मेरिल्याण्ड राज्य संसदमा ह्यारी भण्डारीको पुन: उम्मेदबारी, भर्चुअल फण्डरेजमा आजै २९ हजार ५ सय


प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार

(यो समाचार संकलित रकमको अपडेटसहित सम्पादन गरिएको छ ।-  सम्पादक)

मेरिल्याण्ड राज्य संसदमा पुन:  उम्मेदबारीको घोषणा गर्नुभएका नेपाली अमेरिका ह्यारी भण्डारीको भर्चुअल फण्डरेज कार्यक्रममा आज २९ हजार ५ सय डलर संकलन भएको छ । अमेरिकामा रहेका नेपालीहरुका तर्फबाट यो सहयोग प्राप्त भएको हो ।

सन् २०१८ मा भएको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्य संसदको हाउस अफ डेलिगेट्समा डिस्ट्रिक्ट ८ बाट निर्वाचित हुनुभएको थियो । भण्डारी अमेरिकामा अहिलेसम्मकै सबैभन्दा उच्च तहमा निर्वाचित हुने नेपाली मुलको जनप्रतिनिधि हुनुहुन्छ । उहाँले सोही पदका लागि सन् २०२२ को चुनावका लागि पुन: उम्मेदबारीको घोषणा गर्नुभएको हो ।

विगतमा आफू निर्वाचित हुनका लागि अमेरिकाका नेपाली समुदायका तर्फबाट प्राप्त सहयोगको स्मरण गर्दै उहाँले आगामी निर्वाचनका लागि पनि सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । अमेरिकी राजनीतिमा अगाडि बढ्न चाहने सबैलाई नेपाली समुदायका तर्फबाट सहयोग गर्न आव्हान गर्दै उहाँले मुलधारको अमेरिकी राजनीतिमा अगाडि बढ्नका लागि नेपाली अमेरिकन समुदायलाई प्रोत्साहन समेत गर्नुभयो ।

ह्यारी भण्डारीको चुनावी अभियानमा सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

नेपालमा नै सरकारी स्कुल र सरकारी विश्वविद्यालयमा पढेर केही बर्ष अगाडिमात्र अमेरिका आउनुभएका भण्डारीले गाउँको सरकारी स्कुलबाटै एसएलसी पास गर्नुभएको थियो । उहाँले अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स डिग्री गर्नुभयो ।

काठमाडौंमा दुईवटा प्राइभेट स्कुलमा प्रिन्सिपल समेत भएर काम गर्नुभएका भण्डारी सन् सन् २००५ मा अमेरिका आउनुभएको हो । २०११ मा अमेरिकन नागरिक बन्नुभएका ह्यारीले नेपालमा १३ वर्ष शिक्षक पेशाको अनुभव सहित अमेरिकामा पनि अध्यापन पेशा नै रोज्नुभएको थियो ।

अमेरिकी राजनीतिमा प्रवेश गरेपछि उहाँले राजनीतिक क्षेत्रमा इमान्दारीता र आफ्नो क्षमतालाई राम्रोसँग प्रस्तुत गर्न सफल हुनुभयो । जसको कारण उहाँले राज्यसंसदको लागि टिकट पाउनुभयो । पहिलोपटक पराजित हुनुभएका ह्यारी सन् २०१८ मा चुनाव जितेर इतिहास कायम गर्न सफल हुनुभयो ।

भण्डारी भन्नुहुन्छ – ‘अमेरिकी राजनीतिमा नेपाली अमेरिकन आउनु भनेको घनघस्याको उक्कालो चढ्नु जस्तै हो । इमानको भारी बोकेर नम्बे डिग्रीको ठाडो उक्कालोमा चढ्दा एकदमै थकाई लाग्छ, बीचबीचमा त बोकेको भारी पल्टाई दिउँ जस्तो लाग्छ । तर, उद्द्श्य के हो भन्ने मुख्य हुन आउँछ ।’

ह्यारीले संसदभित्र हिन्दु धर्मग्रन्थ वेदलाई साक्षी राखेर सपथ लिनुभएको थियो । उहाँले वेद धर्मशास्त्र मात्र नभएर शिक्षा, प्रतिवद्धता, आत्मविश्वास पनि भएकाले आफूले बेदलाई साक्षी राखेर सपथ लिएको बताउनुभयो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com