न्युयोर्कमा कोरोना संक्रमणका तीन ‘हटस्पट जोन’, कुन क्षेत्रमा के निषेध ?


प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार

न्युयोर्कले राज्यमा कोरोना संक्रमणका तीन जोनहरु तोकेको छ । संक्रमण दरलाई आधार मानेर न्युयोर्कले राज्य सरकारले रेड, अरेन्ज र यलो क्षेत्रहरु तय गरेको हो ।

रेड जोनमा सबै घरभित्र र घरबाहिरका जमघटहरुमा प्रतिबन्ध लगाइएको छ । पूजा स्थलहरुमा उक्त स्थलको क्षमताको २५ प्रतिशतसम्म वा १० जनासम्ममात्र जम्मा हुन पाइन्छ भने अत्यावश्यक बाहेकका सबै विजनेशहरु बन्द गरिएको छ । रेष्टुरेण्टहरुले टेकआउट र डेलिभरीमात्र गर्न पाउनेछन् भने विद्यालयहरु बन्द गरिएका छन् ।

त्यस्तै अरेन्ज जोनमा घरभित्र र घरबाहिरका जमघटहरुमा अधिकतम १० जनामात्र भेला हुन पाइन्छ भने पूजा स्थलहरुमा उक्त स्थलको क्षमताको ३३ प्रतिशतसम्म वा अधिकतम २५ जनासम्ममात्र उपस्थीत हुन पाइन्छ । जिम, फिटनेश सेन्टर, कक्षाहरु, बार्बर, सैलुन लगायतका उच्च जोखिमका अत्यावश्यक बाहेकका विजनेशहरु बन्द गरिएको छ । रेष्टुरेण्टहरुमा आउटडोरमात्र खानाखान सकिने छ भने एउटा टेबुलमा ४ जनाभन्दा धेरै बस्न पाइनेछैन । विद्यालयहरु बन्द गरिएका छन् ।

त्यस्तै यल्लो जोनमा घरभित्र र बाहिरका कार्यक्रममा २५ जनाभन्दा धेरै जम्मा हुनमा रोक लगाइएको छ । घरभित्र र बाहिरका पारिवारिक भोजभतेरमा भने १० जनाभन्दाबढी जम्मा हुन रोक लगाइएको छ । पूजा स्थलहरुमा उक्त स्थलको ५० प्रतिशत भन्दा बढी क्षमतामा जम्मा हुन रोक लगाइएको छ । सबै विजनेशहरु खोल्न पाइनेछ । रेष्टुरेण्टमा भित्र र बाहिर खानाखान पनि पाइनेछ तर एउटा टेबुलमा ४ जनाभन्दा बढी बस्न पाइनेछैन । विद्यालयहरु खुल्ला हुनेछन् ।

तर न्युयोर्क सिटीमा भने नोभेम्बर १९ देखि सबै सार्वजनिक विद्यालयहरु बन्द गरिएको छ । तर निजी विद्यालयहरु भने खुल्न सक्नेछन् ।

तीनवटै जोनमा जमघटको मापदण्ड उल्लंघन गर्नेहरुलाई प्रतिदिन १५ हजार डलरसम्म जरिवाना हुनसक्नेछ ।

रेड, अरेन्ज र यल्लो क्षेत्रहरु कोरोनाका हटस्पटका रुपमा तोकिएपनि यी बाहेकका अन्य क्षेत्रलाई भने हटस्पट तोकिएको छैन । हटस्पटमा नपरेकाहरुका लागि कुनै प्रतिबन्धहरु नलगाइएको भएतापनि सीडीसीका मापदण्डहरु र राज्यका समग्र नियमहरुको भने पालना गर्नुपर्नेछ ।

नेपालीका बाक्लो बसोबास रहेका क्वीन्सका ज्याक्सनहाइट, एल्महस्र्ट, उडसाइड र सनीसाइड लगायतका क्षेत्रहरु यलो जोनमा परेका छन् ।

आफू हटस्पटमा परे नपरेको थाहा पाउन यहाँ क्लीक गर्नुहोस् र आफ्नो ठेगाना हालेर चेक गर्नुहोस् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com