कोरोना कहर : मनोसामाजिक समस्या वृद्धि


प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार

नेपालमा कोरोना सङ्क्रमणपछि भएको बन्दाबन्दीका कारण टीकापुरका मानसिंह परियार पाँच महिनादेखि राम्ररी सुतेका छैनन् । मानसिंहका दुई छोरा रोजगारीका सिलसिलामा विदेशमा थिए । विश्वभरि महामारीकारुपमा फैलिएको कोरानाका कारण छोराको रोजगारीसमेत गुमेपछि उनको भोक निद्रा हरायो ।

नेपालबाट रकम पठाएर भारतमा रहेका छोराबुहारीलाई मानसिंहले नेपाल ल्याए। मानसिंहलाई रोजगार गुमेर विदेशमा रहेका छोराको अझै चिन्ता छ । दुवै छोराको रोजगार सङ्कटमा परेपछि उनको घरखर्च चलाउनसमेत समस्या भएको छ । यतिधेरै समस्या झेलेका उनलाई आजभोलि भोक, निन्द्रा नलाग्ने र एक्लै कुरा गर्ने बानी बसेको छ ।

“मलाई चिन्ता त चैतबाटै शुरु भयो, तर निन्द्रै नलाग्ने समस्या भएको पाँच महिना भयो”, उनले भने, “निन्द्रा हराउनेसँगै अन्य समस्या पनि शुरु भयो । खाना खान मन नलाग्ने, टोलाउने, अरुसँग रिस उठ्नेजस्ता समस्या भएका छन् ।” नेपालमा गत चैतदेखि बन्दाबन्दी भएको हो । बन्दाबन्दीपछि नेपालको सामाजिक र आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको छ । सामाजिक र आर्थिक क्षेत्रमा परेको क्षतिको असर मानिसको मनसम्मै पुगेको छ । विदेश तथा भारतमा रहेका आफन्तको कमाइबाट घर चलेका कैलालीका केही परिवारमा मनोसामाजिक समस्या देखिन थालेको छ ।

कैलालीकै अर्की महिलालाई पनि मनोसमस्या शुरु भएको छ । दुई छोरा र श्रीमान् रोजगारीका सिलसिलामा भारतमा थिए । बन्दाबन्दी भएपछि तीनै जनाको रोजगारी गुम्यो । घरमा चुल्हो बल्न पनि मुश्किल भयो । निकै कष्ट झेलेका श्रीमान् भारतबाट घर फर्केपछि १४ दिन क्वारेन्टिनमा अलग्गै बसे । “मलाई छिनछिनमा पसिना आउँछ, काम गर्ने जागर चल्दैन, एक्लै बोलिरहेको हुन्छु”, उनले भनिन्, “ओहो चिन्ताले मानिसलाई बर्बाद पार्दोरहेछ, म दुब्लाएकी छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बन्दाबन्दीपछि गर्भवती तथा सुत्केरीले अझ बढी मानसिक तनाव झेले । कैलालीकी कामना बोहराले बन्दाबन्दीकै बीचमा बच्चा जन्माइन्। गर्भावस्थामा उनलाई निकै तनाव भयो, जसले उनी कमजोर भएकी छन् । “भारतमा रहेका श्रीमान्को रोजगार गुमेको छ । मेरो बच्चा अहिले एक महिनाको छ”, कामनाले भनिन्, “तीन दिनसम्म सुत्केरी ब्यथा लाग्यो, कोरोना सङ्क्रमणको डरले शुरुमा अस्पताल जान सकिएन । सुत्केरीपछि बढी रक्तश्राव भएपछि आफन्तले अस्पताल ल्याए, अनि बाचेँ ।” कामनाको शरीरमा डाक्टरले रगत कम भएकाले चढाउनुपर्ने बताएपनि आर्थिक समस्याले चढाउन सकिनन् । गर्भावस्थामा त्रासले सुत्नै नसकेको उनको अनुभव छ ।

“अहिले पनि मलाई निन्द्रा नलाग्ने समस्या छ, बच्चा सानो छ । गर्भावस्थामा पनि आर्थिक र मानसिक तनावले म खुशी रहन सकिनँ”, कामनाले भनिन् “अहिले बच्चा पनि कमजोर छ । म त राति निन्द्रामा पनि बर्बराउन थालेँ, छिमेकी स्वयंमसेविकालाई समस्या भनेपछि डाक्टरको सल्लाहनुसार औषधि खाइरहेकी छु ।”

टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता धनराज विक बन्दाबन्दीपछि कैलालीको टीकापुरका २५४ जनालाई मनोपरामर्श सेवा दिएको बताउँछन् । विकका अनुसार बन्दाबन्दीपछि मनोसमस्या देखिनेमा महिलाको सङ्ख्या बढी छ । मानसिक समस्या समयमै व्यवस्थापन गर्न नसके भविष्यमा सङ्कट निम्तने देखिन्छ । “मनोसमस्या देखिनेमा धेरै वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य, विदेश तथा भारतबाट फर्केर रोजगारी गुमेका नागरिक, गर्भवती, बच्चाका आमाहरु छन्”, मनोसामाजिक परामर्शकर्ता  विक भन्छन्, “किशोर किशोरीमा पनि मनोसमस्या देखिएको छ । लामो समय विद्यालय नचल्दा विद्यार्थीमा पनि गलत विचार आउनुले पछि मनोसमस्या हुनसक्छ ।”

मनोचिकित्सक डाक्टर मोहन बेल्वासे कोरोना सङ्क्रमण बढेपछि मनोसामाजिक समस्या बढेको बताउँछन् । उनी मानसिक समस्याको समयमै उपचार गरिएन भने पछि जटिलता आउने भएकाले समयमै उपचार गर्नुपर्ने बताउँछन् । “बन्दाबन्दीपछि बिरामी दोब्बरले बढेका छन् । मानिसको जीवनमा सामान्य परिवर्तन आयो, अप्ठ्यारो महसुस भए तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्छ”, मनोचिकित्सक डा बेल्वासे भन्छन्, “मन नै सबैभन्दा ठूलो कुरा हो ।

यही मनले अपराध गर्छ भने यही मनले माया र सद्भाव बाँडेको हुन्छ, त्यसैले मनमा गलत विचार र गलत सोँच आउन दिनुहुँदैन ।” डा. बेल्वासेले तनाव र समस्यालाई सामान्यरुपले व्यवस्थापन गर्ने बाटो खोज्न परिवार, समाजका साथ चाहिने र समस्या भएकालाई समयमै उपचार सेवा दिनुपर्ने सुझाव छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com