवाहकका अविवाहित छोराछोरी एकजना, अमेरिकी नागरिकका २१ बर्ष कटेका दाजुभाई दिदीबहिनीहरु २ जना, उनीहरुका दम्पत्ति २ जना र छोराछोरी ३ जनालाई पनि भिसा जारी गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण कैयन प्रकारका आप्रवासी र गैरआप्रवासी भिसा जारी गर्नमा डिसेम्बर अन्त्यसम्मका लागि रोक लागेको छ । त्यसैले अक्टोबरमा अमेरिकी ग्रिनकार्डवाहकका कुनै पनि दम्पत्तिलाई काठमाडौंमा रहेको दूतावासबाट भिसा जारी गरिएको छैन ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com